कमल शर्मादैलेख, जेठ ११ गते । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम सार्वजनिक भए सँगै जिल्ला समन्वय समिति गठनका लागि कुनै पनि पार्टीको एकल बहुमत नपुग्ने भएको छ ।कुल ११ स्थानीय तहमा रहेको दैलेखमा दुई नगरपालिका प्रमुख÷उप प्रमुख, दुई गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष र एक नगरपालिका उपप्रमुख र एक गाउँपालिका उपाध्यक्ष जित्दै २२ प्रमुख पदमध्ये नेकपा एमालेले १० पदमा विजयी भएको छ ।नेपाली काँग्रेसले एक नगरपालिका प्रमुख÷उप प्रमुख, दुई गाउँपालिका प्रमुख, उपप्रमुख, एक गाउँपालिका अध्यक्ष र एक गाउँपालिका उपाध्यक्षमा विजयी हँुदै नौ पदमा विजयी भएको छ । माओवादी केन्द्रले दुई गाउँपालिका उपाध्यक्ष र एकीकृत समाजवादी पार्टीले एक पालिका उपाध्यक्षमा विजयी भएको छ ।नेपाली काँग्रेसले पाँच स्थानीय तहमा नौ पालिका प्रमुख–उपप्रमुख र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले १० वटा प्रमुख–उपप्रमुख जितको भए पनि दुवै दलले जिल्ला समन्वय समिति गठन गर्न बहुमत नपुग्ने भएपछि जिल्ला समन्वय समितिको नेतृत्वका लागि दैलेखमा नेकपा माओवादी (केन्द्र) निर्णायक भूमिकामा देखिएको छ ।जिल्ला समन्वय समितिका लागि एमाले र काँग्रेसको प्रस्ट बहुमत नदेखिएकाले माओवादी केन्द्रले कसरी र कसलाई समर्थन गर्छ भन्ने विषय प्रमुख देखिएको छ । पाँच दलीय गठबन्धनको निर्णय विपरीत एकीकृत समाजवादी पार्टीसँग छुट्टै गठबन्धन गरेर निर्वाचन जितेको माओबादीले नेपाली काँग्रेस संग सहकार्य नगर्ने सम्भावना बढ्दै गएको छ ।नेकपा (माओवादी केन्द्र) दैलेखका संयोजक प्रेम कटुवालले जिल्ला समन्वय समिति दैलेखको नेतृत्वका लागि सकेसम्म गठबन्धनका दलहरूबिच सहमति गरेर टुङ्ग्याने विषयमा आफूहरू तयार रहेको बताउनुभयो ।उहाँले काँग्रेसले माओवादीले प्रमुख जितेका स्थानमा सहयोग गर्ने वातावरण तयार गरेपछि समन्वयमा नेतृत्व टुङ्ग्याउन सहज हुने कटुवालले बताउनुभयो । भगवतीमाई र नौमुलेमा काँग्रेसले हामीलाई सरकार सञ्चालनका लागि सहयोग गरेको खण्डमा जिल्ला समन्वयको नेतृत्व गठबन्धनबाटै टुङ्गिन सक्छ । एकीकृत समाजवादी पार्टीका नेता जङ्गबहादुर शाहीले जिल्ला समन्वयमा नेपाली काँग्रेससँग गठबन्धन हुने सम्भावना कम भएको बताउनुभयो । उहाँले काँग्रेसले स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनको निर्णय विपरीत उम्मेदवारी दर्ता गरेको बताउँदै नेकपा एमालेसँग सहकार्य गरेर अगाडि बढ्ने सम्भावना रहेको बताउनुभयो ।नेपाली काँग्रेस दैलेखका सभापति मणिराम रेग्मीले गठबन्धनका दलहरूबिच जिल्ला समन्वय समितिको नेतृत्व बाँडफाड हुने बताउनुभयो । उहाँले माओवादीले प्रमुख जितेका पालिकाहरूमा स्थानीय सरकार सञ्चालनका लागि कार्यपालिकामा काँग्रेसले सहयोग गर्ने कुराको वार्ता भइरहेको बताउँदै सभापति रेग्मीले भन्नुभयो, ‘‘माओवादी केन्द्रलाई जिल्ला समन्वय समितिको उपप्रमुख दिएर जान सकिने सम्भावना रहेको छ ।’’एमाले दैलेखका उपाध्यक्ष प्रेमबहादुर बुढाले समन्वयको नेतृत्वका लागि अहिलेसम्म कसैसँग कुनै छलफल नभएको बताउँदै समन्वय प्रमुख वा उपप्रमुख दिएर जान सकिने कुरामा एमाले तयार रहेको बताउनुभयो । अघिल्लो स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले एक्लै बहुमत प¥याएर जिल्ला समन्वय गठन गरेको थियो ।
लीलाराज खड्का बिर्तामोड, जेठ ११ गते । झापाको कनकाई नगरपालिका –३, कनकाई टोलका रमेशचन्द्रबाबु मैनालीले आफ्नो जन्मदिनको फजुल खर्चलाई कटाएर गाउँमा सडक बत्ती लगाउनुभएको छ ।फजुल खर्च रोकेर आफ्नो गाउँमा निजी खर्चमै सडकबत्ती बालिदिएपछि कम्तीमा मेरो गाउँमा साँझविहान सबैले हिँड्न पाउने भएको उहाँले प्रतिक्रिया दिनुभयो ।‘‘जन्मदिनको पार्टी खाएको भए एकदिनमै सकिने थियो तर यो सडक बत्ती बाल्दा महिनौं उज्यालोमा हिँड्न पाइने भयो ’’ स्थानीय देउमान राइले भन्नुभयो । रमेशले यसअघि आफ्नो छोराको जन्मदिनमा समेत खेलाडीलाई खेल सामाग्री र अनाथ आश्रमका केटाकेटीलाई खानेकुरा वितरण गर्नुभएको थियो ।
काठमाडौं, जेठ ११ गते । आगामी शनिबार दशरथ रंगशालामा हुने भनिएको बलिउड अभिनेता सलमान खानको 'द-बाङ द टुर रिलोडेड' कार्यक्रम स्थगित गरिएको छ । आयोजक संस्था 'ओडीसी इन्टरटेनमेन्ट'ले प्रेस विज्ञप्तिमार्फत कार्यक्रम स्थगित भएको जानकारी गराएको हो ।स्थानीय चुनावको कारण टिकट विक्रीमा प्रभाव परेको र वर्षाको समय सुरु भएकाले कार्यक्रम गर्न असहज हुने भएपछि कार्यक्रम स्थगित गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । नेपालको पर्यटनलाई उकास्न 'द-बाङ द टुर रिलोडेड' को नयाँ मिति चाँडै तय गर्ने, वर्षा नभएको र रङ्गशाला खाली भएको मिति तोक्न कम्पनीका संस्थापक एव एमडीहरुलाई भारतीय पक्षले निमन्त्रणा गर्दै उहाँहरुले भारतबाट नयाँ मिति सार्वजनिक गर्नुहुने बताइएकाे छ ।सलमानको नेपाल टुर रोकिएको यो दोस्रो पटक हो ।
भर्खरै सम्पन्न निर्वाचनमा पाँच दलले गठबन्धन गरेर नेपालगञ्ज उपमहानगरमा विजयी भए पनि कार्यपालिका चयनको विषयमा जनता समाजवादी पार्टीलाई एक्ल्याएर नयाँ गठबन्धन बनाइएको छ । नेपालगञ्ज नगर कार्यपालिकामा नेपाली काँग्रेसले जसपालाई छोडेर नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग गठबन्धन गरेको छ ।
महेशकुमार दास जलेश्वर, जेठ ११ गते । मटिहानी नगरपालिकामा दोस्रो पटक प्रमुखको पदभार ग्रहण गर्नु भएका हरिप्रसाद मण्डलले पहिलो निर्णयमा वारुणयन्त्र खरिद गर्ने र कक्षा ११ मा अध्ययनरत छात्रालाई साइकल वितरण गर्ने निर्णय गर्नुभएको छ । बुधबार दोस्रो कार्यकालको जिम्मेवारी लिँदै प्रमुख मण्डलले दुई वटा निर्णयमा हस्ताक्षर गरी स्वीकृत गर्नुभएको हो ।ती दुई निर्णय मध्ये नगर क्षेत्र भित्र हुने आगलागिका घटना न्युनिकरण गर्न वारुण यन्त्र खरिद गर्ने र नगर क्षेत्र भित्रका कक्षा ११ मा अध्ययनरत सम्पुर्ण छात्राहरुलाई साइकल वितरण गर्ने निर्णय गरिएको नवनिर्वाचित प्रमुख मण्डलले बताउनुभएको छ । पहिलो कार्यकालको मूल्यांकन गरेर यहाँका मतदाताले दोस्रो पटक पनि प्रमुख पदमा मतदान गरेर विजयी गराएकाले नगरक्षेत्र भित्रको विकास नै दोस्रो कार्यकाल पनि प्रमुख प्राथमिकता रहने उहाँले स्पष्ट पार्नुभयो । नगर प्रमुखको पदस्थापन पश्चात् बुधबार नै मटिहानी नगरपालिकाको नौ वटै वडाका अध्यक्षहरुलाई शथपग्रहण गराएर पदस्थापना गराइएको प्रमुख प्रशासकीय अधिकृत राजेश शर्माले बताउनुभयो ।
नमराज सवेदीनुवाकोट, जेठ ११ गते । नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा न.ं ५ देविघाटमा बस र टिप्पर ठोकिँदा चार जना घाइते भएका छन् ।रसुवाको नौकुण्ठ गाउँपालिकाको पार्चेङबाट काठमाडौँका लागि छुटेको बा ४ ख २२५९ नम्बरको बसले बा ४ ख ७७७२ नम्बरको टिप्परलाई पछाडिबाट ठक्कर दिएको हो ।केरुङ यातायात प्रालिको अनियन्त्रित भई ठक्कर दिएकोे बसमा सवार चारजना घाइते भएको इलाका प्रहरी कार्यालय देविघाटले जनाएको छ । घाइते हुनेहरुमा रसुवा जिल्ला नौकुण्ड गाउपालिका वडा नं ८ का ३५ वर्षीय धनबहादुर गुरुङ, नौकुण्ठकै वर्ष २७ का दावा मिजार, वर्ष ९ का बुद्ध घले र नुवाकोटको बिदुर नगरपालिका वडा नं ५ का १९ वर्षीय सागर कुमाल रहेका छन् ।घाइतेहरुमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । घाइतेहरुको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको छ । बस चालक ककनी गाउँपालिका वडा नं ६ का शुक्रबहादुर तामाङ र टिप्पर चालक धादिङ जिल्ला गल्छी गाउँपालिका वडा नं ८ का सानुकान्छा लुङ्गेली मगर प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
उदयपुरको कटारी नगरपालिकामा गठबन्धनतर्फ नेपाली कांग्रेसको राजेशचन्द्र श्रेष्ठले प्रमुख पदमा विजय हाँसिल गर्नुभयो भने उपप्रमुखमा नेकपा एमालेकी गीता खड्काले विजय हाँसिल गर्नुभयो ।
कैलालीको घोडाघोडी नगरपालिका–१० कान्द्रा नदीको पुल नजिकै सर्त विपरीत नदीजन्य पदार्थको उत्खनन् हुन थालेपछि नगरपालिकाले रोक लगाएको छ ।
मङ्गलबार राति चट्याङ् लागेर गुल्मीको मदाने गाउँपालिकामा एक महिलाको ज्यान गएको छ ।
नेपाल विद्यार्थी सङ्घसहित १५ विद्यार्थी सङ्गठनले बुधबार दुई घण्टा आयल निगम घेराउन गरेका छन् । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै संयुक्त विद्यार्थी सङ्गठनले निगममा घेराउन गरेका हुन् ।
कृषकले उत्पादन गरेको भिण्डीले मूल्य र बजार नपाएपछि भैँसीलाई खुवाउन सुरु गरेका छन् । उत्पादन गरेको लागत र श्रमको मूल्य नपाएपछि कृषकले बजारमा बिक्री गर्नुको साटो पशु चौपायालाई खुवाउन सुरु गरेका हुन् ।
नारायण अधिकारी चितवन, जेठ ११ गते । समयमै उपचार गरे थाइराइड रोग जटिल नबन्ने चिकित्सक बताउँछन् । यो रोगको अध्ययन अनुसन्धानसँगै उपचारमा सक्रिय इण्डोक्राइनोलोजिष्ट डा सौरभ खतिवडा थाइराइडसम्बन्धी रोग लागेमा आत्तिनुनपर्ने तर समयमा सही उपचार गर्नुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “समयमा उपचार गरेर थाइराइडलाई नियन्त्रणमा राख्न सकिन्छ”, भारतको नयाँदिल्लीस्थित एम्स्बाट इण्डोक्राइनोलोजिमा डिएम गर्नुभएका खतिवडा कुनै खानेकुराले थाइराइड बनाउने नभई शरीरको ‘एन्टीबडी’का कारणले हुने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “थाइराइड कुनै भाइरल इन्फेक्सनपछि दुख्ने हुन्छ । कुनै जेनेटिक कारणले हुन्छ । थाइराईडको परीक्षण र उपचार पद्धति राम्रोसँग विकास भएको छ ।” चितवन मेडिकल कलेजमा कार्यरत खतिवडा थाइराइडका कारण क्यान्सर नै भए पनि यसले मानिसको आयु नघटाउने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “थाइराइडका अरु समस्या त झनै सजिलै समाधान गर्न सकिन्छ । चिकित्सकको सल्लाहबमोजिम गर्नुपर्छ । औषधि आफैँ खान बन्द गर्नुहुँदैन । खानपान चिकित्सकले भनेमा मात्रै बार्ने गर्नुहोला ।” उहाँले थाइराइडका बिरामीले खानेकुरा बार्नु नपर्ने बताउनुभयो । उहाँले समयसँगै थाइराइडसम्बन्धी रोग परिवर्तन भएको बताउँदै भन्नुभयो, “अहिले थाइराइड हर्मोन घट्ने वा बढ्ने शरीरको एन्टीबडीका कारणले हुने गर्दछ । त्यसकारण कुनै खानेकुराका कारण हुने होइन”, चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्नु नै उत्तम उपाय भएको उहाँको भनाइ छ । उहाँका अनुसार घाँटीको अगाडि तलपट्टी हुने सानो ग्रन्थीलाई थाइराइड भनिन्छ । यसमा दुई वटा भाग हुन्छन् । यसले शरीरलाई आवश्यक पर्ने महत्वपूर्ण हर्मोन उत्पादन गर्दछ । यो हर्मोन हाम्रो दैनिक जीवनमा धेरै महत्वपूर्ण छ । यो हर्मोनले बच्चाको दिमागको वृद्धि विकासदेखि वयस्क मानिसमा काम गर्ने जाँगर, स्फूर्ति, मुटुको कामका लागि, खाना पचाउने, शरीरको मोटोपनलाई सन्तुलनमा राख्ने काम गर्ने उहाँले बताउनुभयो । थाइराइड हर्मोन कमी वा बढी भएमा फरक फरक लक्षण देखिने डा खतिवडा बताउनुहुन्छ । उहाँले भन्नुभयो, “थाइराइडमा कहिलेकाहीँ ट्युमर पनि पलाउँछ । ट्युमरमध्येमा सबैभन्दा सजिलै उपचार गर्न सकिने भनेको थाइराइडको ट्युमर हो । यस्तो ट्युमरको उपचार गर्दा बिरामीको आयु पनि घट्दैन ।” साधारणतया मानिसलाई थाइराइड हर्मोन घट्दा थकाइ लाग्ने, कसैकसैलाई खुट्टा सुन्निने, अनुहार फुस्रो हुने, कपाल झर्नेजस्ता लक्षण देखिने उहाँ बताउनुहुन्छ । यस्तै बढ्दा आत्तिने, हात काप्ने, मुटु ढुकढुक हुने, गर्मी धेरै महसुस हुनेजस्ता लक्षण देखिन्छन् । थाइराइडको उपचार तीन किसिमले गरिने उहाँको भनाइ छ । एउटा औषधिको सेवन, दोस्रोमा झोल औषधिको प्रयोग गरेर ग्रन्थी सुकाउने र तेस्रो शल्यक्रिया गर्ने उहाँ बताउनुहुन्छ । तर पछिल्लो समय शल्यक्रियाभन्दा झोल औषधिको प्रयोग गरेर सुकाउने विधि धेरै प्रयोगमा आउने गरेको उहाँको भनाइ छ । घाँटी दुख्दैमा थाइराइड नहुने बताउँदै उहाँले भन्नुभयो, “घाँटी दुखेमा कहिलेकाहीँ मात्रै थाइराइड हुन सक्छ । त्यसैले घाँटी दुख्दा भेट्ने भनेको नाक, कान घाँटी विशेषज्ञ चिकित्सकलाई हो ।” कहिलेकाहीँ थाइराइडबाट क्यान्सरमा परिणत हुन सक्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो “घाँटीमा गाँठागुँठीजस्ता लाग्यो भने त्यसको अल्ट्रासाउण्ड गरेर क्यान्सर हो होइन, पत्ता लगाउँछौँ । कहिलेकाहीँ ट्स्यिुको परीक्षण गरेर पनि क्यान्सर पत्ता लगाउँछौँ ।” क्यान्सर पहिचान भयो भने पनि शल्यक्रिया र रेडियोथेरापी गरेर सजिलै निको पार्न सकिने उहाँको भनाइ छ । थाइराइड भएको बिरामीले के खान हुन्छ, के खानु हुँदैन भन्ने धेरैलाई जिज्ञासा हुने उहाँको अनुभव छ । उहाँले भन्नुभयो, “समयसँग थाइराइडसम्बन्धी रोग परिवर्तन भएको छ । पहिला पहिला गलगाँडको धेरै समस्या हुन्थ्यो, त्यो समयमा काउली, बन्दा, तरुललगायतका तरकारी कम प्रयोग गर्नुपर्छ भन्ने चलन आएको थियो ।” पछिल्लो समय थाइराइड हर्मोन घट्ने वा बढ्ने शरीरको एन्टीबडीका कारणले हुने भन्दै उहाँले कुनै खानेकुराका कारण थाइराइड नहुने बताउनुभयो ।
शेरबहादुर सार्कीबाजुरा, जेष्ठ ११ गते । बाजुराको बूढीगङ्गा नगरपालिका अधिकांश वडाका मतदाताले सुरक्षित तरिकाले मतदान गरेको भए पनि मतगणना नहुँदा मतदाताहरु अन्येलमा परेका छन् ।निर्वाचन भएको १३ दिन बितिसक्दा सुरक्षित मतदान भएका वडाको नतिजा नआएपछि मतगणनाको विषयमा मतदाता अन्येलमा परेका हुन् ।निर्वाचन आयोगको २०७९ साल जेष्ठ ५ गतेको विज्ञप्तिमा बूढीगङ्गा नगरपालिकामा चुनाव गर्ने या मतगणना गर्ने विषयमा कुनै निर्णय नभएको उल्लेख छ ।बाजुराको हिमाली, जगनाथ, स्वामिकार्तिक, बूढीनन्दा, बडिमालिका, गोमुल, छेडेदह र त्रिवेणीलगायतका स्थानीय तहमा मतगणना सम्पन्न भैसकेको छ ।बूढीगङ्गा नगरपालिकाको २, ३, ४, ५ र ९ वडामा एकलौटी मतदान गरेको भन्ने विषयमा निर्वाचन आयोगमा उजुरी परेपछि मतगणना कार्य रोकिएको जिल्ला निर्वाचन कार्यालय, बाजुराले जनाएको छ ।निर्वाचन आयोगका सुगन सम्शेरजङ्ग राणाको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, मुख्य निर्वाचन कार्यालय, बाजुराका माधवप्रसाध घिमिरे, निर्वाचन कार्यालय प्रमुख नवराज अवस्थी, जिल्ला प्रहरी कार्यालय, बाजुराका प्रमुख चतुर्भज ओझालगायतको टोलीले बाजुराको बूढीगङ्गा नगरपालिकाका मतदानस्थलको प्रत्यक्ष अनुगमन गर्नु भएको थियो ।सो टोलीको अनुगमनपछि आयोगमा पठाइएको रिपोर्टको कुनै पनि आधिकारिक प्रतिक्रिया नआएको बताइएको छ । ‘‘भारतबाट मत हाल्नका लागि गाउँमा आयाैं मत हाल्यौँ, अब गणना हुन्छ भनेर एक दुई दिन रोकियौँ, बूढीगङ्गा नगरपालिका वडा नं १० स्थानीय रणबहादुर सार्कीले भन्नुभयो, “आफूले स्वविवेकमा मतदान गर्न पाउनुपर्ने नागरिकको नैसर्गिक अधिकार हो तर यहाँ नेता कार्यक्रताले बुढापाखाको हातबाट नै मतकार्ड खोसेर आफैँले प्रयोग गरेको देख्दा मतााधिकार हनन भएको जस्तो लाग्यो ।’’बाजुराका नौ वटा स्थानीय तहमध्ये ७ वटा स्थानीय तहमा शान्तिपूर्वक चुनाव सम्पन्न भएको थियो ।बाजुराको बूढिनन्दा र बूढीगङ्गा नगरपालिकामा मतदान गर्ने क्रममै धाँधली भएपछि त्यहाँको मतगणना रोकिएको थियो ।धाँधली भएपछि २, ३, ५, ९ मा नेकपा एमाले र ४, ७ मा नेपाली काँग्रेसका कार्यकर्ताले एकलौटी रुपमा मतदान गरेको स्थानीयवासीको आरोप छ ।बूढीगङ्गा नगरपालिका १० मा भने विवाद भए पनि एमाले र काँग्रेसका कार्यक्रताबीच सहमतिमा मतदान सुरु भएको थियो ।चुनाव सम्पन्न भएका बाजुराका ८ वटा स्थानीय तहमा हिमाली, स्वामिकार्तिक, त्रिवेणी, नेपाली काँग्रेस र जगनाथ, बूढीनन्दा, गौमुल छेडेदह , बडिमालिकामा नेकपा एमाले विजयी भएको निर्वाचन कार्यालय बाजुराका प्रमुख अवस्थीले बताउनुभयो ।सुरक्षा निकाय तथा निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगमा पठाएको रिपाेर्टको पर्खाइमा रहेको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरे बताउनुहुन्छ ।
कपिलवस्तुमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । गोरुसिङ्गे बनगाई सडक खण्डअन्तर्गत खारखानी वन क्षेत्रमा बुधवार बिहान भएको दुर्घटनामा कपिलवस्तु नगरपालिका ९ जगदीशपुरका अशोक चौधरीको मृत्यु भएको हो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले देशमा लुटतन्त्र र भ्रष्टाचार नियन्त्रण गर्न जनलोकपाल आयोग गठन गर्नुपर्ने बताउनुभएको छ ।