इसाको मरणकालपछि चलेको संवत्को नयाँ वर्ष २०२३ मनाउने पर्यटकले इलामका चर्चित पर्यटकीय स्थल कन्याम र अन्तु भरिभराउ भएका छन्। सधैँजसो पर्यटकले भरिभराउ हुने कन्याम र अन्तुमा यो नयाँ वर्ष मनाउन पर्यटक उल्लेखनीय सङ्ख्यामा आउँदा यी दुई पर्यटकीय स्थल भरिभराउ भएका हुन्। यहाँ पर्यटकले होटल तथा होमस्टे अग्रिम बुकिङ गरे। नेपालका विभिन्न जिल्ला र विशेष गरी भारतीय पर्यटकले यस पटक अग्रिम रूपमा होटल, होमस्टे बुकिङ गरे।
सर्वोच्च अदालत बार एसोसिएसनको नयाँ कार्यसमिति चयनका लागि सत्ता र विपक्षी दलनिकट कानुन व्यवसायीबीच समूहगत रूपमा प्रतिस्पर्धा हुने भएको छ। दुई समूहले प्यानलसहित मनोनयन दर्ता गराएका छन्। नयाँ कार्यसमिति चयनका लागि यही पुस २३ गते निर्वाचन हुँदै छ। त्यही दिन नेपाल बार एसोसिएसनमा प्रतिनिधित्व गर्ने केन्द्रीय कार्यकारिणी परिषद् सदस्यका लागि पनि निर्वाचन हुनेछ।
काठमाडौँ उपत्यका विकास प्राधिकरणले उपत्यकाका तीन जिल्लाका विभिन्न १० स्थानमा पार्क निर्माण गर्ने भएको छ। विपत् व्यवस्थापन तयारीका लागि निर्माण गर्न लागिएका ती पार्क बहुउद्देश्यीय हुने प्राधिकरणले जनाएको छ। प्राधिकरणका इन्जिनियर तथा सूचना अधिकारी सौरभ ढकालका अनुसार काठमाडौँको शङ्खरापुर नगरपालिकाको शालिनदी, कागेश्वरी मनोहरा नगरपालिकाको कागेश्वरी र नवतनधाम र कीर्तिपुर नगरपालिकाको चम्पादेवीमा पार्क निर्माण हुनेछ।
नेपाल चिकित्सक सङ्घको केन्द्रीय कार्यकारिणी समिति अध्यक्षमा तीन जनाको चुनावी प्रतिस्पर्धा हुने भएको छ। दुई चिकित्सकले प्यानलसहित अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ भने एक चिकित्सकले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ। प्रजातान्त्रिक समूहबाट डा. अनिलविक्रम कार्की र पेसागत समावेशी समूहबाट अध्यक्षमा डा. सन्तोष पौडेलको उम्मेदवारी परेको छ। डा. कार्की क्यान्सर रोग विशेषज्ञ हुनुहुन्छ भने डा. पौडेल हाडजोर्नी विशेषज्ञ हुनुहुन्छ। यस्तै मुटुरोग विशेषज्ञ डा. शिवजीविक्रम सिलवालले स्वतन्त्र रूपमा अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ।
इतिहासकार ज्ञानमणि नेपाललाई नेपालीपनको अन्त्य हुने चिन्ताले अचेल निद्रा लाग्न छाडेको छ। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले आइतबार आयोजना गरेको कार्यक्रममा उहाँले पछिल्लो समय नेपाली पोसाक, विक्रम संवत् र नेपाली झन्डाबारे विभिन्न तर्क गरी तिनलाई विस्थापित गर्ने होड चलेको बताउँदै भन्नुभयो, “यो होडले नेपालीपनको अन्त्य हुन्छ। यो चिन्ताको विषय हो। यही चिन्ताले मलाई निद्रा नलाग्ने समस्या देखिएको छ।”
कञ्चनपुरको भीमदत्त नगरपालिका उल्टाखाममा चार वर्षअघि बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको अनुसन्धान प्रहरीले पुनः सुरु गरेको छ। २०७५ साउन १० मा भएको सो घटनाको विभिन्न कोणबाट अनुसन्धान भए पनि अझैसम्म अपराध गर्नेको सुइँकोसमेत प्रहरीले पाएको छैन।
कोरोना महामारीपछि सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२२ मा छ लाख १४ हजार १४८ जना पर्यटक नेपाल भित्रिएका हुन् । कोरोना महामारीपछि यो सबैभन्दा धेरै हो । महामारीका कारण सन् २०२० मा शून्यप्रायः देखिएको पर्यटक आगमन सन् २०२२ मा सुधार भएको हो । नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै सार्क मुलुकका छन् । सार्क मुलुकका पर्यटकको सङ्ख्या दुई लाख ४६ हजार रहेका छन् । यस्तै युरोपेली मुलुकबाट एक लाख ३३ हजार जना र अमेरिकी मुलुकका ८६ हजार पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेको दाबी रहने बताउनुभएको छ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दैनिकरूपमा राजस्व सङ्कलनमा उल्लेखनीय सुधार आउनुपर्नेमा जोड दिनुभएको छ ।
ललितपुर महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने तयारी गरेको छ ।
प्रदेश प्रमुख पर्शुराम खापुङले सात दिनको समय आह्वान गर्नुभएसँगै सरकार गठनको प्रक्रिया अगाडि बढेको छ।
प्रदेश १ प्रदेश सभाको अधिवेशन आइतबारबाट सुरु भएको छ। प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डलले सभामुखको भूमिका निर्वाह गर्दै प्रदेश सभाको बैठक सञ्चालन गर्नुभयो।
संयुक्त राष्ट्र सङ्घले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाउने घोषणा गरेअनुरुप नेपालले आजै उक्त कार्यक्रमको शुभारम्भ गरेको छ ।
तनहुँको म्याग्दे गाउँपालिका –६ धैरेनीमा लेयर्स पोल्ट्री फार्म खोलिएको छ । अमृत थापा र गुरुप्रसाद पौडेलले ६ करोड रुपियाँ लगानी गरेर फार्म सञ्चालनमा ल्याउनुभएको हो ।
अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ को पहिलो दिन आइतबार सर्लाहीका विभिन्न पर्यटकीय स्थलमा मानिसहरूको भीड लागेको छ ।जिल्लाको बागमतीस्थित निर्माणाधीन ताल, सर्लाही र रौतहटको सीमामा पर्ने नुनथर, चन्द्रनगर गाउँपालिकास्थित नाढीमन ताल, पत्थरकोट, सागरनाथ, कैलाशपुरीसहित जिल्लाका विभिन्न पर्यटकीय स्थलहरूमा अङ्ग्रेजी नयाँ वर्ष मनाउनेको भीड देखिएको हो ।