अमरराज नहर्की
तनहुँ, पुस १७ गते । तनहुँको म्याग्दे गाउँपालिका –६ धैरेनीमा लेयर्स पोल्ट्री फार्म खोलिएको छ । अमृत थापा र गुरुप्रसाद पौडेलले ६ करोड रुपियाँ लगानी गरेर फार्म सञ्चालनमा ल्याउनुभएको हो । उहाँहरूले ५३ रोपनी जमिनमा ‘त्रिदेव पोल्ट्री फार्म’ सञ्चालन गर्नुभएको छ । फार्ममा नौ जनाले रोजगारी पाएका छन् । सो फार्मबाट दैनिक १५ हजार अण्डा उत्पादन हुँदैआएको सञ्चालकले बताएका छन् ।
फार्ममा रहेका १९ हजार कुखुराबाट दैनिक सो सङ्ख्यामा अण्डा उत्पादन हुँदैआएको सञ्चालक थापाले बताउनुभयो । फार्ममा रहेका ८० प्रतिशत कुखुराले अण्डा दिने भएकाले १५ हजार अण्डा उत्पादन हुनेगरेको थापाले जानकारी दिनुभयो ।
बढ्दो बसाइँ सराइले गाउँको पाखोबारी बाँझो हुनेक्रम बढेपछि सदुपयोग गर्न ६ वर्ष अघिदेखि फार्म सञ्चालनमा ल्याएको अर्का सञ्चालक पौडेलले जानकारी दिनुभयो । उत्पादित अण्डा पोखरा, काठमाडौं र चितवनमा बिक्री हुनेगरेको उहाँले बताउनुभयो ।
उत्पादनको आधारमा कृषकलाई दाना खरिद र ढुवानीमा अनुदान दिने हो भने कुखुरा र अण्डा भारतबाट आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्न सकिने र कृषक पनि लाभान्वित हुने सञ्चालक थापाको भनाइ छ ।
अण्डा उत्पादन र चल्ला हुर्काउने ज्ञान आफूसँग भएकाले व्यवसाय सञ्चालन गर्न सहज भएको उहाँले जानकारी दिनुभयो । सञ्चालकद्वय नमुना कृषक भएको र उहाँको माग चाँडै नै पूरा गर्ने म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो ।