उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वदेशी वस्तुको उत्पादन र प्रवद्र्धनमार्फत आयात प्रतिस्थापन अहिलेको मुख्य चुुनौती भएको बताउनुभएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालले काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको ‘२४औँ फ्लोरा एक्स्पो’को शुक्रबार उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुुभएको हो । उहाँले भन्नुभयो, “पुष्प व्यवसाय प्रवद्र्धनमार्फत अर्थतन्त्रमा टेवा पु-याउन यो क्षेत्रलाई थप विकास गर्दै लैजानुपर्छ ।”
मिस नेपालको २९औँ संस्करणका लागि अन्तिम २४ प्रतिस्पर्धीको नाम शुक्रबार घोषणा गरिएको छ। काठमाडौँको बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा मिस नेपाल–२०२३ का अन्तिम २४ प्रतियोगीको नाम घोषणा गर्दै आयोजक ‘दी हिडन टे«जर’ले प्रतियोगिताका ‘स्यास सेरेमोनी’ प्रतिस्पर्धीलाई ब्याच अङ्कसमेत प्रदान गरेको छ। हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले प्रतियोगीलाई ब्याच अङ्क प्रदान गर्नुभयो। सो क्रममा प्रतिस्पर्धी सुन्दरीले आफ्नो परिचय दिनुका साथै रुचिका बारेमा जानकारी दिएका थिए।
नेपाली लोकसङ्गीतमा निरन्तर लागिरहनुभएका लोकदोहोरी गायक रामचन्द्र चन्दको ‘घाँटी रेट्न लाई’ बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ। करिब डेढ सयभन्दा बढी लोकगीतमा आफ्नो आवाज भरिसक्नुभएका गायक चन्द युवामाझ मात्र नभएर वृद्धवृद्धा र बालबालिकामा समेत चर्चित हुनुहुन्छ। नेपाली गीत–सङ्गीत र कला संस्कृतिलाई प्रवद्र्धन गर्ने क्रममा गायक चन्दले दुई दर्जनभन्दा बढी देशमा आफ्नो प्रस्तुति दिइसक्नुभएको छ। ‘घाँटी रेट्न लाई’ बोलको गीत युवकयुवतीबीच देखिने असमझदारीको एउटा पाटा हो, गायक चन्द भन्नुहुन्छ, “म गीत प्रायः आत्मसन्तुष्टिका लागि मात्र गाउँछु। २०६३ सालबाट निरन्तर लोकदोहोरीमा लाग्नुअघि उहाँले सङ्गीतबारे केही आधारभूत कक्षा पनि लिनुभएको थियो।
तानसेन–४, मखनटोलका घरटहराका व्यापारीले तानसेन नगरपालिकालाई लाखौँ रकम कर तिर्न आनाकानी गरेका छन् । मखनटोलमा वर्षौंदेखि व्यापार गरिरहेका २३ जना व्यापारीले अटेर गरेर तानसेन नगरपालिकालाई ४२ लाख रुपियाँ कर तिर्न बाँकी रहेको छ । व्यापारीले २०६६ सालदेखि नै कर नतिरेको नगरपालिकाले जनाएको छ । उनीहरूले २०७९ पुस मसान्तसम्ममा ४१ लाख ९९ हजार रुपियाँभन्दा बढी कर तिर्न बाँकी रहेको नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले जानकारी दिनुभयो । नगरपालिकाले घरटहराको मासिक पाँच सयदेखि दुई हजार रुपियाँसम्म टङ्की बहाल कर तोकेको छ । कर तिर्नका लागि पटकपटक पत्राचार गरिए पनि व्यापारीले अटेर गरेको आचार्यको भनाइ छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहकारी संस्थामार्फत सुपथ पसल सञ्चालन गरेको छ । कम्पनीले विश्व खाद्य कार्यक्रमको प्राविधिक सहयोगमा कर्णाली प्रदेशका सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, रोल्पामा सहकारी संस्थामार्फत सुपथ मूल्य पसल सुरु गरेको हो । कम्पनीले पहिलो चरणमा सुर्खेतको भेरी पशु तथा कृषि उत्पादन प्रशोधन सहकारी संस्थामार्फत खाद्यान्न वितरण सुरु गरेको छ ।
पछिल्लो समय देशका विभिन्न स्थानमा भएका घटनाप्रति सरकारलाई संवेदनशील बन्न राष्ट्रिय मानव अधिकार आयोगले अनुरोध गरेको छ । आयोगले शुक्रबार वक्तव्य जारी गर्दै देशका विभिन्न स्थानमा केही दिनयता भएका घटना तथा प्रदर्शनका सम्बन्धमा आयोगको गम्भीर ध्यानाकर्षण भएको र ती घटनाको मानव अधिकारको दृष्टिकोणबाट अनुगमन गरिरहेको प्रस्ट पारेको छ ।
नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले सकारात्मक आत्मविश्वास जगाएर अर्थतन्त्रमा देखिएका समस्या समाधान गरिने बताउनुभएको छ । अर्थ मन्त्रालयमा शुक्रबार कार्यभार सम्हाल्दै उहाँले अहिलेको निराशालाई आशामा बदल्न सबै क्षेत्रसँग सहकार्य गरिने बताउनुभयो । “अहिलेको निराशालाई आशामा बदल्न मौद्रिक र वित्त नीतिको समन्वयको भूमिका आवश्यक रहन्छ,” उहाँले भन्नुभयो ।
नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक पूर्वाधार क्षेत्रको विकासमा आवश्यक नीति निर्माण तथा कानूनी समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैङ्क तथा वित्तीय संस्था र कर्मचारीविरुद्ध भइरहेका गतिविधिलाई नियालिरहेको बताउनुभएको छ । बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन)का पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलसँग शुक्रबार भएको छलफलमा गभर्नर अधिकारीले बैङ्किङ क्षेत्रमा देखिएको सुरक्षा संवेदनशीलताप्रति पनि आफू गम्भीर रहेको बताउनुभयो ।
सरकारले आगामी वैशाख १ देखि वैदेशिक रोजगारीका लागि लिइने श्रम स्वीकृतिको आवेदन स्थानीय तहमा दिन सकिने व्यवस्था गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै वैशाख १ देखि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि स्थानीय तहका रोजगार सेवा केन्द्रबाट नै आवेदन दिन सकिने व्यवस्था गरेको हो ।
शुक्रवार राती ७ः३० वजे फिदिमको मेचीमार्ग अन्तर्गत कान्छी दोकानमा कार दुर्घटना हुँदा झापा नगरपालिका–१ कि १८ वर्षीया रश्मि भुजेलको मृत्यु भएको छ । ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरी फर्कने क्रममा प्र–१–०१–००१ च ९३४९ नम्बरको कार दुर्घटना भएको हो ।
सरकार फेरबदल तथा अर्थमन्त्री नै नहुँदा अलमलमा परेको बजेट निर्माण प्रक्रियालाई गति दिन अर्थ मन्त्रालयले समय तालिकासहितको योजना बनाएको छ । आव २०८०/८१ को बजेट निर्माणका कतिपय प्रक्रियामा ढिलाइ भएकाले मन्त्रालयले नयाँ कार्यतालिका बनाएको हो ।
सरकारले ल्याएको सहुलियत, राहत तथा अनुदानका कार्यक्रमले पर्यटन क्षेत्रलाई माथि उठाउन नसकेको पोखराका पर्यटन व्यवसायीले बताएका छन् । पर्यटन क्षेत्रलाई गतिशील बनाउन विशेष कार्यक्रम आवश्यक रहेको उहाँहरूले बताउनुभएको छ । पोखरा पर्यटन परिषद्ले विभिन्न माग र सुझावसहित पर्यटन क्षेत्रलाई उठाउन आग्रह गरेको हो । परिषद्ले विज्ञप्ति जारी गर्दै कोभिड–१९ को प्रभावले पर्यटन व्यवसायमा परेको असर विकराल बन्दै गरेको अवस्थामा बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा भुक्तानी तालिका अर्को असार मसान्तसम्मलाई पुनर्तालिकीकरण गर्न माग गरेको छ ।
मध्यपुर थिमि नगरपालिकाले सबै वडाका मुख्य सडकमा सडकबत्ती जडान गर्ने भएको छ । ‘मध्यपुर उज्यालो अभियान’अन्तर्गत नगरपालिकाले मुख्य सडकमा सडकबत्ती जडान गर्न लागेको हो । रात्रिकालीन समयमा सहजतापूर्वक आवतजावत गर्न सकिने गरी नगरपालिकाले मुख्य सडकमा सडकबत्ती जडान गर्न लागेको मध्यपुर थिमि नगरपालिकाले जनाएको छ । अहिले मध्यपुर थिमि नगरपालिका क्षेत्रमा पर्ने अरनिको राजमार्गमा सडकबत्ती जडान गर्ने कार्य सम्पन्न भइसकेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले सेवा प्रवाहलाई प्रभावकारी बनाउने बताउनुभएको छ । उहाँले सूचना प्रविधिको अधिकतम प्रयोग गरी मातहतका कार्यालयलाई चुस्तदुरुस्त बनाउने बताउनुभयो । सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा सचिव राउतले चुनौती चिर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले मन्त्रालयको कार्यपद्धति व्यवस्थित गर्ने, सूचना र सञ्चार प्रविधिमा सबैको पहुँच विस्तार गर्नेसहित काम थालनी गर्ने बताउनुभयो ।