तानसेनका ठूला अस्पतालमा सञ्चालन हुन नसकेको ‘आमा तथा शिशु सुरक्षा कार्यक्रम’ पुनः सञ्चालनमा आएको छ । तानसेन नगरपालिका र लुम्विनी मेडिकल कलेजबीच सम्झौंता भएपछि ‘आमा तथा शिशु सुरक्षा कार्यक्रम’ सञ्चालनमा आएको हो ।
वालिङमा मिनी रङ्गशाला बनाउन शुरु गरिएको छ । वालिङस्थित खेल मैदानलाई मिनी रङ्गशालाका रुपमा विकास गर्न शुरु गरिएको हो । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म पोखरामा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ । यस अन्तर्गत राष्ट्रिय महिला फुटवल प्रतियोगिता वालिङमा सञ्चालन गरिने र त्यसका लागि खेलमैदान व्यवस्थापनमा नगरपालिका लागेको छ ।
इजरायलले सिरियामाथि क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको छ । बुधबार राति इजरायलले सिरियामाथि क्षेप्यास्त्र प्रहार गरेको प्राप्त समाचारमा जनाइएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर २९ केरावारीमा सडकमाथिबाट लेदो र ढुंगासहित खसेको पहिरोका कारण बिहीबार बिहानदेखि सडक आवत जावत पूर्णरुपमा अवरुद्ध छ ।
प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले दोस्रो दिन बिहीबार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग जवाफ लिने क्रम सकिएको छ ।
बैतडी अस्पतालमा शल्यक्रियासहितको प्रसुति सेवा भए पनि रक्त सञ्चार केन्द्र (ब्लड बैङ्क) नहुँदा अत्यधिक रक्तस्राव भएका १७ जना सुत्केरीलाई नेपाली सेनाका जवानले रगत दिएर ज्यान बचाएका छन् ।
काठमाडौं, भदौ १६ गते । चलचित्र 'दुई नम्बरी'को पहिलो गीत सार्वजनिक भएको छ । असोज २१ गतेबाट प्रदर्शनमा आउने फिल्म को 'झलल आयो तिम्रो याद' बोलको गीत सार्वजनिक गरिएको हो । मेलिना राई र जयन जे.वाइवाको स्वर रहेको गीतमा गायक वाइवाकै शब्द तथा सङ्गीत छ ।निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्नुभएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी र बुद्धि तामाङ लगायतको अभिनय छ । यस्तै, भुटानी अभिनेत्री उगेनको यो डेब्यु नेपाली फिल्म हो । फिल्ममा दीपक मनाङे, अमलादेवी राई र जयश श्रेष्ठ फिल्मका निर्माता हुनुहुन्छ ।
नेपालका ७५३ स्थानीय तहमध्ये ४७६ स्थानीय तह पूर्ण विद्युतीकरण भएका छन् । २४२ स्थानीय तहमा आंशिक रुपमा विद्युतीकरण भएको छ । ३५ स्थानीय तहमा नेपाल विद्युत प्राधिकरणले विद्युत पुर्याउन सकेको छैन ।
विश्व स्वास्थ्य सङ्गठनले जाडो मौसम आएसँगै कोभिड–१९ का सङ्क्रमितको मृत्यु तथा अस्पताल भर्ना दर थप बढ्न सक्ने जनाएको छ ।
साउदी अरबको एउटा अदालतले एकजना महिलालाई सामाजिक सञ्जालको प्रयोगबाट देशलाई हानी पुर्याएको आरोपमा ४५ वर्षको जेल सजाय सुनाएको छ । साउदीमा यो महिना महिलालाई यस्तो सजाय सुनाइएको यो दोस्रो घटना हो ।
प्रतिनिधिसभाको महाभियोग सिफारिसले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग आज (बिहीबार) पनि जवाफ लिन सुरु गरेको छ ।
प्रथम मेयर कप पुरुष खुला फुटबल प्रतियोगिताको उपाधि व्यास नगरपालिका–१ स्थित नव युवा क्लब ‘ए’ हाइस्कुलटारले जितेको छ । दमौलीमा सञ्चालित प्रतियोगितामा बुधबारको फाइनल खेलमा नव युवाले न्यु बुद्ध एफसी भानु–१ लाई ३–० गोलले हरायो ।
सत्ता साझेदार पाँचदलीय गठबन्धनको बैठक बालुवाटारमा शुरु भएको छ । बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँटको विषय सम्भवतः आजै टुङ्गीने राष्ट्रिय जनमोर्चाका सचिव हेमलाल पुरीले बताउनुभयो ।
साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा सानदार जित निकालेको छ । बुधबार राति भएको खेलमा पीएसजीले टोउलुसलाई ३-० गोलले हरायो ।
इङ्लिस प्रिमियर लिगमा शीर्षटोली आर्सनल, म्यानचेस्टर सिटी र लिभरपुल विजयी भएका छन् । घरेलु मैदानमा बुधबार राति भएको खेलमा शीर्षटोली आर्सनलले एस्टन भिल्लालाई २-१ गोलले हरायो ।