• ११ मंसिर २०८१, मङ्गलबार

दोस्रो दिनको जवाफ दिने क्रम सकियो

निलम्बित प्रधानन्यायाधीश जबराले अझै ३७ प्रश्नको जवाफ दिन बाँकी

blog

सिंहदरारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा जवाफ दिनुहुँदै । तस्बिर : सुजन गुरुङ

काठमाडौं, भदौ १६ गते । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले दोस्रो दिन बिहीबार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग जवाफ लिने क्रम सकिएको छ । 

बिहीबार सिंहदरारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा निलम्बित प्रधानन्यायाधीश जबरासँग समितिले जवाफ लिएको हो ।

समितिका सदस्य कल्याणी कुमारी खड्काले समितिले जबरासँग दुई वटा प्रश्न सोधेको जानकारी दिनुभयो ।

बिहीबार बिहान ११ बजेदेखि सुरु भएको जवाफ कार्यक्रम केही समयअघि सकिएको जानकारी उहाँले दिनुभयो । उहाँले अर्को बैठक १९ गते आइतबारलाई राखिएको बताउनुभयो ।

बुधबारदेखि जवाफ लिने क्रम सुरू भएको हो । जवाफका लागि समितिले ४३ प्रश्न तय गरेको छ ।

पहिलो दिनमा चार मात्र प्रश्नमाथि छलफल भएको थियो । निलम्बित प्रधानन्यायाधीश जबराले आफू दोषी नभएको तर सबैले आफूमाथि एक पक्षीयरुपमा आरोप लगाएको जवाफ दिनुभएको थियो ।

छ महिनाभन्दा बढीदेखि निलम्बनको अवस्थामा रहनुभएका जबराको महाअभियोग प्रमाणित हुने वा नहुने विषयले तीन महिनामै निष्कर्ष आउनुपर्ने भए पनि लामो समयपछि समितिमा छलफल प्रारम्भ भएको हो ।

उक्त समितिको यही भदौ ८ गते बसेको बैठकले उहाँलाई जवाफका लागि बोलाउने निर्णय गरेको थियो । उक्त निर्णयानुसार जबरा बुधबारदेखि जवाफ दिनका लागि समितिमा उपस्थित हुनुभएको हो ।

जबराविरुद्ध २०७८ फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गर्नुभएको थियोे । संसद्ले महाभियोग सिफारिस समिति गठन गरे पनि यही भदौ १ गते पहिलो बैठक बसेको थियोे ।

जबराविरूद्ध नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनले महाअभियोग पुष्टि गर्न ३४ बुँदे पत्र समितिलाई बुझाएको थियोे । उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारणसमेत समेटिएको छ ।