• १४ वैशाख २०८१, शुक्रबार

सुन प्रकरणमा सरकार जवाफदेही हुनुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

blog

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष एवम् कार्यबहाक अध्यक्ष ईश्वर पोखरेल ।

गोरखापत्र अनलाइन

काठमाडौं, साउन ७ गते । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष एवम् कार्यबहाक अध्यक्ष ईश्वर पोखरेलले सरकार सुन प्रकरणमा जवाफदेही बन्नुपर्ने बताउनुभएको छ । ४५ औं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा एमाले काठमाडौं जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको समाज रुपान्तरणमा पुष्पलालको भूमिका विचार गोष्ठीमा सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । 

उहाँले भन्नुभयो, “तपार्इ भन्नुस्, एमालेको नेताको हिसाबले मात्र होइन, सचेत नागरिकको हिसाबले म बोल्दैछु त्यत्रो सुन तस्करी हुन्छ, बाहिर निस्कन्छ । सरकार जवाफदेही हुनुपर्छ कि पर्दैन ? कुन बेला कसको सेटिङमा, कसको स्वार्थमा मौन बसे । तिनिहरुमाथि प्रश्न उठ्न पर्छ कि पर्दैन ?”

उहाँले पुष्पलाल स्मृति दिवसको सन्दर्भमा पुष्पलालले जीवनभर पीडा सहेर कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने विचारबाट कहिल्यै विचलित नभएको भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, “पीडा सहेर कम्युनिष्ट आन्दोनललाई एकताबद्ध गर्ने अभियानमा आफूलाई लगाउनुभयो । विभाजित कम्युनिष्ट पार्टी एकताबद्ध बनाउन विचार बोकेर जनताका बीचमा स्थापित व्यक्ति ल्याएर कम्युनिष्ट आन्दोलनअगाडि बढाउनुपर्ने विचार ल्याउनुभयो । उहाँ त्यो अठोट लिएर लाग्नुभयो ।”

तत्कालीन समयमा पुष्पलाल  देशभित्र बस्न सक्ने अवस्था नरहेको भन्नुहुँदै उहाँले भीड मात्रै जम्मा गर्ने नभई शक्ति निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँको योगदानबाट प्रेरणा लिन जरुरी छ । देशभित्र कम्युनिष्ट पार्टी एकताबद्ध बनाउने अभियान सुरु गर्नुपर्छ । हामी शक्ति निर्माण गर्न चाहन्छौं । यसका लागि सुस्पष्ट विचार चाहिन्छ, भीड होइन ।” पुष्पलालले तीन  ‘स’ अर्थात् सिद्धान्त, संगठन र संघर्षबाट पार्टीमा बलियो शक्ति निर्माण हुने विचार राख्नुभएको उहाँले स्मरण गर्नुभयो ।