• २४ वैशाख २०८१, सोमबार

आगलागीका कारण बोटबिरुवा नष्ट, जीवजन्तु सङ्कटमा

blog

मालिकार्जुन क्षेत्रमा लागेको आगोले पुर्‍याएको क्षति । तस्बिर : लोकेन्द्र जोशी

दार्चुला समाचारदाता

दार्चुला, वैशाख १४ गते । सुक्खायाम सुरु भएदेखि दार्चुलाका विभिन्न सामुदायिक वनमा आगलागी भएको छ । आगलागीका कारण बोटबिरुवा जलेर नष्ट हुनका साथै जीवजन्तु सङ्कटमा परेका छन् । गत फागुन २५ गतेदेखि हालसम्म विभिन्न सामुदायिक वनमा नियमित आगलागी भइरहेको र आगलागी नियन्त्रण गर्न समस्या भइरहेको डिभिजन वन कार्यालयका वन अधिकृत लालबहादुर विश्कर्माले बताउनुभयो । उहाँका अनुसार, दार्चुलामा १८६ वटा सामुदायिक वन छन् । जसमध्ये १८ वटा सामुदायिक वन आगलागीको उच्च जोखिममा रहेको बताइएको छ । 

प्रायजसो वनमा निरन्तर आगलागी हुने गरेको छ । लेकम, मालिकार्जुन गाउँपालिका र महाकाली नगरपालिकाको वन क्षेत्र आगलागीको उच्च जोखिममा रहेको जानकारी उहाँले दिनुभयो । सल्लाका रुख बढी भएको वनमा बर्सेनि आगलागी हुने गरेको छ । आगलागीका कारण वनमा रहेका हरिण, बँदेललगायतका जनावर विस्थापित भएका छन् । वन क्षेत्रमा लागेको आगोले मानयिी क्षति नगरे पनि कलिला बोटबिरुवा र जीवजन्तु सङ्कटमा परेको शैल्यशिखरका वन्यजन्तु संरक्षणकर्मी गोपी मिश्रले बताउनुभयो । 

औषधीय गुण भएका जडीबुडीसमेत आगोले जलेर नष्ट हुने गरेका छन् । वनमा लाग्ने आगोका बारेमा सर्वसाधारणलाई समयमा नै सचेत गराउनुपर्ने र जथाभावी लाग्ने आगोलाई समयमै निभाउनुपर्ने सरोकारवालाहरू बताउँछन् । जनचेतनाको अभावसँगै सामुदायिक वन उपभोक्ता समिति जिम्मेवार नहुनुलगायत स्थानीयको लापर्बाहीका कारण सामुदायिक वनमा बर्सेनि सुक्खा मौसममा आगलागी हुने गरेको कृष्णदेव जोशीले बताउनुभयो ।