• १४ वैशाख २०८१, शुक्रबार

महोत्तरीमा पन्ध्र प्रतिशत रोपाइँ

blog

बर्दिबास समाचारदाता

बर्दिबास, असार २६ गते । असार महिना सकिन लाग्दा महोत्तरीमा १५ प्रतिशत मात्र रोपाइँ भएको छ । जिल्लामा धान खेतको क्षेत्रफल ४५ हजार हेक्टर छ । पर्याप्त वर्षा नहुँदा अहिलेसम्म छ हजार ७५० हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ । वर्षा अभावमा अधिकांश धान खेत चरिचरन बनेको छ भने रोपाइँ भएका खेतका रोपो पनि सुक्दै गएकाले किसान चिन्तामा छन् । 

गौशाला नपा–१० का कृषक दिनेश महतोले एक बिघाका लागि लगाएको धानका बेर्ना बुढो हुने अवस्थामा छ । वर्षा नहुँदा अहिलेसम्म खेत भने बाँझै रहेको उहाँले बताउनुभयो । 

“गएको वर्ष यस बेलासम्म मैले साढे दुई बिघामा रोपाइँ सकेको थिएँ,” उहाँले भन्नुभयो, “यसपालि भने वर्षाको आसमा सबै जग्गा बाँझै छ ।”

मुलुकका अन्य भेगमा अत्यधिक वर्षाका कारण बाढीपहिरोको प्रकोप देखिए पनि असार अन्त्य हुन लाग्दासमेत महोत्तरीलगायत मधेश प्रदेशको अधिकांश भेगमा अहिलेसम्म वर्षा नहुँदा रोपाइँ प्रभावित भएको हो । कृषि ज्ञान केन्द्र प्रमुख रामचन्द्र यादवका अनुसार भौगोलिक विषमताका कारण जिल्लामा रोपाइँ प्रतिशत एकनास छैन । राम्रो मनसुनी वर्षाका कारण गत वर्ष यही अवधिमा ४० प्रतिशत अर्थात् १८ हजार हेक्टरमा रोपाइँ सकिएको उहाँले बताउनुभयो । 

जिल्लाको २३ हजार हेक्टर जमिन सिञ्चित क्षेत्र रहेको ज्ञान केन्द्रको भनाइ छ । लामो खडेरीले खोला सुकेका र ग्रामीण भेगमा विद्युत् अनियमितता तथा लो भोल्टेजका कारण डिप बोरिङबाट पानी तान्न नसक्दा पनि खेत बाँझै रहेको कृषकले पीडा पोखेका छन् । ज्ञान केन्द्र प्रमुख यादवले तत्काल रोपाइँ प्रतिशत कम देखिए पनि अहिले नै निराश हुनुपर्ने अवस्था नरहेको बताउनुभयो । महोत्तरीलगायत मधेशका जिल्लामा साउन १५ सम्म रोपाइँ हुने गरेको छ । त्यति बेलासम्म वर्षा हुने र रोपाइँले गति लिन सक्ने सम्भावना बाँकी रहेको उहाँले बताउनुभयो । 

गत वर्ष मनसुन राम्रो हुँदा महोत्तरीमा प्रतिहेक्टर साढे तीन मेट्रिक टनको दरले एक लाख ५७ हजार पाँच सय मेट्रिक टन धान उत्पादन भएको यादवले जनाउनुभयो ।