• १५ वैशाख २०८१, शनिबार

‘बगान’ टोली चलचित्र स्टेसनतर्फ

blog

काठमाडौँ, असार २६ गते  । असार २९ गते देशभर रिलिज हुने नेपाली चलचित्र ‘बगान’ को टोली काठमाडौँ उपत्यका बाहिरका प्रमुख चलचित्र स्टेसनहरूमा पुग्न थालेका छन् । तीमध्ये तीन टोली चितवन, बुटवल र पोखरा पुगेको छ । अभिनेता तथा निर्देशक सरोज खनालसहित अभिनेतृ करिश्मा मानन्धर, नव अभिनेतृ प्रमिला कार्की र निर्माता तथा गीतकार सुरेश वाग्लेको टोली उपत्यका बाहिर निस्किनुभएको हो ।

चलचित्र प्रदर्शन हुने नेपालका हरेक कुनाकाप्चा पुग्ने इच्छा भए पनि समय अभावका कारण सम्भव नभएको निर्देशक तथा अभिनेता खनालले बताउनुभयो । निर्देशक खनालले चलचित्रको प्राविधिक काममा बढी समय दिनुपरेका कारण चलचित्रका लागि तीन वटा प्रमुख स्टेसनमा मात्र पुग्न सकिएको बताउनुहुन्छ ।

उपत्यका बाहिर भएका कार्यक्रममा बगानको विषयवस्तु र हेर्नुपर्ने कारणबारे जानकारी दिइएको छ । अभिनेतृ करिश्मा मानन्धरले ‘बगान’ ले नेपाली चलचित्र क्षेत्रमा क्रान्ति गर्ने बताउनुभयो । नव अभिनेतृ प्रमिला कार्कीले खनाल र मानन्धरसँग जोडिएर काम गर्न पाउँदा धेरै सिक्ने अवसर मिलेको र ‘बगान’ आफ्नो लागि विश्वविद्यालय सावित भएको उल्लेख गर्नुभयो ।

चलचित्रमा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेतृ प्रमिला कार्कीसँगै नीर शाह, वसुन्धरा भुषाल र मिथिला शर्मालगायतकाको अभिनय रहेको छ । स्वप्निल नीरवको कथामा आधारित यो चलचित्रबाट अभिनेता खनालको निर्देशनमा र अभिनेतृ कार्कीले अभिनयमा डेब्यु गर्नुभएको हो ।  

नेपाली वेबसाइट डटकमको प्रस्तुति रहेको ‘बगान’ का निर्माता सुरेश वाग्ले हुनुहुन्छ भने  कार्यकारी निर्माता विनोद मानन्धर हुनुहुन्छ । चलचित्र नेपाल र अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशमा प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ । बगानको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गर्दै छ ।