• २६ वैशाख २०८१, बुधबार

राष्ट्रिय पुरस्कारको निवेदन आह्वान

blog

काठमाडौँ, वैशाख १५ गते । चलचित्र विकास बोर्डले राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कारका लागि आवेदन माग गरेको छ । बोर्डको २४ औँ वार्षिकोत्सवका अवसरमा विभिन्न विधामा पुरस्कार प्रदान गर्दै छ । बोर्डले पुरस्कारका लागि वैशाख २१ गतेसम्म आवेदन दिन आग्रह गरेको छ । राष्ट्रिय चलचित्र पुरस्कारका लागि २०८० वैशाख १ गतेदेखि २०८० चैत मसान्तभित्र सार्वजनिक प्रदर्शन भएका चलचित्रले आवेदन दिन सक्ने जनाइएको छ । विशेष चलचित्रका लागि २०८० वैशाख १ गतेदेखि चैत मसान्तभित्र चलचित्र जाँच समितिबाट जाँच भएका चलचित्रले आवेदन दिन सक्ने छन् ।

२०८० वैशाख १ देखि चैत मसान्तभित्र चलचित्र जाँच समितिबाट जाँच भएका आदिवासी, जनजाति तथा मातृभाषी चलचित्रका चलचित्रले राष्ट्रिय चलचित्र तथा विशेष चलचित्र पुरस्कारमा सहभागी हुन सक्ने छन् तर आदिवासी, जनजाति तथा मातृभाषाका चलचित्र विधागत रूपमा राष्ट्रिय चलचित्र पुरस्कार वा आदिवासी, जनजाति तथा मातृभाषी राष्ट्रिय चलचित्र पुरस्कारमध्ये कुनै एकमा मात्र सहभागिता जनाउन पाउने छन् । विधागत रूपमा सहभागी हुने चलचित्र सार्वजनिक प्रदर्शन भएको हुनुपर्ने बोर्डले जनाएको छ । आवेदनसँगै सम्बन्धित चलचित्र निर्माताको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित निर्माता वा निजले अधिकार दिएको व्यक्ति आफैँ उपस्थित भई वा इमेलमार्फत आवेदन दिन सक्ने छन् । बोर्डले राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार तथा आदिवासी, जनजाति तथा मातृभाषी चलचित्र पुरस्कारको प्रतिस्पर्धामा सहभागी हुन बोर्डबाट उपलब्ध हुने आवेदन फाराम पूर्ण रूपमा भरी पेस गर्नुपर्ने बताएको छ ।