• २७ वैशाख २०८१, बिहिबार

सकियो सिन्दूरे जात्रा

blog

नुवाकोट समाचारदाता

नुवाकोट, वैशाख १५ गते । चैत शुक्ल पूर्णिमाको दुई दिनपछि द्वितीयाको दिन भैरवी मन्दिरमा लाग्ने सिन्दूरे जात्रा सम्पन्न भएको छ । चैत शुक्ल पूर्णिमाको दिन साततले दरबार राष्ट्रिय सङ्ग्र्रहालयसँगै रहेको भैरवी मन्दिरबाट जालपादेवी मन्दिरमा गएको धामीधमिनी र भैरवीको रथलाई भैरवी मन्दिरमा ल्याइएपछि हर्षबढाइँसाथ सिन्दूर घसेर रमाइलो गर्दै जात्रा सम्पन्न गरिन्छ ।

नेपाल सरकारको प्रतिनिधि द्वारेले भैरवी मन्दिरका पुजारी धामीधमिनीलाई सिन्दूर हालेपछि यो वर्षको सिन्दूरे जात्राको मुख्य रौनक सुरु भएको थियो । नुवाकोटको सबैभन्दा ठुलो यो मेला सिन्दूरे जात्रामा भैरवी मन्दिरअगाडि र बुढी देवताअगाडि सल्लाको लिङ्गो ठड्याएपछि जात्रा सुरु हुन्छ र लिङ्गो ढालेपछि सकिन्छ । द्वितीयाको दिन भैरवी मन्दिरमा सिन्दूरजात्रा र राति धामीले बलि पनि लिने गर्दछन् । ७५ वर्षीय धामी हरिमान सिंह डङ्गोलले धमिनीलाई सिन्दूर लगाएर सुरु भएको जात्रामा सहभागीले सिन्दूरजात्रा गरी रमाइलो गरेका थिए । भैरवी मन्दिर र देवीघाटको जालपा क्षेत्रमा जात्रालुको घुइँचो लागेको थियो । जिल्लाको ठुलो पर्व मानिने सिन्दूरजात्रा पाँच दिनसम्म लाग्छ । तृतीयाको दिन धामीले भोग खाने प्रचलन रहेको छ । किंवदन्ती अनुसार जालपादेवीसहित भैरवी मन्दिरमा दिदी आएको अवसरमा सिन्दूरजात्रा गरी हर्षबढाइँ गरिएको हो । जालपादेवीबाट फर्किएका धामी स्थानीय धरमपानीको पाटीबाट बाजागाजासहित भैरवी मन्दिर प्राङ्गणमा पुगेपछि तीन सय वर्षभन्दा पुरानो मानिएको सिन्दूरे जात्रा गरिन्छ । 

भैरवीको मन्दिरबाट बाजागाजा र सैनिक टुकडीसहित सिन्दूरजात्रा गर्दै तलेजु भवानीको मन्दिरमा रथ भिœयाइन्छ । देवीघाटस्थित जालपादेवी मन्दिरमा पुगेका धामीधमिनीसहित भैरवी मन्दिरको रथ नुवाकोट भैरवी मन्दिर परिसरमा पु¥याएपछि सिन्दूर हालेर सिन्दूरे जात्रा मनाइन्छ । द्वारे महेन्द्रकुमार शाहीले भैरवी मन्दिरका पुजारी धामी हरिमानसिह डङ्गोललाई विजयको प्रतीक सिन्दूर हालिदिएलगत्तै धामीले सरकारी कर्मचारी तथा सर्वसाधारणलाई सिन्दूर प्रदान गर्ने परम्परा रहेको छ । भैरवी मन्दिरको रथ अपराह्न भैरवीका गुठियार लच्याङवासीले भैरवी मन्दिर परिसरमा पु¥याएका थिए । स्थानीय नेवार समुदायका महत्वपूर्ण जात्रामा मेला भर्न राजधानीका नेवार समुदायसमेत आउने गरेको द्वारे महेन्द्र शाहीले बताउनुभयो ।