बेलौरी समाचारदाता
कञ्चनपुर, कात्तिक १३ गते । जेनजी आन्दोलनका क्रममा कञ्चनपुर कारागारबाट भागेका ३५० कैदीमध्ये अझै ९९ कैदी फरार छन् ।
कारागार कञ्चनपुरका अनुसार फरार रहेका कैदीबन्दीमध्ये जबरजस्ती करणी मुद्दामा २५ वर्षसम्म कैद भुक्तान गर्न बाँकी रहेका तीन जना कैदी फरार छन् । कञ्चनपुर कारागार निमित्त जेलर रामदत्त जोशीका अनुसार जबरजस्ती करणी मुद्दामा २६ वर्ष कैद तोकिएका शुक्लाफाँटा नगरपालिका–९ का ३५ वर्षीय शिवी टमाटा फरार छन् । सोही मुद्दामा २५ वर्ष कैद तोकिएका दोधारा चाँदनी नगरपालिका–७ का मुकेशबहादुर क्षेत्री पनि फरार छन् ।
सोही मुद्दामा २५ वर्ष कैद तोकिएका दोधारा चाँदनी नगरपालिका–१ का बब्लु सुनार पनि फरार छन् । त्यस्तै १८ वर्ष कैद तोकिएका दोधारा चाँदनी नगरपालिका–४ का टेकबहादुर सुनार, १८ वर्ष कैद तोकिएका भारतको उत्तर प्रदेश पिलिभित चम्वावतका चरन जोशी, शुक्लाफाँटा नगरपालिका–११ का डमेरे कामी, कृष्णपुर नगरपालिका–२ का मदन चौधरी, १६ वर्ष कैद तोकिएका भीमदत्त नगरपालिका–७ का दानसिंह बोहोरा, १४ वर्ष कैद तोकिएका बेलौरी नगरपालिका–१० का टेकबहादुर नेपाली पनि फरार छन् ।
जबरजस्ती करणी मुद्दामा १२ वर्ष कैद तोकिएका भीमदत्त नगरपालिका–८ का पारस देउवा, १२ वर्ष कैद तोकिएका बेलौरी नगरपालिका–५ का रामप्रसाद चौधरी, ११ वर्ष कैद तोकिएका बैतडीको पञ्चेश्वर गाउँपालिका–६ का शिवराज आउजी, बेलडाँडी गाउँपालिका–५ का विष्णु खड्का, १० वर्ष कैद तोकिएका शुक्लाफाँटा–१ का रामसिंह बोहोरा, कृष्णपुर नगरपालिका–९ का प्रकाश भट्ट, सात वर्ष कैद भुक्तान गर्न बाँकी रहेका दोधारा चाँदनी नगरपालिका–१० का पुरन दमाईं, बेलडाँडी गाउँपालिका–२ का प्रेमबहादुर सुनार पनि फरार छन् ।
कारागारका निमित्त जेलर जोशीका अनुसार जबरजस्ती करणी मुद्दामा १७ कैदी बन्दीले अत्यधिक कैद भुक्तान गर्न बाँकी छ । यसै गरी जबरजस्ती करणी मुद्दाका नौ जना थुनुवासमेत जेनजी आन्दोलनका क्रममा फरार भएका छन् । उनीहरूको खोजीका लागि प्रहरीलाई आग्रह गरिएको निमित्त जेलर जोशीले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले फरार रहेका कैदीको विभिन्न माध्यमबाट खोजी भइरहेको प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहोराले बताउनुभयो ।
खलङ्गा समाचारदाताका अनुसार गत भदौ २४ गते दार्चुला कारागारबाट भागेका ७१ जना कैदीबन्दीमध्ये छ जना अझै फरार छन् ।
प्रहरीले विभिन्न मिति र स्थानबाट ६५ जना कैदीलाई नियन्त्रणमा लिएर पुनः कारागार पठाएको भए पनि छ जनालाई अझै नियन्त्रणमा लिन नसकिएको दार्चुलाका प्रहरी नायब उपरीक्षक गौरव महतले जानकारी दिनुभयो । उनीहरूको तीव्र खोजी भइरहेको उहाँले बताउनुभयो । सो दिन राति ६४ जना कैदी र १३ जना थुनुवामध्ये ७१ जना भागेको कारागार कार्यालय दार्चुलाका जेलर सरिता चन्दले जानकारी दिनुभयो ।
धनगढी समाचारदाताका अनुसार कैलाली कारागारबाट फरार भएका ६६५ कैदीबन्दीमध्ये २६२ जना अझै पक्राउ परेका छैनन् ।
जघन्य अपराधसहित विभिन्न मुद्दामा जेल गएका भारतीयसहितका कैदीबन्दी अझै पक्राउ परेका छैनन् । कैदीबन्दी फरार भएको डेढ महिना पुगिसकेको छ । हालसम्म ४०३ कैदीबन्दी कारागार फर्किसकेको जेलर चिरञ्जीवी सापकोटाले जानकारी दिनुभयो । कारागार फर्केकामध्ये केही कैदीबन्दी कैद अवधि भुक्तान गरेर छुटिसकेका छन् ।
कारागारमा ६६७ जना कैदीबन्दी रहेकामा एक जना अस्पतालमा उपचाररत अवस्थामा रहेका र अर्का एक कारागारबाट नभागेको जनाइएको छ ।