तारकेश्वरमा विकास निर्माण तीव्र गतिमा


गोरखापत्र समाचारदाता

Tarkesor  news photo by Narad Gautam तारकेश्वर (काठमाडौँ), चैत १ गते । तारकेश्वर नगरपालिका वडा नं. ४ मा चालु आर्थिक वर्षका लागि स्वीकृत पूर्वाधार विकाससँग सम्बन्धित ८० प्रतिशत निर्माण कार्य पूरा भएका छन् । वडा कार्यालय भवनसमेत यसै वर्ष निर्माण सुरु गरी निर्माण कार्य पूरा गरिएको हो ।
दगुर्ने पानीमा निर्माण गरिएको पाँचकोठे वडा कार्यालय भवनको प्रतिनिधिसभाका सांसद रामवीर मानन्धरले बिहीबार उद्घाटन गर्नुभयो । कार्यालय भने केही दिन अगाडिबाटै सञ्चालनमा आएको थियो । सांसद मानन्धरले तीनै तहका सरकार आएपछि विकास निर्माणका कार्यले गति लिएको बताउनु हुँदै सबै नेपालीको सहयोगमा ‘समृद्ध नेपाल ः सुखी नेपाली’ को नारालाई सार्थक बनाउन सकिने बताउनुभयो ।
तारकेश्वर नपाका प्रमुख रामेश्वर बोहराले नागरिकले तिरेको करबाट उठेको रकमको सही सदुपयोग हुनुपर्नेमा जोड दिनुहुँदै जनताले अपेक्षा गरेअनुसारको छिटो छरितो सेवा दिनु स्थानीय सरकार जिम्मेवारी भएको बताउनुभयो ।
वडा नं. ४ का अध्यक्ष नरेन्द्रदास श्रेष्ठले वडा कार्यालय ५० लाख रुपियाँको लागतमा उपभोक्ता समितिमार्फत निर्माण गरिएको बताउनुभयो । उहाँले एकतले भवनमा पाँच कोठा रहेका छन् । कुल छ रोपनी क्षेत्रफल ओगटेको कार्यालय भवन क्षेत्रको वरिपरि नागरिकलाई हिँड्नका लागि ट्रयाक निर्माण गरिएको जानकारी दिनुभयो ।
वडाका सदस्य अर्जुन घिमिरेका अनुसार, कार्यालय भवन परिसरमै ब्याडमिन्टन कोर्टको निर्माण गर्ने पूरा भएको छ । यो ठाउँमा पहिला एउटा पोखरीसमेत थियो तर अचेल पानी सुकिसकेको छ । अब त्यस ठाउँमा कृत्रिम पोखरी निर्माण गरिने जानकारी पनि घिमिरेले दिनुभयो । यस्तै, दुबोको चौर पनि बनाउने योजना छ ।
वडा नं. ४ का अध्यक्ष श्रेष्ठले चालू आर्थिक वर्षका लागि सञ्चालन गरिएका २२ वटा विकासका कार्यक्रमहरूमध्ये ८० प्रतिशत योजनाको निर्माण सम्पन्न भएको छ । त्यसमा पनि नगरपालिका र नागरिकबीचको साझेदारी कार्यक्रम ‘५०–५० प्रतिशत’ कार्यक्रममा अन्तर्गत आठ वटा विकास कार्यक्रमको निर्माण कार्य पूरा भएको छ ।

उहाँले सानोपुलस्थित टोल सुधार समितिले ८१ मिटर लामो १० फिट चौडाइको ढलान पिच गर्ने कार्य पूरा गरेको जानकारी दिनुभयो । यस्तै, भट्टेपाखा, मिलनबस्ती, कमेरो खोला, लगायतका स्थानका निर्माण कार्य पूरा भएका छन् । यसैगरी, मखमली टोल र पुरानो गुह्येश्वरी जाने बाटोको महिला भवन क्षेत्रमा पनि ढलान पिच गर्ने कार्य जारी छ ।
यस्तै, सङ्घीय र प्रदेश सरकारबाट प्राप्त बजेटबाट पनि निर्माण कार्य सुरु भएका छन् । अध्यक्ष श्रेष्ठले घट्टेपाखामा ५० लाख रुपियाँको लगानीमा तीन लाख २५ हजार लिटर पानी अट्ने पानी ट्याङ्की निर्माणको कार्य बिहीबारबाटै सुरु भएको बताउनुभयो ।
यसैगरी, नगरप्रमुख बोहराका अनुसार, वडा ४ बाटै सुरु हुने शेषमतीपुल–सानोपुल हुँदै लोलाङ हाइट जाने सडक निर्माणका लागि करिब दुई करोड रुपियाँ छुट्टाएर बोलपत्र भई अब निर्माण कार्य सुरु गर्ने चरणमा पुगेको छ । सानो पुलबाट पैयाँटारतर्फ जाने सडकलाई पनि विस्तार गरिने भएको छ । कतिपय सडकका लागि स्रोत व्यवस्थापन गर्ने कार्य भइरहेको जानकारी पनि प्रमुख बोहराले दिनुभयो ।
यसैगरी, दर्गुर्ने पानी–शेषमती पुल–लामबगर–जरङ्खु हँुदै काभे्रस्थलीको फिरफिरे डाँडासम्म पाँच किलोमिटर लम्बाइ र ११ मिटर चौडाइ भएको सडक निर्माण भइरहेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना