• १३ असोज २०८१, आइतबार

कानुन दिवसका अवसरमा बारको शुभकामना

blog

काठमाडौं, वैशाख २६ गते । नेपाल बार एसोसिएसनले कानुन दिवसको अवसरमा नागरिक तथा आम सेवाग्राहीलाई छिटोछरितो तथा सर्वसुलभ न्याय दिनुपर्नेमा जोड दिएको छ ।

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे आज जारी गरेको शुभकामना सन्देशमा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, विधिको शासन, लोकतन्त्र र मानव अधिकार कायम गर्नुपर्ने उल्लेख छ । 

“कानुन व्यवसायीले जिम्मेवारी वहन गर्दा पेसागत दक्षतासँगै व्यावसायिक आचरण र निष्ठामासमेत प्रतिबद्ध हुने प्रेरणा आजको दिनमा प्राप्त होस्”, शुभकामना सन्देशमा भनिएको छ । 

नागरिक तथा आम सेवाग्राहीलाई छिटोछरितो तथा सर्वसुलभ न्याय एवम् न्यायमा सहज पहुँच हामी सबैको सरोकारको विषय भएकाले न्यायपालिका स्वतन्त्र, निष्पक्ष र सक्षम भएमा मात्र विधिको शासन, लोकतन्त्र र मानवअधिकारले सार्थकता पाउने सन्देशमा उल्लेख छ । 

“न्यायपालिकामा विकृति, विसङ्गति र भ्रष्ट्राचार व्याप्त रहेको भन्ने वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालको प्रतिवेदन र बारको सहभागितामा तयार हरिकृष्ण कार्कीको प्रतिवेदनले उजागर गरेको छ”, सन्देशमा भनिएको छ, “यसरी उजागर गरिएका विकृति, विसङ्गति र भ्रष्टाचारको निर्ममतापूर्वक अन्त्य गर्न सकिएमा मात्र न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि हुन जाने र कानुन दिवस मनाउनुको पनि सार्थकता सिद्ध हुन्छ ।”

बारले लामो अवधिसम्म आन्दोलन गरेको र सोही विषयलाई हालको कार्यसमितिले स्वामित्व ग्रहण गरी न्यायपालिकाको शुद्धीकरण र सुदृढीकरणको अभियान अन्तर्गत विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्य, बिचौलियाद्वारा न्याय किनबेच हुन्छ भन्ने कुराको विरोधका साथसाथै, प्रधान न्यायाधीशको नियुक्ति समेतको माग राखी हामी निरन्तर अभियानमा रहेको सन्देशमा उल्लेख छ ।

दिवसका अवसरमा अग्रजप्रति सम्मान व्यक्त गर्दै स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, विधिको शासन, लोकतन्त्र र मानवअधिकारको संरक्षण र प्रवर्द्धन गर्दै व्यावसायिक र मर्यादित बारका लागि सदा क्रियाशील रहने प्रणसमेत गरेको सन्देशमा उल्लेख छ । रासस