• १५ वैशाख २०८१, शनिबार

सुरक्षित कर्णाली अभियान तयारी

blog

सुर्खेत समाचारदाता

सुर्खेत, वैशाख २० गते । कर्णाली प्रदेशलाई अपराध, दुव्र्यसनमुक्त बनाउने लक्ष्यसहित प्रदेश प्रहरीले सुरक्षित कर्णाली विशेष अभियानको तयारी गरेको छ।

प्रदेश प्रहरीले सुरक्षित कर्णाली विशेष अभियानको कार्ययोजनासमेत निर्माण गरेको छ। जसमा १४ वटा क्षेत्रमा ७४ वटा क्रियाकलाप गर्ने जनाइएको छ। ती क्रियाकलापमध्ये ३५ वटा क्रियाकलाप स्थानीय तहसँग सम्बन्धित रहेका छन्। प्रदेशभर रहेका तीन लाख ७१ हजार १४५ घरमा जनचेतनामूलक स्टिकर टाँस गर्ने, दलाल बिचौलियालाई निरुत्साहन गर्ने, पुस्तकालय निर्माण गर्ने, सीसीटीभी विस्तार गर्ने, मोटरसाइकल व्यवस्थापन गर्ने, गाँजा तथा अफिम खेती नष्ट गर्ने, वैज्ञानिक अपराध अनुसन्धान, महिला प्रहरी बिटसहितको सुरक्षालगायतमा स्थानीय तहसँग समन्वय गरेर क्रियाकलाप गर्न सकिने जनाइएको छ। 

सुरक्षित कर्णालीका लागि कर्णालीका विभिन्न जिल्लामा गरी ३६६ वटा सीसीटीभी जडान गर्नुपर्ने, विपत् उद्धार तथा परिचालनका लागि एक सयवटा मोटरसाइकल आवश्यक पर्ने, सुर्खेतको काँक्रेविहार, मुगुको रारा ताल, हुम्लाको सिमकोट विमानस्थल, डोल्पाको शे–फोक्सुण्डोमा पर्यटकको सुरक्षाका लागि पर्यटक प्रहरीको व्यवस्था गर्नुपर्ने र ती कामका लागि स्थानीय तहबाट गर्न सकिने सो कार्ययोजनामा उल्लेख छ। 

सुर्खेतमा ४०, दैलेखमा ९५, जाजरकोटमा १९, सल्यानमा ३४, रुकुममा ७१, कालीकोटमा २१, जुम्लामा १८, मुगुमा २२, हुम्लामा २० र डोल्पामा २६ गरी ३६६ वटा सीसीटीभी सदरमुकाम, बजार क्षेत्र र राजमार्गमा जडान गरेर अपराध तथा दुर्घटनामा कमी ल्याउन सकिने योजना प्रहरीले अघि सारेको छ। यो काममा पनि स्थानीय तहहरूले सहयोग गर्ने जनाइएको छ। पालिका नै सुरक्षित भएको खण्डमा जिल्ला र प्रदेशलाई सुरक्षित बनाउन सकिने अभियानको मुख्य उद्देश्य रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी भीम ढकालले बताउनुभयो। प्रहरीसँग सीमित स्रोत र साधन भएका कारण धेरै गर्न नसकिने भएकाले स्थानीय तहसँगको सहयोगमा प्रहरीको कार्ययोजना कार्यान्वयन गर्न सकिने उहाँको भनाइ छ। प्रदेशलाई अपराध, दुव्र्यसनबाट मुक्त गराउने, सवारी दुर्घटना न्यून गराउने लक्ष्यमा स्थानीय तह र प्रदेश सरकारसँग सहयोग तथा समन्वय गरेर अघि बढ्ने उहाँले जनाउनुभयो। 

विज्ञ एवं पूर्वउपप्रमुख डा. सीता ढुङ्गानाले प्रहरीले सीसीटीभी जडान, पार्किङ व्यवस्थापन, सडक मानव उद्धार, पूर्वाधार विकास, पिउने पानी व्यवस्था, रोड डिभाइडर, न्यायिक समिति तथा कार्यपालिकाको निर्णय कार्यान्वयनलगायतका विषयमा प्रहरीले स्थानीय तहसँग सहकार्य गर्न सक्ने जानकारी दिनुभयो। भेरीगङ्गा नगरपालिकाका प्रमुख यज्ञबहादुर ढकालले सुरक्षित प्रदेश बनाउनका लागि पालिकाले पनि सहयोग गर्न सक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।  लेकबेँसी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ्ग शाहीले राजस्व चुहावट रोक्ने योजना पनि समावेश गर्नुपर्ने सुझाव दिनुभयो।