• २ जेठ २०८१, बुधबार

सहरमा फेरि ‘मार्क्स फर्किए’

blog

काठमाडौँ, वैशाख ९ गते ।  वर्तमान नेपाली राजनीतिसँग सान्दर्भिक परिस्थितिलाई चित्रण गरेको नाटक हो ‘मार्क्स फर्किए’ । आरोहण गुरुकुल नाटकघरमा नाटक अहिले दोस्रो पटक मञ्चन भइरहेको छ । समाजमा धनी र गरिबबीचको खाडल कसरी बढ्दै गएको छ भन्ने सन्दर्भलाई नाटकमा देखाइएको छ । अमेरिकी साहित्यकार हवार्ड जिनद्वारा लिखित नाटकलाई नेपाली परिवेशमा प्रस्तुत गरिएको छ । नाटकमा कार्ल मार्क्सको जीवनदर्शन चित्रण गरिएको छ । 

नेपाली परिवेशजस्तै पुँजीले मानिसमाथि शासन गर्ने र चरम व्यक्तिवाद फस्टाउन थालेपछि हुने विद्रोहलाई मार्क्सले कल्पना गरेजस्तो आदर्श समाज जन्मिनेछ । जसले एक दिन शोषित वर्ग एकजुट हुनेछन् र अरूलाई काममा जोताएर लाभ उठाउनेहरू घुँडा टेक्न बाध्य हुने नाटकले प्रस्ट्याएको छ । आफूलाई मार्क्सवादी भन्नेहरूले नै मार्क्स र उनको सिद्धान्तलाई बुझ्न नसकेको सत्यलाई नाटकले देखाउने प्रयास गरेको छ । नाटकले नेपाली विषयवस्तुलाई कथाका माध्यमबाट वस्तुनिष्ठ चित्रण गरेको छ । 

नाटकमा कार्ल मार्क्स कठिनपूर्ण जीवन, उनका परिवारजन र  सङ्घर्ष बारेका कुरालाई देखाइएको छ । नाटकमा लन्डनको सोहो बस्तीमा रहेको मार्क्स निवास वरपरका दृश्य छन्, जहाँ मुलुकबाट निकालिएका मार्क्स बेल्जियम र फ्रान्सबाट पनि निकालिएपछि उनकी पत्नी जेनी र उनका दुई छोरीसहित बस्न आइपुगेका हुन्छन् । त्यही जेनीले चार जना बच्चा जन्माउँछिन् । उनीहरूको हेरचाह गरिन् तर चरम गरिबी र अभावका कारण एकपछि अर्को सन्तान उनले बचाउन सकिनन् । यही परिवेशमा मार्क्स र उनका परिवारले बिताएका जीवन र त्यहाँ आउने जाने केही मुख्य पात्रसँग गरिएको विमर्श र मार्क्सको मृत्युपछि उनीमाथि लागेको आरोपको स्पष्टीकरण नै नाटकको मुख्य विषयवस्तु हो ।  

सुनील पोखरेल र प्रविण खतिवडाको परिकल्पना र निर्देशनमा तयार पारिएको नाटकमा सुनील पोख्रेल, निशा शर्मा, राम्भाजन कामत, राज न्यौपाने, सुवास तिमिल्सिना, सुनिसा बजगाईंको अब्बल अभिनय रहेको छ । यसअघि २०७६ सालमा पनि यो नाटक मञ्चन गरिएको थियो ।