• १४ वैशाख २०८१, शुक्रबार

गाउँपालिकाले दियो पञ्चैबाजा

blog

हुम्ला समाचारदाता

हुम्ला, वैशाख ४ गते । हुम्लाको खार्पुनाथ गाउँपालिकाले पञ्चैबाजा संरक्षणका लागि सहयोग गरेको छ । गाउँपालिकाले परम्परागत पञ्चैबाजाको संरक्षण र प्रवद्र्धनका लागि दलित बस्तीलाई पाँच प्रकारका बाजा उपलब्ध गराएको हो ।

खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले दलित (दमाई) समुदायका लागि पञ्चैबाजा वितरण गरेर यसको संरक्षणमा लागेको बताउनुभयो । उहाँले गाउँपालिकाको लक्षित वर्गको कार्यक्रमबाट ती बाजा खरिद गरेर दलितलाई वितरण गरिएको जानकारी दिनुभयो । सबै वडाका दलितलाई बाजा वितरण गरिने गाउँपालिकाको योजना रहेको छ । खार्पुनाथमा दसवटा लक्षित बस्ती रहेका छन् ।  

गाउँपालिका–५ का वडाध्यक्ष भरतजङ्ग शाहीले पञ्चैबाजामा दस किसिमका वाद्यवाधन रहने भए पनि हुम्लामा प्रयोग हुने पाँच किसिमका बाजा दलित समुदायलाई वितरण गरिएको बताउनुभयो । वितरण गरिएका बाजामा दमाहा, ट्याम्को, चाम्डोल, ताल र सुनायो रहेका छन् । ती बाजा सामूहिक रूपमा प्रयोग गर्ने गरी वितरण गरिएको वडाध्यक्ष शाहीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“ती बाजा सामुदायिक भवनमा रहनेछन् र गाउँघरमा आवश्यक पर्दा  लक्षित वर्गले उपयोग गर्न सक्नेछन् ।” गाउँपालिकाले बाजा खरिद र ढुवानीका लागि करिब पाँच लाख रुपियाँ खर्चेको जनाएको छ । नयाँ र आधुनिक पञ्चैबाजा धामी र झाँक्रीको रोहबरमा वितरण गरिएको बताउँदै स्थानीय भक्तबहादुर शाहीले यसको संरक्षण गर्नु आवश्यक रहेको बताउनुभयो ।