• १२ वैशाख २०८१, बुधबार

हुलाकी सडकमा धमाधम काम

blog

सर्लाही समाचारदाता

सर्लाही, वैशाख ४ गते । लामो समयदेखि अधुरो रहेको सर्लाहीस्थित पूर्व–पश्चिम हुलाकी सडक निर्माणले अहिले भने गति लिन थालेको छ। 

ठेक्का लागेको छ वर्षसम्म पनि कालोपत्रे हुन नसकेको यो सडकमा हाल तीव्र गतिमा काम अघि बढेको हो। सदरमुकाम मलङ्गवादेखि पूर्वतर्फको खण्डमा कामै नभइरहेको अवस्थामा अहिले सो खण्डमा पनि धमाधम काम भइरहेको हुलाकी सडक आयोजना जनकपुरधामले जनाएको छ।  

सदरमुकाम मलङ्गवादेखि पूर्व पर्सा गाउँपालिकाको सङ्ग्रामपुरस्थित हर्दिखोलासम्मको १५ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा हिम्दुङ एन्ड ठोकर हीरा एन्ड नमिता जेभीले लिएको छ। हुलाकी सडक आयोजना जनकपुरका इन्जिनियर रञ्जित यादवले मलङ्गवादेखि पूर्वतर्फको खण्डमा अहिले धमाधम काम भइरहेको जानकारी दिनुभयो। 

उहाँले यो खण्डमा १५ किलोमिटरमध्ये अब आठ किलोमिटर सडक कालोपत्रे हुन बाँकी रहेको बताउनुभयो। इन्जिनियर यादवले भन्नुभयो, “यस खण्डमा १५ किलोमिटरमध्ये सात किलोमिटर त कालोपत्रे भइसक्यो, बाँकी रहेको आठ किलोमिटरमा पनि अहिले कालोपत्रेअघि गर्नुपर्ने काम भइरहेका छन्।”

सर्लाही खण्डको ४२ किलोमिटर हुलाकी सडक पाँच वर्षभित्र कालोपत्रे गर्न २०७३ सालमा ठेक्का लागेको थियो। पटक–पटक सम्झौता अवधि थप्दासमेत सडक नबनेपछि जताततै आन्दोलन हुन थालेपछि अहिले निर्माण कार्यले गति पाएको हो। छिमेकी जिल्ला महोत्तरी र रौतहटमा केही वर्षअघि नै हुलाकी सडक निर्माण भइसकेको छ। यो पटक भने सर्लाही खण्डको सडक भने कालोपत्रे हुने आश गरिएको छ।

सदरमुकाम मलङ्गवादेखि पश्चिम बलरा नगरपालिकास्थित बागमती नदी किनारसम्मको खण्डमा भने धेरै काम भइसकेको सडक कार्यालयले जनाएको छ। मलङ्गवादेखि गोडैता नगरपालिकास्थित रोहुवासम्म हिन्दुङ एन्ड ठोकर साह निर्माण सेवा र त्यहाँबाट पनि पश्चिम बलरास्थित बागमती नदी किनारसम्म दिवा निर्माण सेवाले ठेक्का सकार गरेका छन्। 

इन्जिनियर यादवका अनुसार मलङ्गवादेखि पश्चिमतर्फको खण्डमा अब मुसैलीमा झन्डै तीन किलोमिटर खण्डमा काम हुन बाँकी छ। त्यहाँ पनि विद्युत्को खम्बा (पोल) हटाउने काम भइसकेकाले ठेकेदारलाई तत्काल काम अघि बढाउने घच्घच्याउने काम भइरहेको इन्जिनियर यादवले बताउनुभयो।

हुलाकी सडक आयोजना जनकपुरका प्रमुख कृष्णकुमार महतोले कार्यालयले पहिलेदेखि नै काम गरिरहे पनि अहिले भने देखिने गरी काम भइरहेको जानकारी दिनुभयो। “कन्स्ट्रक्सनका कतिपय काम देखिँदैनन् तर भइरहेका हुन्छन्, अहिले भने देखिने गरी काम भइरहेका छन्,” उहाँले भन्नुभयो।  

सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले हुलाकी सडक निर्माणमा अहिले राम्रो प्रगति देखिएको बताउनुभयो। उहाँले यस महिनाभित्र कम्तीमा हुलाकी सडक धुलोमुक्त हुने अपेक्षा गरिरएको बताउनुभयो। 

सडक निर्माणलाई गति दिन पटक–पटक ठेकेदारसहित अन्य सरोकारवालालाई राखेर छलफल गराएपछि सडकको काममा नतिजा देखिन थालेको हो। कतिपय ठाउँमा स्थानीयवासीबाट भएको सडकको अवरोध हटाउन जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह, प्रमुख जिल्ला अधिकारी यादवलगायत नै फिल्डमा खटिनुभएको छ।