• २६ वैशाख २०८१, बुधबार

बक्सिङमा बागमती र एपीएफ च्याम्पियन

blog

पुरुषतर्फ च्याम्पियन बागमती प्रदेशका खेलाडी । तस्बिर सौजन्य : राखेप

काठमाडौं, चैत २५ गते । बागमती प्रदेश र नेपाल एपीएफ क्लब वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेका छन् । बागमती पुरुष तथा एपीएफ महिलामा च्याम्पियन बनेका हुन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा भएको प्रतियोगितामा बागमती १ स्वर्ण, ३ रजत र २ कांस्यसहित टिम च्याम्पियन बन्यो । ६ स्पर्धा समावेश पुरुषतर्फ एपीएफ, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाल प्रहरी र लुम्बिनीले पनि समान १–१ स्वर्ण जिते ।


बागमती रजतका आधारमा पहिलो भएको हो । एपीएफले स्वर्ण बाहेक २ रजत र १ कांस्य जितेको थियो । महिलामा पनि ६ वटै स्पर्धामा भिडन्त भएकोमा एपीएफले ३ स्वर्ण, १ रजत र १ कांस्य जित्दै टिम च्याम्पियनको ट्रफी चुम्यो । बागमतीले २ स्वर्ण तथा प्रहरीले १ स्वर्ण हात पारे ।

वीर गणेशमान सिंह फाउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह खेलकुद समितिद्वारा आयोजित प्रतियोगिताको पुरुषमा रविन थापा उत्कृष्ट खेलाडी घोषित हुनुभयो । महिलामा आइबा विश्व बक्सिङ च्याम्पियनसिपमा दुई ‘बाउट’ जितेर नेपाली बक्सिङमा इतिहास रच्नुभएकी अन्जनी तेली उत्कृष्ट खेलाडी हुनुभयो । 

बागमतीकाद्वयले उत्कृष्ट भएवापत जनही २५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । रविन र अन्जनी आ–आफ्नो स्पर्धाका स्वर्ण जित्नुभएको हो ।प्रतियोगिताको अन्तिम दिन १२ वटै स्वर्णको छिनोफानो भएकोमा पुरुष ५१ केजी तौलसमूह फाइनलमा रविन थापाले फाइनलमा एपीएफका आश तामाङलाई पराजित गर्नुभयो । 

५७ केजीमा कोशीका सुरेन्द्र राई पहिलो हुनुभयो । उहाँले फाइनलमा बागमतीका शुलभ मालीलाई हराउनुभयो । ६३.५ केजीमा साग स्वर्णधारी प्रहरीका भूपेन्द्र थापा पहिलो हुनुभयो ।

उहाँले फाइनलमा एपीएफका सोनाम सार्कीलाई पाखा लगाउनुभयो। ७१ केजी फाइनलमा सुदूरपश्चिमका भरत चन्दले कोशीका प्रशान्त दाहालमाथि जित रच्दै शीर्ष स्थान कब्जा गर्नुभयो । ८० केजीमा लुम्बिनीका हेमराज रावलले बाजी मार्नुभयो । ९२ केजी फाइनलमा एपीएफका रविन नेपालले बागमतीका उमङ महर्जनलाई हराउदै स्वर्ण चुम्नुभयो । 

महिला ५० केजीमा एएसबीसी यू–२२ बक्सिङ च्याम्पियनसिपमा रजत जित्दै इतिहास कायम गर्न सफल बागमतीकी सुष्मा तामाङ पहिलो हुनुभयो । सुष्माले फाइनलमा मधेश प्रदेशकी अस्मिता दुवाललाई निराश पार्नुभयो । 

५४ केजीमा बागमतीकी एन्जनी तेली, ५७ केजीमा प्रहरीकी निशा तामाङ, ६० केजीमा एपीएफकी संगिता सुनुवार, ६६ केजीमा एपीएफकी विनिता थापामगर तथा ७५ केजीमा एपीएफकी सरस्वती रानामगरले पहिलो स्थान हात पार्नुभयो । प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः २५ हजार, १५ हजार र ७५/७५ सय रुपियाँ पुरस्कार प्राप्त गरे । 

विजेतालाई पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहलगायतले पुरस्कार प्रदान गर्नुभयो । नेपाल बक्सिङ संघको प्राविधिक सहयोगमा भएको पाँचदिने प्रतियोगितामा पुरुष/महिलामा समान ५४–५४ गरी १ सय ८ खेलाडीले भाग लिएका थिए ।