• ६ जेठ २०८१, आइतबार

एन्जल हार्ट सेमिफाइनलमा

blog

मङ्गलबारको खेलमा प्लेयर अफ दि म्याचलाई पुरस्कार प्रदान गरिँदै ।

काठमाडौँ, वैशाख २५ गते । एन्जल हार्ट स्कुल जयकुमार नाथ शाह स्मृति यु–१६ टी–२० अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

मूलपानी क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा एन्जल हार्टले केएमसी स्कुललाई चार विकेटले हरायो । एन्जल हार्ट अपराजित रहँदै सेमिफाइनल पुगेको हो । लगातार तेस्रो जितसँगै ६ अङ्क बनाएको एन्जल हार्ट समूह ‘सी’ को शीर्षस्थानमा छ । पराजित केएमसीको दुई अङ्क छ । 

जितका लागि केएमसीले दिएको एक सय ६२ रनको लक्ष्य एन्जल हार्टले १९.३ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको हो । एन्जल हार्टका लागि युवराज खत्रीले ४९, जोय थापाले ३६ र प्रयुश उप्रेतीले २८ रन बनाउनुभयो । बलिङमा केएमसीका प्रश्रब नेपालले दुई तथा स्मिथ यादवले एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको केएमसीले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ६२ रन बनाएको थियो । केएमसीका लागि अभिषेक शाहले सर्वाधिक ७१ रन बनाएपनि टोलीको हार टरेन ।

अपिल शर्माले २२ र साइमन बन्जाराले १८ रन बनाउनुभयो । बलिङमा एन्जल हार्टका सन्दीप साउदले तीन तथा युवराज खत्रीले दुई विकेट लिनुभयो ।