• १४ वैशाख २०८१, शुक्रबार

सीमा क्षेत्रको समस्या समाधान गर्ने प्रतिबद्धता

blog

नेपालको प्रमुख नाका मेचीनगरको काँकडभिट्टा । तस्बिर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल

दमक, चैत १० गते । भारतसँग सीमा जोडिएको झापामा सीमा क्षेत्रमा रहेका समस्या सामधान गर्न प्रयत्न गर्ने सरोकारवालाले प्रतिबद्धता जनाउनुभएकोछ । खुला सीमाको फाइदा उठाउँदै भइरहेका अवैध कारोबार रोक्न, कुखुरा तथा मासुजन्य पदार्थको अवैध आयातलाई निरुत्साहित गर्न, नेपालतर्फ आएर भारतीय गाडीले गर्नेगरेको मनोमानी रोक्न, सुपारीको विषयमा देखिएको समस्या समाधान गर्न स्थानीयले माग गरेपछि सरोकारवालाले सो प्रतिबद्धता जनाउनुभएको हो ।

मेचीनगर नगरपालिकाको संयोजनमा सांसद, झापाका प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायत सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिले सीमामा देखिएका समस्या र बेथिति नियन्त्रण गर्न सबैको सहयोग आवश्यक रहेको भन्दै यसमा आफूहरु लाग्ने बताउनुभयो । 

मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले भारतीय सवारी साधनले नेपालकै सवारी साधनजस्तो यात्रु ओसारपसार गर्नेगरेको भन्दै सुरक्षा निकायको ध्यानाकर्षण गराउनुभयो । भारतीय पर्यटक तथा भारत जाने नेपालीको सहजताका लागि दिएको सुविधा दुरुपयोग हुन भएन भन्ने हाम्रो माग हो, उहाँले भन्नुभयो ।

छलफलमा खुला सिमानाका कारण हुने अवैध ओसार–पोसारको विषयमा पनि गम्भीरतापूर्वक छलफल भएको छ । खुला सीमाको गलत फाइदा उठाउँदै अहिले पनि अवैध रुपमा मासु तथा मासुजन्य पदार्थ नेपाल भित्रिरहेकोमा सम्बन्धित निकायले चिन्ता व्यक्त गरेको छ । 

जिल्ला कुखुरा व्यवसायी सङ्घका झापा अध्यक्ष विवेक निरौलाले भारतबाट भित्रिरहेका गुणस्तरहीन र सस्तो मासुजन्य पदार्थले यहाँका ब्यवसायीलाई ठूलो मार परेको बताउनुभयो । झापाको कुखुरापालन व्यवसाय नै बन्द हुने अवस्थामा पुगेको भन्दै अबैध कुखुराको आयात रोक्न उहाँले माग गर्नुभयो । 

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले खुला सिमानाका कारण जिल्लाबासीले भोग्नुपरेको समस्या तथा जनताले गरेका गुनासा सामधानका लागि आफूहरु लागिपर्ने प्रतिबद्धता जनाउनुभयो । स्थानीयका अपेक्षालाई सम्बोधन गर्न सम्बन्धित सबै निकायसँग समन्वय गरेर अघि बढ्ने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दुर्गाराज रेग्मीले आफूहरुको सीमा क्षेत्रका समस्या र हैरानीको बिषयमा जानकारी पाएको बताउँदै मातहतका सबै निकायलाई यस विषयमा निर्देशन दिइसकेको बताउनुभयो ।