• १४ वैशाख २०८१, शुक्रबार

२ करोड ७० लाख लगानीको कम्पोष्ट प्लान्ट भएन सञ्चालन

blog

सञ्चालनमा आउन नसकेको कम्पोष्ट प्लान्ट र वायोग्याँस प्लान्ट । तस्बिर : राजकुमार भट्टराई

राजकुमार भट्टराई 

खोटाङ, फागुन १५ गते । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –२ सोल्मामा निर्माण भएको कम्पोष्ट प्लान्ट र वायोग्याँस प्लान्ट लामो समय हुँदा पनि सञ्चालनमा आएको छैन् । अर्गानिक नगर बनाउने अभियान अन्तर्गत नगरपालिकाले अढाइ करोड खर्च गरेर निर्माण गरिएको प्लान्ट सञ्चालनमा आउन नसकेको हो ।

नेपाल सरकार अर्थमन्त्रालयको विशेष अनुदान एबं प्रदेश सरकारको गरी करिब २ करोड ७० लाखको खर्चमा निर्माण भएको दिक्तेल कम्पोष्ट प्लान्ट तथा नमुना कृषि स्रोत केन्द्र प्रदेश १ का तत्कालिन मूख्यमन्त्री शेरधन राईले २०७७ चैत २१ गते उदघाटन गर्नुभएको थियो । 

उदघाटन भएसँगै आवश्यक मल उत्पादन गरेर अर्गानिक नगरिकपालिका बनाइने तत्कालिन मेयर दिपनारायण रिजालले उदघोष गर्नुभएको थियो । प्लान्टबाट उत्पादित मलको मूल्या प्रतिबोरा पाँचसय निर्धारण गरिएको छ । हालसम्म उत्पादन भएका मलमध्ये करिब ४० बोरा मात्र ‘क्यास’ बिक्री भएको छ । १५० बोरा मल नगरपालिका दिक्तेलस्थित सपिङ कम्प्लेक्समै राखिएको छ । अन्य मल अनुदानमा किसानलाई वितरण गरिएको नगरपालिकाले जनाएको छ । 

कम्पोष्ट प्लान्टबाट उत्पादित मल गोठभन्दा कैयौं गुणा मलिलो भए पनि महत्व बुझाउन नसक्दा किसानले बेवास्ता गरेको दिक्तेलका किसान भूमिराज खत्रीले बताउनुभयो । “कम्पोष्ट प्लान्टको प्राङ्गारिक मल उपयोगी छ । मैले प्रयोग गरेर हेरेँ । गोठको गोबरभन्दा कैयौं गुणा राम्रो छ” खत्रीले भन्नुभयो, “तर यसको महत्वबारे किसानलाई बुझाउन सकिएको छैन । नगरका सबै किसानले प्रयोग गर्ने हो भने मलको माग धान्न गा¥हो हुन्थ्यो ।” 

कम्पोष्ट प्लान्टको मललाई किसानले आफ्नो गोठको मलसरह ठानेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषि शाखाका कृषि प्रशार अधिकृत तेजप्रकाश जैसीले बताउनुभयो । “उदघाटनलगत्तै एक लट मल उत्पादन भयो । परीक्षण गर्दा मलको क्वालिटी राम्रो छ । बजार मूल्य बढी भयो भनेर किसानले रुचाएनन् । नियमित खपत नभएपछि धेरै मल उत्पादन गर्न सकिएन” उहाँले भन्नुभयो ।  

अब निजी संस्था वा साझेदारी संस्थामार्फत सञ्चालन गर्नेगरी कार्यविधि तयार गरेको नगरपािलकाले जनाएको छ । निजी संस्थालाई सञ्चालन गर्न दिन चाँडै टेण्डर आह्वान गरिने नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताउनुभयो । 

नेपाल सरकारको विशेष अनुदानस्वरुप प्राप्त भएको ३ करोड ३२ लाखमध्ये कम्पोष्ट प्लान्ट र वायोग्याँस प्लान्ट निर्माणमा १ करोड ८५ लाख खर्च भएको छ । अन्य रकम दुई वटा ट्याक्टर खरिद, दिक्तेलबजारमा डस्टविन राख्न तथा डम्पिङसाइट पुग्ने सडक मर्मतमा खर्च गरिएको थियो । कम्पोष्ट र वायोग्याँस प्लान्टको काममा प्रदेश सरकारको सशर्त अनुदान ५० लाख र नगरपालिकाको आन्तरिक स्रोतबाट ३५ लाख खर्च भएको छ ।