• १४ वैशाख २०८१, शुक्रबार

स्वास्थ्यकर्मी नहुँदा प्रसूति गृहको सेवा बन्द

blog

नवीनशिशिर विक

बागलुङ, फागुन ४ गते । बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराको स्थित भीमापोखरा स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा प्रसूति सेवा प्रभावित भएको छ । 

प्रसूति गृहमा खटिनु पर्ने अनमी दरबन्दीका जनशक्ति नहुँदा सेवा अवरुद्ध भएको हो । भीमापोखराका गर्भवतीहरू गर्भ परीक्षण तथा प्रसूति सेवाको लागि सदरमुकाम बागलुङ बजार जान बाध्य छन् । 

जनशक्ति अभावमा प्रसूति गृहका सेवा पूर्ण रूपमा बन्द छ । जनशक्ति अनुसारका अन्य जनशक्ति नहुँदा स्वास्थ्य सेवा पनि प्रभावित बनेको छ । स्वास्थ्य चौकीमा दुई जना सिनियर अहेब, दुई जना अनमी, एक जना हेल्थ असिस्टेन्ट र कार्यालय सहयोगी गरी ६ जनाको दरबन्दरु रहे पनि हाल एक जना हेल्थ असिस्टेन्ट र कार्यालय सहयोगीको भरमा स्वास्थ्य चौकी सञ्चालन भइरहेको छ । 

दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा गाह्रो भएको भीम|पोखरा चौकीका हेल्थ असिस्टेन्ट आशिष् सापकोटाले बताउनुभयो । स्वास्थ्य चौकीमा ७ महिनादेखि दुई अहेब र एक अनमीको दरबन्दी रिक्त छ । कोभिड सङ्कटको बेला स्वास्थ्य चौकीमा कार्यरत एक जना एक जना सिनियर अहेब गाउँपालिकाले बोलाए पनि फिर्ता गरेको छैन । 

स्वास्थ्य चौकीका कार्यरत दुई जना अनमी मध्य एक जना अनमी अध्ययन बिदा र एक जनाले माघ पाँच गते अनिवार्य अवकाश लिएपछि प्रसूति सेवा पूर्णरुपले बन्द भएको हो ।  ‘साधारण स्वास्थ्य सेवा त म एक्लै गरिरहेको छु,’ हेल्थ असिस्टेन्ट सापकोटाले भन्नुभयो–‘‘बर्थिङ सेन्टरको काम अहिले पूर्ण रूपमा प्रभावित छ ।’’ 

काठेखोला गाउँपालिका–६ को विहुँकोट स्वास्थ्य चौकी पनि एक जना अनमीको घरमा सञ्चालन भएको हर्कबहादुर कँडेलले जानकारी दिनुभयो । घर नजिकै स्वास्थ्य चौकी रहे पनि सामान्य बिरामी हुँदा जिल्ला सदरमुकाम बागलुङ बजार पुग्नुपर्ने अवस्था रहेको कँडेलले गुनासो गर्नुभयो । 

काठेखोला गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख एवम् जनस्वास्थ्य अधिकृत लामाले अति आवश्यक क्षेत्रमा जनशक्ति खटाउने तयारी भइरहेको बताउनुभयो ।  ‘गाउँपालिकाका अन्य वडामा पनि दरबन्दी अनुसारको स्वास्थ्यकर्मी छैनन् । ‘अनमी नहुँदा प्रसूति सेवा प्रभावित भएको जनगुनासो आएको छ,’ प्रमुख लामाले भन्नुभयो–‘अन्य ठाउँको कर्मचारीलाई केही समयलाई पठाउने तयारी गरेका छौँ ।’ 

गाउँपालिकाभित्र आठ स्वास्थ्य चौकी र ४ सामुदायिक स्वास्थ्य इकाई रहेको काठेखोला गाउँपालिकामा ४४ जनाको दरबन्दी रहे पनि अहिले २९ जना मात्र कार्यरत रहेका छन् । १५ जनाको दरबन्दी खाली छ । प्रदेश र सङ्घ सरकारलाई दरबन्दीबारे जानकारी गराए पनि कर्मचारी नपठाएको उहाँको भनाई छ । 

करारमा कर्मचारी भर्ना गरेर भए पनि सेवा दिने सोच बनाए पनि आर्थिक नियमावली र स्वास्थ्य ऐनले रोकेका लामाको भनाई छ । ‘करारमा कर्मचारी भर्ना गर्न पनि ऐनले रोक्यो,’ उहाँले भन्नुभयो–‘दरबन्दी अनुसारको कर्मचारी पटाइदिनुस् भनेर प्रदेश र केन्द्रलाई भन्दा पनि अन्य पालिकामा पठाउनुभयो हाम्रोमा पठाउनुभएन ।’

भीमपोखरा स्वास्थ्य चौकी । तस्बिर: नवीनशिशिर विक