• १४ वैशाख २०८१, शुक्रबार

माघेसङ्क्रान्तिमा हुर्रा नाच

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २ गते । मादल, बाँसुरी, खैँजडीसहित हुर्राको आकर्षक भाका ‘हुर्रा हा..हा...’ र ‘देशैै रमाइलो...’ले रौनकता छाएको थियो । मगर समुदायले माघ १ गते मनाउने माघेसङ्क्रान्तिमा मादल, दमाहा र बाँसुरीका साथमा हुर्रा नाचको रौनकमा सबै रमाइरहेका थिए । मौलिक वेशभूषामा सजिएका महिला र पुरुष नाचमा रमाइरहेका थिए । 

मगर सङ्घका अध्यक्ष नवीन रोकामगर भन्नुहुन्छ, “तिहार र माघेसङ्क्रान्तिमा सिङ्गो मगर समुदाय मात्र नभएर अन्य जातजाति पनि हुर्रा नाचेर साथ दिने गरेका छन् । गीतको भाका रमाइलो र नृत्य सहज भएकाले मगर समुदायसँगै अन्य जातजातिकाले पनि हुर्रा मन पराउँदै आएका छन् ।” आफ्नै मौलिक पहिरनमा युवायुवती नृत्य र वाद्यवादनमा सहभागी थिए भने वृद्धवृद्धा गीतको भाका हाल्न व्यस्त थिए ।

पुरुषहरू ऐथे, छड्के पटुकी, चौबन्दी, छप्के, खुर्पेटोमा सजिएका थिए भने महिला चोलो, पोते, चुरा, गादा, लुङ्गी, मारुली, तिलहरी तथा शिरबन्दीमा सजिएका थिए । मगर समुदायका निम्ति माघेसङ्क्रान्ति (माघे सकराती) विशेष गरी छोरी, चेलीबेटीहरूको पर्व भएको बताउँदै हर्कबहादुर धर्तीमगरले भन्नुभयो, “यो चाड चेलीबेटीहरूको पूजा गरी मनाउने चलन छ ।” 

उहाँले चेलीहरूलाई पुज्नका लागि मिश्रा दिने जानकारी दिँदै ‘मिश्रा’ अर्थात् उपहार भएको बताउनुभयो । “सङ्क्रान्तिमा चामल, फलफूल, तरुल, रोटीलगायतका परिकार जम्मा गरेर चेलीबेटीलाई दिने गरिन्छ । त्यसैलाई नै मिश्रा भनिन्छ,” उहाँले पुष्टि गर्नुभयो । 

माघेसङ्क्रान्ति (माघ १ गते)का दिन बिहान सबेरै उठेर स्नान गरी बुबा, दाजुभाइले चेलीबेटीलाई भेला गराएर मिश्रा चढाई पुज्ने गर्छन् । घरमा उपस्थित सम्पूर्ण दिदी–बहिनीको पूजा गरिसकेपछि फेरि विवाहित चेलीहरूको घरघरमा पुगेर मिश्रा बाँड्ने चलन पनि रहेको छ ।