• २६ वैशाख २०८१, बुधबार

‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ एकसाथ प्रदर्शन

blog

काठमाडौँ,  पुस २९ गते । दुई नेपाली चलचित्र ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ एकसाथ प्रदर्शन भइरहेका छन् । केही समययता सातामा एकमात्र नेपाली चलचित्र प्रदर्शन भइरहेको थियो । यद्यपि यो साता तिम्रो मेरो साथ र गुञ्जन प्रदर्शन गरिएको छ ।

प्रेमकथामा आधारित चलचित्र माघे सङ्क्रान्तिलाई लक्षित गर्दै प्रदर्शनमा आएको हो । साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का र सन्दीप क्षेत्रीको मुख्य भूमिका रहेको ‘तिम्रो मेरो साथ’ले चितवन प्रिमियममार्फत सकारात्मक प्रतिक्रिया बटुलेको निर्मातासँगै निर्देशक रहनुभएका रमेश एमके पौडेलले जानकारी दिनुभयो ।

“प्रेमकथालाई दर्शकले रुचाउनुभयो । निर्माताका रूपमा अन्य चलचित्रमा आबद्ध भएपनि निर्देशनमा डेब्यु गर्दा नयाँ अनुभव भइरहेको छ”, उहाँले भन्नुभयो । सवीर श्रेष्ठको कार्यकारी निर्माण र लेखन रहेको उक्त चलचित्रमा शिव ढकालले छायाङ्कन, सुवाष भुसाल÷योगेश काजीको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी र भूपेन्द्र अधिकारीले सम्पादन गर्नुभएको छ ।

यस्तै द्वन्द्व निर्देशकका रूपमा दुई दशकदेखि सक्रिय रहनुभएका अष्टमान महर्जनले ‘गुञ्जन’मार्फत चलचित्र निर्देशनमा डेब्यु गर्नुभएको छ । “मैले द्वन्द्वप्रधान चलचित्र बनाउँछु अपेक्षा धेरैमा थियो । यद्यपि निर्देशक बन्दै गर्दा मैले राम्रो कथालाई रोजेको हुँ”, उहाँले भन्नुभयो । हीराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाहीको निर्माणमा बनेको उक्त चलचित्रमा सारा श्रीपालि, कविर खड्का, प्रितमराज सेन्चुरी, सरोज खनाल, हिउँवाला गौतम, ऋचा थापा, रोहन शाही, निरुता स्याङतान, कञ्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, अमेश न्यौपानेलगायतले  अभिनय गर्नुभएको छ ।

चलचित्र गुञ्जनमा महेश दवाडीको लेखन, राजेश श्रेष्ठको छायाङ्कन, कविराज गहतराजको नृत्य निर्देशन र विपिन मल्लको सम्पादन रहेको छ ।