• ७ जेठ २०८१, सोमबार

आमा लघुकथा सङ्ग्रह विमोचित

blog

गोरखापत्र अनलाइन 

तनहुँ, वैशाख २६ गते । जिल्लाको भानु नगरपालिका निवासी विद्या ढकालद्वारा लिखित आमा लघुकथा सङ्ग्रहको आज एक कार्यक्रमबिच विमोचन गरिएको छ ।

लेखक ढकालकै जन्मस्थान भानु नपा ४ ठाँटीको चौर कालिका बाल उद्यानमा भाषा आयोगका सदस्य डा. पुष्करराज भट्ट तथा स्थानीय ८६ वर्षीय आमा लक्ष्मीकुमारी मल्लले संयुक्त रुपमा सो पुस्तकको विमोचन गर्नुभयो । 

त्रिसठ्ठी लघुकथा समेटिएको सो लघुकथा सङ्ग्रहका कथाहरूको साहित्यकार मेदिनी शर्मा चुँदेलीले विवेचना गर्नुभयो । उहाँले शहरको तडकभडकमा नपरी आफ्नै गाउँमा कृतिको  विमोचन गराएकोमा  कथाकारलाई धन्यवाद दिनुभयो । पदम कार्की, भरत अधिकारी, जयहरि ढकाल, हर्कबहादुर थापा, शिक्षक अमृतप्रसाद मिश्र, पार्वती खनाल, ऋषिराम पन्तलगायतले कृतिको समीक्षाका साथ आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो । 

कृतिकार ढकालले आफ्नो लघुकथा लेखनको अनुभवका साथै अथितिलगायत उपस्थितहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । मातातीर्थ औँसीको दिनमा सम्पूर्ण आमाहरूको सम्मानस्वरूप आफ्नो आमा लघुकथा सङ्ग्रह सार्वजनिक गर्न पाएकोमा गौरवको अनुभूति भएको बताउनुभयो । 

डा. भट्टले नेपाली लघुकथाका प्रवृत्तिहरूको चर्चा गर्दै ढकालका कथामा अहिलेको युग बोल्नुका साथ समाजमा व्याप्त विकृति बिसङ्गतिहरूमाथि कडा प्रहार गरिएको बताउनुभयो । स्थानीय साहित्यकार तथा ज्येष्ठ नागरिक वासुदेव शर्मा ढकालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन शिवशङ्कर पौडेल तथा स्वागत प्रकाशक शान्ता ढकालले गर्नुभएको थियो ।