• १५ जेठ २०८१, मङ्गलबार

‘गाउँ आएको बाटो’ को टिजर सार्वजनिक

blog

काठमाडौँ, वैशाख २५ गते । टोरोन्टो र बुसान चलचित्र महोत्सवमा चर्चा बटुलेको चलचित्र ‘गाउँ आएको बाटो’ अब नेपालमा प्रदर्शन हुने भएको छ । उक्त चलचित्रको निर्माण पक्षले सोमबार टिजर सार्वजनिक गरेको छ । टिजरमा परम्परागत जीवनशैली र आधुनिक परिवर्तनबिचको सङ्घर्ष चलचित्रको कथाले देखाउन खोजेको सङ्केत गर्छ । 

चलचित्रले पूर्वी नेपालको हिमाली क्षेत्रमा बाँसको चोयाबाट डोको, डालो बनाएर जीवनयापन गरिरहेकाको जीवनमा गाउँमा मोटरबाटो भित्रिएसँगै आएका आधुनिक परिवर्तन र सङ्घर्षको कथा पेस गर्न खोजेको निर्माण पक्षले जनाएको छ । परम्परागत जीवनशैलीमाथि के गर्ने भनेर मूल पात्रले लिने निर्णयमा चलचित्रको कथा केन्द्रित छ । 

आउँदो जेठ २५ गते प्रदर्शनमा आउन लागेको चलचित्रमा दयाहाङ राई, पशुपति राई र प्रसान राई प्रमुख भूमिकामा छन् । चलचित्रलाई नवीन सुब्बाले निर्देशन गर्नुभएको पटकथा सुब्बाले महेश राईसँगको सहकार्यमा लेख्नुभएको छ । मेन्छ्याम पिक्चर्स र बाँसुरी फिल्म्सको संयुक्त ब्यानरमा बनाइएको चलचित्रको निर्माता अमोद राई र निर्देशक सुब्बा हुनुहुन्छ ।