नागरिक र सेनाको सम्बन्ध

sameer basnetसमीर बस्नेत

 

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपालको एकीकरण अभियान शुरु गर्नुभन्दा पहिले नै वि.सं. १६१६ भदौ १५ गते गोरखाका राजा द्रव्य शाहले बलियो सैनिक सङ्गठनको परिकल्पना गरेको देखिन्छ । हुन त त्योभन्दा पहिलेको नेपालमा पनि विभिन्न कालखण्डमा कुनै न कुनै रूपमा सुरक्षाकर्मीको सङ्गठन भएको इतिहासकारले उल्लेख गरेका छन् ।
‘राष्ट्रभक्तिको झलक पुस्तकमा सरदार भीमबहादुर पाँडेले काजी भगिरथ पन्त (पन्थ) को अगुवाइमा द्रव्य शाहकै पालामा पहिलो गुल्म गठन भएको उल्लेख गरेका छन् । आधुनिक नेपालको स्थायी स्वरूपको सैन्यबल भने पृथ्वीनारायण शाहबाट वि.सं. १८१९ मा पाँच वटा कम्पनीको गठन भएसँगै स्थापना भएको मानिएको छ । त्यसपछिका दिनमा जनताको हितका लागि विभिन्न परोपकारी काम र माटोको रक्षाका लागि सेनाको सङ्गठन विस्तारित हुँदै गएको देखिन्छ ।
लम्जुङका राजा रिपुमर्दन शाह र पृथ्वी नारायण शाहबीच भेटघाट गराउन कालु पाँडेका छोरा वंशराज पाँडेको समेत भूमिका रहेको पाइन्छ भने रिपुमर्दनका छोरा वीरमर्दनसँग वंशराजले मित लगाएका कारण लमजुङ र गोरखाको सम्बन्धलाई सैन्य कूटनीतिका माध्यमबाट बलियो बनाउन वंशराजले भूमिका खेलेको देखिन्छ ।
पृथ्वीनारायण शाहको उदय हुनुभन्दा पहिला ससाना राज्यमा विभाजित नेपाल केही वर्षसम्म कमजोर थियो । लिच्छवि राजाहरूका पालामा भने नेपाल निकै सुदृढ रहेको र सैन्य सङ्गठनसमेत प्रबल भएको पाइन्छ । इतिहासको अध्ययन गर्दा नेपाली सेनाले जहिले पनि राष्ट्र र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्दै आएको देखिन्छ । सैनिक दिवसको सन्दर्भमा पुराना दिनको सम्झना गर्दा हामीले नेपाल एकीकरण र त्यसपछिका वर्षमा राष्ट्रलाई बचाइराख्ने पवित्र काममा समर्पित रहेका सबैप्रति सम्मान व्यक्त गर्नैपर्ने हुन्छ । नेपालको निर्माण र आधुनिकीकरणमा जनतासँग मिलेर नेपाली सेनाले खेलेको भूमिकाबारे विभिन्न इतिहासकारले प्रशंसा गरेका छन् ।
अङ्ग्रेज तथा मुसलमान शासकले नेपालमा हमला गर्दा त्यसको सशक्त मुकाबिला गरेर नेपाली सेनाले देशको माटो बचाउन जुन योगदान गरेको छ, त्यसको संसारका विभिन्न इतिहासकारले प्रशंसा गरेका छन् । गुरगिन खानको नेतृत्वमा नेपालमा हमला गर्न आएको सेनालाई गोरखाली सेनाले घेरामा पारेर एक हजार सात सयभन्दा बढी वैरीका सैनिकलाई मारेको र उनीहरूबाट पाँच सय नाल बन्दुक र दुई नाल तोप जफत गरेको कुरा इतिहासकार सोमध्वज विष्टले उल्लेख गरेका छन् ।
यस्तै अङ्ग्रेजसँगको युद्धमा नेपालले पाएको सफलता विश्वकै अत्यन्त उल्लेखनीय घटना मानिन्छ । सिन्धुलीगढीको लडाइँमा नेपाली (गोरखाली) सेनाले दुई हजार चार सयको सङ्ख्यामा आएका आक्रमणकारी अङ्ग्रेज सैनिकमध्ये झण्डै एक हजार छ सयलाई मारेको इतिहासकारले उल्लेख गरेका छन् । व्यक्तिगत स्वार्थ, लोभ र सुख सयलबाट मुक्त रहेर विभिन्न समयमा नेपाली सेनाले गरेका लडाइँ विश्वमै प्रसिद्ध छन् । त्यसैले अङ्ग्रेज इतिहासकारहले समेत नेपाली सेनाको प्रशंसा गर्दै इमानदारी, मिहिनेत, लगन र सौर्यका निम्ति नेपाली सेना अद्वितीय रहेको उल्लेख गरेका हुन् ।
भारतमा इष्टइन्डिया कम्पनीको नाममा अङ्ग्रेज शासकले आफ्नो प्रभाव बढाइरहेका बेला नेपालमा हमला गरेर यहाँका सम्पूर्ण स्रोतसाधन कब्जा गर्न खोजेको देखिन्छ । हिमाल, तराई र पहाडमा अजस्र जलस्रोत, खानीलगायत विभिन्न सम्पदा भएको एवं भौगोलिक रूपले समेत सुन्दर नेपाललाई अङ्ग्रेजले कब्जा गर्न चाहेको थियो ।
राजा प्रतापसिंह शाहको मृत्युपछि बालक राजा रणबहादुर शाहको समयमा राजमाता राजेन्द्र लक्ष्मीले राज्यको कार्यभार सम्हालेकी थिइन् भने त्यतिबेला राज्यसत्ता कमजोर भएको मौका छोपेर बाइसे चौबीसे राजाले पुनः हमला गर्ने र आफ्ना गुमेका राज्य फिर्ता गर्दै नेपाललाई पुनः विभाजनको संघारमा पु¥याउने योजना बनाएका थिए । तर, पृथ्वीनारायण शाहका भाइ महोद्दमकीर्ति शाहका छोरा बलभद्र शाहले सेनालाई बलियो बनाउँदै पृथ्वीनारायण शाहको अभियानलाई कमजोर हुन दिएनन् ।
पछिल्ला चरणमा बडाकाजी अमरसिंह थापा, मुलकाजी कीर्तिमान सिंह बस्न्यात, काजी दामोदर पाँडे, भीमसेन थापा, रणजङ्ग पाण्डे, माथबरसिंह थापा, अभिमानसिंह राना मगर आदिले नेपाली सेनाको सुदृढीकरणमा योगदान गरेको विभिन्न इतिहासकारले लेखेका छन् ।
चीनले हमला गर्दा सीमित स्रोत साधन भएको सेनाको मनोबल गिर्न नदिई दामोदर पाँडेले देखाएको साहस, बुद्धिमानी, विवेक र चातुर्यको समेत इतिहासकारले प्रशंसा गरेका छन् । कालु पाँडेको मृत्युपछि पृथ्वीनारायण शाहको संरक्षणमा हुर्किएका कालुका छोरा दामोदरले पूर्वतर्फको विजय अभियान अगाडि बढाउँदै कैयौँ भूखण्डलाई नेपालमा मिलाउने काम गरेका थिए भने पश्चिमका विभिन्न भागमा भएको युद्धमा आफैँ सहभागी भएका थिए ।
वेत्रावतीको लडाइँमा दामोदर पाँडेले देखाएको वीरता र चातुर्य इतिहासमा निकै रोचक मानिन्छ । हजारौँ चिनियाँ सैनिकलाई परास्त गर्न उनले नुवाकोट र रसुवाका गाउँहरूबाट हजारौँ गाईवस्तु भेला पारेर साँझपख ती पशुका सिङमा राँको बालि चिनियाँलाई लखेटेको प्रसङ्गलाई इतिहासकारले उल्लेखनीय मानेका छन् । दुर्भाग्य नै भनौँ, षड्यन्त्रको शिकार भएर ५२ वर्षकै उमेरमा दामोदर पाँडेलाई मृत्युदण्ड दिइएको थियो भने उनका दाजु वंशराज पाँडेलाई समेत काटिएको इतिहासकारले बताएका छन् ।
सहज, असहज र विषम परिस्थितिमा सेनाले आफूसँग भएका घरेलु हतियार र सीमित स्रोत साधनबाट पनि वैरीलाई परास्त गर्न खेलेको भूमिका उल्लेखनीय मानिन्छ । नेपाली जनताको सहयोग र समर्थन बेगर ती सबै कुरा सम्भव हुने थिएनन् । गाउँ नै गाउँले भरिएको नेपालमा गाउँबाट आएर सेनामा भर्ति हुने र ग्रामीण जनजीवन बुझ्ने परम्परामा हुर्किएकाले उनीहरूले विकट भीर पहरादेखि लिएर अनेकौँ चुनौतीको सामना गर्दै युद्ध लडेको पाइन्छ ।
व्यक्तिगत सुख सुविधालाई सेनाले कहिल्यै पनि महŒव दिएन । बाढी पहिरो, भुइँचालो, अनावृष्टि, अतिवृष्टि आदि अनेकौँ जटिल अवस्थामा जनतालाई जबजब सङ्कट पर्छ, त्यसबेला नेपाली सेनाले अत्यन्त विकट ठाउँमा पुगेर पनि जनताको सेवा गरेको पाइन्छ । त्यसैले अहिले पनि कुनै सङ्कट आउनासाथ जनताले सेनालाई नै सम्झिने गर्छन् ।
पछिल्ला वर्षमा नेपाली सेनाले आफ्ना गतिविधिलाई अझ जनमुखी बनाउँदै गएको छ । गाउँ–गाउँमा विद्यालय निर्माण, बाटो निर्माण, झोलुङ्गे पुल, अस्पताल भवन, स्वास्थ्य चौकीलगायत विभिन्न विकास निर्माणका काममा सेना सक्रिय छ । राष्ट्र र जनताको हितमा यसरी केन्द्रित रहँदा कहिलेकाहीँ नकारात्मक टिप्पणी हुने गरेको छ ।
सङ्कटका बेला पीडितको उद्धार गर्ने, रोगी र घाइतेको स्वास्थ्य उपचारमा केन्द्रित रहने र प्राकृतिक एवं अनेकौँ विपत्तिबाट प्रभावित जनतालाई औषधि, खाद्यान्न र लत्ताकपडा समेत उपलब्ध गराउने काम गरेर सेनाले जनताकै हितमा आफूलाई केन्द्रित गरेको देख्दादेख्दै ती सबै कुरालाई बिर्सिन खोज्नु न्यायसङ्गत हुन सक्दैन ।
देशका विभिन्न ठूला सडक आयोजनादेखि राष्ट्र र जनताको विकाससँग प्रत्यक्ष चासो भएका परियोजनामा समेत सेनाले आफ्नो उपकरण, जनशक्ति र क्षमता प्रयोग गर्दै आएको देखिन्छ । हरेक कुरामा विदेशीको मुख ताक्नुभन्दा आफैँले केही काम गर्नु राम्रो हुने ठानेर स्थानीय जनताको सहयोगमा सेनाले विभिन्न काम गरेको देखिएको छ । पछिल्ला वर्षमा सेनाले हात हालेका परियोजना सफल भएको दृष्टान्तबाट प्रभावित भएर सरकारले राष्ट्रिय गौरवका महŒवपूर्ण आयोजना समेत सेनालाई जिम्मेवारी दिएर सक्रिय तुल्याएको पाइन्छ । यी सबै कुराका पछाडि सेनाको लगन, इमानदारी, मिहिनेत, अनुशासन र कर्तव्य परायण चरित्रले भूमिका खेलेको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds