• २७ वैशाख २०८१, बिहिबार

इन्टरनेट ब्यान्डविथ बन्न सकेन भरपर्दो विकल्प

blog

काठमाडौँ, पुस २९ गते । इन्टरनेट ब्यान्डविथमा एउटा मात्र देशसँगको निर्भरता हटाउने उद्देश्यसहित चीनबाट ब्यान्डविथ आयात सुरु भएको पाँच वर्ष पूरा भए पनि नेपालले अपेक्षित लाभ भने हासिल गर्न सकेको छैन । 

नेपाल टेलिकमले २०७४ पुस २८ गते चीनबाट व्यावसायिक रूपमा ब्यान्डविथ आयात सुरु गरेको थियो । त्यसअघि भारतमा मात्र निर्भर ब्यान्डविथ आयातको विकल्प खोज्दै रसुवाको केरुङ नाका हुँदै चीनसँग इन्टरनेटमार्फत नेपाल जोडिएको थियो ।  

‘नेपाल–चीन क्रस बोर्डर अप्टिकल फाइबर लिङ्क’ नाम दिइएको उक्त परियोजना अपेक्षाअनुसार विकल्प बन्न नसकेको त्यतिबेला उक्त परियोजनाको नेतृत्व लिनुभएका टेलिकमका नायब प्रबन्ध निर्देशक सङ्गीता पहाडीले बताउनुभयो । “हामीले जुन अपेक्षाका साथ उक्त परियोजनालाई भरपर्दो विकल्प बनाउन खोजेका थियौँ, त्यो अझै बन्न सकेको छैन,” उहाँले भन्नुभयो । 

खास गरी उत्तरी नाकातर्फको जटिल भू–बनोट र कोभिड–१९ सङ्क्रमणका कारण पनि चीनतर्फबाट ब्यान्डविथ आयात धेरै सहज हुन नसकेको पहाडीको भनाइ छ । “भूबनोटका कारण समयसमयमा फाइबरमा क्षति पुग्ने र कोभिड महामारीले गर्दा पनि यसलाई धेरै विस्तार गर्न सक्ने अवस्था रहेन,” उहाँले भन्नुभयो । 

यसबीचमा चीनबाट आयात गरिने इन्टरनेट क्षमता भने बढेको छ । चीनबाट ल्याउने इन्टरनेटको ब्यान्डविथ क्षमता विगतमा भन्दा बढेको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिनुभयो । सुरुमा चीनबाट आयात गरिएको इन्टरनेटको प्रारम्भिक गति १.५ जीबी थियो । अहिले उक्त क्षमता पाँच जीबीसम्म पुगेको छ । 

चीनबाट ब्यान्डविथ आयात गर्दा भारतबाट ल्याइएको भन्दा तुलनात्मक रूपमा बढी गतिसहितको हुने उल्लेख गरिएको थियो । भारतबाट ब्यान्डविथ आयात गरिए पनि नेपालले इन्टरनेट कन्टेन्ट भने सिङ्गापुरस्थित ट्रान्समिसन इक्विपमेन्ट सेन्टरबाट प्राप्त गर्छ तर चीनबाट आउने इन्टरनेट हङकङस्थित ट्रान्समिसन केन्द्रबाट चाइना टेलिकम्युनिकेसन्सले स्थल मार्गबाटै केरुङसम्म ल्याउँछ । 

सिङ्गापुरभन्दा हङकङस्थित ट्रान्समिसन केन्द्रसँगको दूरी नजिक पर्ने भएकाले पनि चीनतर्फको इन्टरनेटको गति तुलनात्मक रूपमा छिटो हुने टेलिकमको दाबी थियो । यद्यपि इन्टरनेट गतिमा खासै फरक नदेखिएको टेलिकमले जनाएको छ । 

चीनको राजधानी बेइजिङदेखि केरुङसम्म करिब चार सय किलोमिटर दूरी रहेको र फाइबरमा समस्या आउँदा तुरुन्त समाधान गर्न पनि समस्या भएकाले इन्टरनेट गतिमा पनि अवरोध हुने पहाडीले बताउनुभयो । 

टेलिकमले चाइना टेलिकम्युनिकेसन कर्पोरेसनसँग ब्यान्डविथ खरिद गरेर नेपाल ल्याउने गर्छ । भारततर्फ भने बीएसएनएल, एयरटेल र टाटाजस्ता ‘क्यारियर’मार्फत भैरहवा, वीरगञ्ज र विराटनगर नाका हुँदै इन्टरनेट ब्यान्डविथ आयात गरिन्छ ।  

समुद्रमुनि बिछ्याइएको फाइबर भारतका विभिन्न सहरमा जोडिँदै त्यहाँका ‘क्यारियर’मार्फत नेपाल आइपुग्ने गर्छ तर चीनतर्फ आउने इन्टरनेट हङकङस्थित ट्रान्समिसन केन्द्रबाट चाइना टेलिकम्युनिकेसन्सले स्थल मार्गबाटै केरुङसम्म ल्याइपु-याएको छ। 

तातोपानीमा फाइबर बिछ्याउन ढिलाइ

सुरुमा तातोपानी हुँदै अप्टिकल फाइबर जोड्ने योजना भए पनि भूकम्पका कारण काठमाडौँ–तातोपानी सडक क्षतिग्रस्त भएको र उक्त नाका नै लामो समय बन्द भएपछि टेलिकमले केरुङतर्फबाट परियोजना अगाडि बढाएको थियो ।

भूकम्पका कारण तातोपानीसम्म रहेको टेलिकमको पूर्वाधारमा पनि क्षति पुगेको थियो । उक्त पूर्वाधारलाई पुनस्र्थापना गर्दै तातोपानीबाट पनि चीनसँग अप्टिकल फाइबर जोड्ने परियोजना भने अहिलेसम्म पूरा हुन सकेको छैन ।

टेलिकमले भने उक्त क्षेत्रमा ट्रान्समिसन पूर्वाधार तयार भइसकेको जनाएको छ । थप उपकरण ल्याउन प्रक्रिया भने अघि बढाइएको नायब प्रबन्ध निर्देशक पहाडीले जानकारी दिनुभयो । टेलिकमले केरुङतर्फ कुनै समस्या हुँदा तातोपानीलाई विकल्पका रूपमा उपयोग गर्ने योजना बनाएको छ ।