• १४ वैशाख २०८१, शुक्रबार

तराईमा बाक्लो हुस्सु र शीतलहर, यातायात प्रभावित

blog

धनुषाको ढल्केबरस्थित पूर्वपश्चिम राजमार्गमा हुस्सुका कारण बत्ती बालेर चलेको ट्रक । तस्बिर – विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, पुस १८ गते । बाक्लो हुस्सु र शीतलहरका कारण धनुषालगायत तराई मधेशको जनजीवन कष्टकर बनेको छ । आज (सोमबार) बिहानैदेखि यहाँ बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सु र शीतलहरसँगै चलेको चिसो हावाका कारण सर्वसाधारण अत्यधिक चिसो महसुस गरिरहेका छन् । 

धनुषालगायतका क्षेत्रमा हिजो (आइतबार)सम्म बिहान बेलुका कुहिरो र चिसो लाग्ने र दिउँसो पारिलो घाम लाग्ने गरेको भए पनि आज बिहानदेखि बाक्लो हुस्सु र चिसो बढेको छ ।बाक्लो हुस्सु र शीतलहर बढेपछि बालबालिका, जेष्ठ नागरिक, सुत्केरी, गर्भवती, विपन्न, सडक र हवाई यातायात प्रभावित भएका छन् । विपन्न परिवार आगो तापेर तथा परालको भरमा चिसो काट्न बाध्य छन् । परालकै आगो ताप्ने र परालकै ओछ्यान बनाएर चिसोबाट जोगिने प्रयास गरिरहेका छन् ।

गणेशमान चारनाथ नगरपालिका–५ का जगदीश पासवानले चिसोबाट बच्न आगो ताप्नुबाहेक अरु उपाय नभएको बताउनुभयो । घरमा न्यानो लुगा नभएको बताउँदै उहाँले जाडोका कारण दैनिकी कष्टकर बनेको जानकारी दिनुभयो । 

जिल्लाको मिथिला नगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाले भने सर्वसाधारण तथा बटुवालाई आगो ताप्ने व्यवस्था मिलाएका छन् । यी दुबै स्थानीय तहले विपन्न बस्तीमा दाउरा वितरण तथा चोक–चोकमा आगो बालेका छन् । 

यस्तै, बाक्लो हुस्सु र शीतलहरका कारण सडक तथा हवाई यातायातसमेत प्रभावित भएका छन् । अन्य दिन बाक्लो चाप देखिने पूर्व–पश्चिम राजमार्गमा छिटपुट सवारीसाधन गुडेका छन् ।

ट्रकचालक रामाशङ्कर महतोले बाक्लो हुस्सुका कारण सवारी गुडाउन समस्या भइरहेको बताउनुभयो । मुस्किलले २० मिटरको दूरीसम्म राम्ररी देखिने गरेको बताउँदै उहाँले सुरक्षाका निम्ति बत्ती बालेर गाडी गुडाउने गरेको जानकारी दिनुभयो । 

बाक्लो हुस्सु र चिसो बढे पनि धनुषाको सामुदायिक तथा संस्थागत विद्यालयले सुचारु रहेको छ ।  मौसम विज्ञहरुले तराई मधेशलगायत देशको अधिकांश स्थानमा बाक्लो हुस्सु र शीतलहर बढ्ने सम्भावना रहेको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।