• १४ वैशाख २०८१, शुक्रबार

सर्लाहीमा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु

blog

जनार्जन खत्री
सर्लाही, पुस ७ गते ।
सर्लाहीको हरिवनमा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ । चिसो छल्न आगो तापिरहँदा हरिवन नगरपालिका–३, बस्ने टीकाराम रखालकी श्रीमती ५५ वर्षीया गोरीमाया रखालको मृत्यु भएको हो ।

हरिवन–३ का तुलसी हुमागाईँले सञ्चालन गरेको चिरान मिलमा कुरुवाको काम गर्दै आउनुभएका टीकारामकी श्रीमती गोरीमाया बुधबार साँझ आगोले शरीरका विभिन्न भाग जलेर गम्भीर घाइते हुनुभएको थियो ।

उहाँको प्रादेशिक अस्पताल मलङ्गवामा उपचारका क्रममा बिहीबार मध्याह्न १२ बजेतिर ज्यान गएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । आर्थिक रुपमा अतिविपन्न टीकारामले चिरान मिलमा काम गरेरै परिवारको गुजारा टार्ने गर्नुभएको थियो ।

स्थानीयका अनुसार गोरीमाया प्रायः अत्यधिक मदिरा सेवन गर्नुहुन्थ्यो ।

श्रीमान शौचालय गएका बेला गोरीमायाले लगाएको कपडाबाट शरीरमा अचानक आगो सल्किएको र तत्कालै उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको हरिवनका प्रहरी निरीक्षक मुकेश ताम्राकारले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामै राखिएको छ ।

अहिले कठ्याङग्रिदो चिसोमा आगो बालेर ताप्दा यस प्रकारको अप्रिय घटना हुने जोखिम हुने भएकाले सावधानी अपनाउन सर्लाही प्रहरीले आग्रह गरेको छ । तराईमा अहिले कठ्याङग्रिदो चिसो छल्न स्थानीयले घर तथा चोक बजारमा आगो बालेर तापिरहेका छन् ।

यसैबीच, हरिवन नगरपालिका–१, कैलाशपुरीमा रहेको मानव सेवाश्रममा करिब दुई वर्षदेखि बस्दै आउनुभएका एक पुरुष सुतेकै स्थानमा मृत फेला पर्नुभएको छ । अन्दाजी ४५ वर्षीय मनोज शर्मा बिहीबार बिहान सुतेकै स्थानमा मृत फेला पर्नुभएको हो ।