• १४ वैशाख २०८१, शुक्रबार

जितेन्दरको रिक्सा (कथा)

blog

हामी डेराबाट बाहिर निस्केर बाटोमा दुई पाइला मात्रै के हिँडेका थियौँ, रिक्सावाला मूल सडक छोडेर हाम्रै गल्लीमा, हाम्रै अगाडि आइपुग्यो । मूल सडकमा लहरै उभिएका अटोरिक्साहरू ग्राहकको प्रतीक्षामा थिए । तर  हामी आफ्नै अघिल्तिर आइपुगेको मान्छेले चलाउने प्याडलवाला रिक्सामा गएर बस्यौँ । मानिसहरू अटोरिक्सा चढ्न छोडर प्याडलवाला रिक्सा चड्न खोज्दैनन् । तर यसरी कसैले उनीहरूको रिक्सा नचढ्ने हो भने बिचराहरूले के कमाउन, के खाउन् ! त्यही भएर हामी भेटेसम्म प्याडलवाला रिक्सा नै चढ्न खोज्छौँ । 

“ओहो कस्तो गर्मी ! बिहान ९ बजे पनि यति गर्मी छ, पछि कसरी फर्किने होला यो गर्मी मा !”

मेरो मुखबाट अनायासै चिन्तासहितको उद्गार निस्कियो ।

“अरे ! त हजुरहरू नेपाली हुनुहुन्छ ? तर चेहराले त हजुरहरू बिल्कुल इन्डियनजस्तो देखिनुहुन्छ । मैले त त्यही भएर हिन्दीमै पुछिलिएको । अनि हजुर नेपालमा कुन ठाउँको हुनुहुन्छ ? कहिले आउनुभयो ? अनि कसकोमा बस्नुभएको छ ? रोग कसलाई लागेको ? कि अरूलाई नै लिएर आउनुभएको ? हजुरहरू दुवै जना त बिल्कुलै तन्दरुस्त देखिनुहुन्छ ?

नेपाली  बोलिरहेको रिक्सा चालकले हामीलाई नै उल्टै चकित पारिदियो । दिल्लीको यो ठाउँमा रोगी नेपालीबाहेक रिक्सा चालक नेपाली पनि भेटिएला भन्ने हाम्रो मनको एउटा कुनोमा पनि थिएन ।

“ए तिमी नेपाली पो रहेछौ ? अनि कसरी यहाँ दिल्लीमा रिक्सा चलाउन आइपुग्यौ ?”

“म नेपाली होइन नि हजुर ! म इन्डिय नै हँु । बोर्डरको मान्छे हो । रसकौल थाहा छ नि हजुर, बिहारको बोर्डर । हो त्यही नजिकै मेरो गाउँ हो । यहाँ आउनुभन्दा पहिले म रसकौल र वीरगञ्जमा रिक्सा चलाउँथे । अब रोजै दुई देशको बीचमा दिनभरि रिक्सा चलाउँदा नेपाली बोल्न त आइहाल्यो हजुर ।”

“रक्सौल किन थाहा नहुनु । कति वर्षसम्म वीरगञ्जमा मेरो काकाहरू बस्नु हुन्थ्यो । त्यही भएर वीरगञ्ज मेरो माइती । तिमी बुझ्छौ नि माइती भनेको मेरो मायका । अनि कलैयामा मेरो मामाको घर मतलब नानीहाल । अनि हामी बच्चादेखि नै रक्सौलमा खरिददारी गर्न र त्यहाँको ‘पवन टाकिज’मा सिनेमा हेर्न गइरहन्थ्यौँ । तिमीले पनि त त्यहाँ सिनेमा हेरेका होलाऊ । 

तर जितेन्दर रसकौल कि रक्सौल ?” मैले उसलाई जिस्क्याएँ ।

“खोई हजुर बचपनबाट आदत पडिगो । हाम्रो गाउँमा पनि हरकोई रसकौल ही भन्छ । अब जति रक्सौल भन्छु भने पनि मुहँ से रसकौल नै फिस्लिजान्छ ।”

कुरा गर्दा गर्दै उत्रिने ठाउँ आयो । अस्पतालको कम्पाउन्डको ढोकाबाट अलि उकालो उक्लिएपछि बल्ल भित्र छिर्ने मूल ढोका आउँछ । उसलाई माया गरेर रिक्सा त चढियो तर सूर्यले आगो सल्काइरहेको यो घामको ताप देखेरै मनको सातो गयो । अटोवालाहरू गुड्दै मूल भवनकै अगाडि यात्रुहरूलाई उतारिरहेका छन् । तर यो प्याडलवाला रिक्साले दुई जना मान्छेसहित त्यो उकालो उक्लिन सक्दैन ।

हामीले उत्रिन तरखर गर्नै लागेका थियौँ तर उसले मानेन । 

“अरे हजुर उतरनु पर्दैन । हजुरहरू यो धूपमा त्यति पैदल कहाँ जानुहुन्छ । अभैm जितेन्दरको बाहँमा हजुरहरूलाई त्यहाँसम्म लेकर चल्ने दम छ नि ।”

“जितेन्दर तिमीले हामीलाई यति पनि हिँड्न नसक्ने देख्यौ ? भो दुःख नगर हामी यहाँबाट हिँडेरै जान्छौँ ।”

तर जितेन्दरले मानेन हामीलाई रिक्साबाट उत्रिन नदिई आपूm भने उत्रिएर रिक्सा बलैले डो¥याउँदै उकाल्यो । रिक्सा रोकेर अनुहारभरि आएको पसिना उसले गर्दनमा भिरेको गम्छाले पुछ्यो । 

मलाई साह्रै माया लाग्यो । उसको हातमा बीस रुपियाँको साटो तीस रुपियाँ हालिदिएँ । उपचार गरुन्जेल अभैm कति समय यहाँ बस्नुपर्ने हो ! अभैm कतिपल्ट रिक्सा चढ्नु पर्ने हो, के थाहा र ! तर पनि यो गर्मीमा यत्ति मेहनतको कमाइ जम्मा बीस रुपियाँ । मन चसक्क भयो । के गर्नु त्यही बीस रुपियाँ पनि कोही आफ्नो रिक्सा चढ्ने ग्राहक आए मात्रै न पाउने हो ।

“त हजुरहरू कुन बेला फर्किने ? फर्किंदा पनि मेरै रिक्सामा आइलिनु होला । म भइनँ भने पनि अरूहरूसँग जितेन्दरको रिक्सा खोई भनेर सोधिलिनु होला । उनीहरूले बताइदिने छन् । नजदिक भए म दौडी दौडी  आइहाल्छु ।”

यसपालि हामी तीन महिनापछि दिल्ली आएका हौँ । गएको डिसेम्बरमा श्रीमान्को ६ डोजको किमो दिने काम सकेर, त्यसपछि टाउकोमा १० वटा रेडिएसन लगाएर हामी काठमाडौँ फर्केका थियौँ । डाक्टरले हामीलाई तीन महिनापछि आउनु भनेर फलोअपका लागि बोलाएका थिए । अहिले तीन महिनामा गरेका सामान्य परीक्षणहरूको रिपोर्टले दीपकज्यूमा  क्यान्सर फर्किएको छैन भन्ने डाक्टरहरूको निक्र्योल रह्यो । दीपकज्यूको स्वास्थ्य स्थितिले उहाँमा रोग फर्किएको छैन भन्ने हाम्रो अनुमान पुष्टि भयो ।

“म रोग मुक्त भइसकेँ भनेर नै उहाँले आफ्नो साथीहरूसँग यही मार्च महिनामा सिमला र कुल्लु, मनाली घुम्न जाने योजना बनाउनुभएको थियो । त्यसका लागि हामी भोलिपल्टै दिल्लीबाट प्रस्थान गर्नुपर्ने थियो । 

डाक्टरलाई सिमला तथा कुल्लु, मनालीमा त अहिले पनि रोजै हिउँ परिरहन्छ रे ! के दीपकज्यूले त्यहाँ जान मिल्छ ? भनेर सोध्यौँ । डाक्टरले दङ्ग पर्र्दै दिल्लीको यो प्रदूषणबाट जतिसक्दो चाँडो उम्किएर तिमीहरूलाई जहाँ जान मनलाग्छ त्यहीँ जाऊ भने । हाम्रो मन आनन्द, भयमुक्ति र सन्तोषको सप्तरङ्गी आकाशमा उडन थाल्यो । 

धेरै बेर भइसक्यो भन्ने सोचले होला । मनमा अटेसमटेस भएको खुसीले होला कि हामीले जितेन्दरलाई भुसुक्कै बिर्सियौँ र ढोकाबाट निस्किनेबित्तिकै आइपुगेको अटो रिक्सामा बस्यौँ ।

बाहिर ढोकैमा जितेन्दरको रिक्सा रहेछ । ऊ पछिल्लो सिटमा ढल्किएर आफ्नै गम्छाले अनुहारमा हम्किँदै थियो । उसलाई देखेर ग्लानिको नमीठो संवेदना मनभरि उब्जियो । कठै ऊ कतै हाम्रै आशमा त बसेको थिएन ?

दीपकज्यू क्यान्सरजस्तो रोगलाई पनि परास्त गरी अहिले पूर्ण रूपमा रोगमुक्त हुनुभएको छ भन्ने खुसी हाम्रा लागि कम्ती आल्हादकारी थिएन । मनभरि छताछुल्ल भइरहेको खुसीले आउँदै गरेको साँझलाई उल्लासमय बनाउन खोज्यो । सिमलको भुवाजस्तो हलुका भइरहेको मनले खुसीको आकाशमा उडान भर्न खोज्यो । साँझपख हामीलाई मलतिर डो-याउन खोज्यो । मलमा डुलौँला पनि अनि त्यहीँ पिज्जाहटमा खाएर फर्कौंला ।

डेराबाट बाहिर निस्किनेबित्तिकै एउटा अटोरिक्सा हामीलाई बोक्न मूल सडकबाट गल्लीभित्र छि-यो । त्यसकै पछिपछि हावाको वेगमा आफ्नो रिक्सा गुडाउँदै जितेन्दर पनि हामीछेउ आइपुग्यो । अटोरिक्सा हामीनिर रोकियो तर जितेन्दरले हामीलाई बोलायो । 

आफ्नो ग्राहक तान्न खोजेकोमा अटो रिक्सावाल जितेन्दरसँग झगडा गरुँलाजस्तो गर्न खोज्यो । जितेन्दरले पूरै हक देखाएर यह “मेरे अङ्कल, आन्टी है । यह मेरे रिक्से मे ही बैठेगें ।”

जितेन्दरको हामीप्रतिको यो हकले यो पराई ठाउँमा पनि कोही आफन्त भेटेको भावनाले मनलाई विभोर बनायो । आखिर भाषाको शक्ति र आफ्नो स्थानको निकटता कति बलियो हुुँदो रहेछ ।

गोघुली हुन हुन लागेको छ । यो गर्मीमा पनि एक झोक्का चिसो हावाको स्पर्शले हामीलाई एउटा आनन्दमा सरोबार पारिदियो । जितेन्दरको अनुहारमा मिठो मुस्कान छरियो । “थाहा छ अन्टी यो पूर्वैया हो नि ! हाम्रै देशबाट बहेर आएको हावा हो यो ! कति आनन्ददायी छ यो । हजुर हाम्रो विहार कति राम्रो छ । मान्छेहरू त हामीकहाँका पो हुन त असली मान्छे । आपसको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने जानेको मान्छे । यो ठाउँ पनि कुनै बस्नेलायक ठाउँ हो र हजुर ! यो ठाउँ त पापीहरू बस्ने ठाउँ पो हो त ! सबैजना पैसैमा बिक्री गएका छन् । 

 जितेन्दरको यतिखेर आफ्नो परिवेशको अपनत्वबाट टाढिएको खिन्नतामा निमग्न हुन पुग्यो ।  

“तिम्रो घरमा को को छ ?”

“सबैजना हजुर ! मेरो बाबा, माई, सानो मोन्टु, छुटकी अनि मेरो मेहरारू । मेरो छोटी बहनको पिछले साल नै सादी भएको हो । छपरा पता छ नि आन्टी हजुरलाई ! त्यहीँको लड्का हो । इन्टरसम्म दरभङ्गामा पढिलिएको थियो । सादी गरेपछि अहिले छे महिना भयो हजुर दुबई गएको छ । मेकानिक्सगिरी गर्दैछ । कमाइ राम्रो छ, हजुर ! मेरो बहन किस्मतवाली छ । उसको सास, ससुर पनि बढियाँ लोग छ । 

मेरो बडा भाइ पनि छ हजुर ! ऊ आफ्नो परिवारलाई लिएर मद्रासमा बस्छ । घर आउँदैन । त्यहाँ के गर्छ थाहा छैन । माई उसलाई याद गरेर रोइरहन्छ । तर उसलाई बाबामाई कोही को मतलबै छैन । त्यहीँको मद्रासन लड्कीसँग सादी गरिलियो । और त्यो मद्रासनले भाइलाई यहाँ भेज्दै भेज्दैन ।”

“अनि तिम्रो के छ नि खबर ? यहाँको दिल्लीवालीले तिमीलाई रिझाएकी त छैन ? ठट्टा गर्दै सोधेँ । तर मेरो प्रश्नले जितेन्दर गम्भीर भयो । 

“हजुर मेरो मेहरारू यहाँको जस्तो नकली औरत होइन । यहाँको औरत पनि औरत हुन र ? यिनीहरू त सबै स्वार्थी हुन् । पैसाका  लागि नकली प्यार व्यार पनि गरिलिन्छन् । यिनीहरूलाई के थाहा हजुर असली सम्बन्ध र असली प्यार कुन चिडियाको नाम हो ।

मेरो मेहरारू त हजुर गाउँमा मेरो बाबा र माईको सेवा गरेर बसेको छ । मेरो मोन्टु र छुट्कीको माई हो ऊ । पूरा घर उसैले देखभाल गरेको छ । यहाँको लड्कीहरूले पहननेजस्तो सलवारकमिज ऊ थोडै न पहन छ । ऊ त धोती बुलाउज पहन छ । और माथामा ये बडे लाल सिन्दुरको गोल टीका लगाउँछ । ऊ भगवती जस्तो देखिन्छ हजुर । मेरो मनमा उसके लिए बहुत इज्जत छ । म उसलाई बहुत प्यार गर्छु ।”

“अनि कति कमाउँछौ तिमी ? के यो रिक्सा तिम्रै हो ?”

“दुई बरिसदेखि त म यहीँ दिल्ली मे ही छु हजुर ! पहिला सुरुमा त सेठको रिक्सा चलाएँ । अहिले चार, पाँच महिना भयो थोडा आफ्नो जम्मा पुँजी मिलाएँ, थोडा बाबासँग उधार मागिलिएँ, औरी थोडा यही रिक्साको सेठसँग बकाया राखेर यो रिक्सा किनिलिएँ हजुर । कमाइ ठिकै छ । सेठको बकाया त चुकाएँ । अब बाबाको उधारी चुकाउनुपर्छ । केही फिक्री छैन हजुर त्यो पनि गरिलिन्छु । फिर भी हजुर यो रिक्साको बदलामा अटो रिक्सा भइलिएको भए, म अच्छा कमाइ गरिलिन्थेँ । 

त हजुरहरू कति बेरा फर्किनुहुन्छ ? मलाई कल गरिलिनु होला । म दौडकर आइजान्छु । अरूको रिक्सा या अटो रिक्सामा नजानु होला । म नै हजुरहरूलाई लिन आउँछु । त पैसा हजुर पछि नै एक ही बारमा लिइहालुँला । अहिलेलाई छोडिदिनुस् ।” हामीलाई मलमा पु¥याएर ऊ फर्कियो ।

फर्किंदा डेढ सय हातमा हालिदिँदा ऊ फुरुङ्ग भयो । 

“जितेन्दर हामी भोलि सबेरै जाँदै छौँ । डाक्टरले तीन महिनापछि मात्रै बोलाएका छन् । अब त्यतिखेर मात्र  तिमीसँग भेट होला,” दीपकज्यूले उसलाई भन्नुभयो । उसले रिक्साबाट उत्रिएर हामी दुवैको गोडा पालैपालो छोएर ‘पाव लागि हजुर’ भन्यो । हामी दुवैको मन भरिएर आयो । कस्तो सम्बन्ध हो यो ! आजै बिहान त भेटेको हो नि ! आफ्नो ठाउँको निकटताको भावनाले अर्कै देशको मानिस भए पनि उसले हामीलाई आत्मीय देख्यो । 

सम्बन्धको यो बुझ्न नसकिने अल्झोले मलाई राति धेरै बेरसम्म अनिँदो पारिरह्यो ।

समयको... जितेन्दरको अस्तित्व हाम्रो मस्तिष्कबाट मेटिदियो ।

तीन महिनापछि अहिले फेरि चार दिनअघि हामी फेरि उही तीन महिले फलोअपका लागि आएका थियौँ । आएको भोलिपल्टै अस्पताल जानका लागि सडकमा आउँदा रिक्सामा जितेन्दरलाई देखेर सुखद आश्चर्य लाग्यो । बोलायौँ । उसको अनुहारमा परिचयको भाव स्पष्ट देखियो । उल्टो दिशामा अड्याएको रिक्सालाई हावाको गतिमा मोडेर ऊ हामीछेउ आइपुग्यो । 

“राम राम हजुर पाव लागि ! त हजुर कहिले आउनुभयो ?” हामीप्रति उसको मनमा भएको यो गहन आत्मीयता कसरी ! बुझ्न सकेनौँ । मनको यो कस्तो सम्बन्ध हो ! 

दिल्ली आएदेखि नै हाम्रो आउजाउ गर्ने साधन जितेन्दरको रिक्सा नै भयो ।

डाक्टरले दीपकज्यूको पेट स्क्यान गराउनु भयो । दुई दिनपछि यसको रिपोर्ट आउने भएकाले आज हामी रिपोर्टसहित डाक्टरलाई भेट्न अस्पताल आएका हौँ । 

रिपोर्टले दीपकज्यूको दाहिने फोक्सोमा केही दाग देखायो । तर त्यो दाग क्यान्सरको हो भनेर ठोकुवा गरिएको थिएन । यो कुनै सङक्रमणको दाग पनि हुन सक्थ्यो वा नयाँ ठाउँमा क्यान्सरको कोष उब्जिँदै गरेको पनि हुन सक्थ्यो । डाक्टर असमञ्जसमा पर्नुभयो । दागको परीक्षण गर्ने उहाँले निधो गर्नुभयो । यसपालि दाग साह्रै सानो भएकाले यसको बायप्सी गर्न मिल्दैन, त्यही भएर यहाँ मसिनो सियो (एफ.एन.ए.सी.) पठाएर त्यसको सानो टुक्रो ल्याई त्यसको परीक्षण गर्ने भन्नुभयो । यसका लागि हामी भोलिपल्ट बिहान ९ बजे खालि पेट अस्पताल पुग्नुपर्ने भयो ।

हाम्रो मन आशङ्कित भयो । त्यही आशङ्काले मनभरि तुवाँलो पैmलायो । उसो त दिल्लीको आकाशमा आगो बालेर बसेका सूर्यको कारण उज्यालो थियो । तर मनको खल्लो र चिन्ताले हाम्रो हाम्रो अस्तित्व नै अँधेरिएको थियो । यस्तो बेलामा जितेन्दरलाई कसले सम्झिनु र !

मूल ढोकाअगाडि नै आइपुगेको अटोमा चढ्यौँ ।

“हजुरहरू कति देरमा फर्किनुहुन्छ ? मलाई फोन गरिलिनु होला । म दौडैर आइहाल्छु ।”

हामी डेरामा फर्किएको कति बेरपछि आएको उसको फोनले हामीलाई पो ग्लानिमा चुर्लुम्म डुबायो ।

दीपकज्यूको फोक्सोमा दाग देखिएको खबरले छोराछोरीलाई पनि छटपटीमा पा¥यो । ठूली छोरी भोलि बिहानैको उडानबाट दिल्ली आइपुगी । एयरपोर्टबाट सोझै अस्पतालमै पुगी । अस्पतालमा दीपकज्यूको एफ.एन.ए.सी. टेस्ट भर्खरै सकिएको थियो । फर्कियौँ । 

तर अब छोरी यहाँ हुन्जेल जितेन्दरको रिक्सामा हामी चढ्न नपाउने भयौँ । जितेन्दरसँग पनि कुराकानी हुन पाएन । 

एफ.एन.ए.सी.को रिपोर्टले दीपकज्यूको फोक्सोमा देखिएको दाग क्यान्सरको कोषिका नभएको पुष्टि ग-यो । हामी प्रसन्न भयौँ तर डाक्टर सन्तुष्ट भएनन् । दीपकज्यूको अत्यन्त छिटो बढ्ने क्यान्सर भएको कारणले डाक्टरले रिस्क लिन चाहेनन् । यो रिपोर्टलाई मान्ने हो भने अबको तीन महिनापछि मात्रै दीपकज्यूलाई फलोअपमा बोलाउनुपर्ने हुन्थ्यो । तर यदि यो दाग क्यान्सरको कोषिका भए तीन महिनामा त्यो बढेर अनर्थ हुने थियो । त्यसैकारण डाक्टरले दीपकज्यूको त्यो दाग के हो जान्नका लागि फोक्सोको अपरेसन गर्ने निधो गर्नुभयो । 

अपरेसनको अघिल्लो दिन भर्ना भयौँ । छोरीले चाँडै डेरामा फर्किन मन गरिन् । गर्दागर्दै राति ९ बज्यो । अब बल्ल हामी सबैको मनमा डर पलाउन थाल्यो । उसै त दिल्ली ! झन दिल्लीको यो रोहिणी ५ भन्ने इलाका अनेकौँ अपराधका लागि चर्चित ! दैनिक अखबारमा रोजै रोहिणी ५ इलाकामा हुने गरेका अपराधहरूका बारेमा खबर छापिएकै हुन्थ्यो । 

अब भने मन साँच्चिकै डरायो । दीपकज्यूले साँझ परेदेखि नै बारम्बार उसलाई डेरामा जान भनिरहनु भएको थियो । तर बाबु आमाको नजिकबाट उठेर एक्लै डेरामा फर्किन उसलाई पनि मन लागेको थिएन ।

तत्काल जितेन्दरको सम्झना आयो । उसलाई कल गरेँ ।

“त अन्टी म त डेरामा आएर अहिले खान लागेको । हजुर फिकर नगरिलिनु । खाएर म दौडकर आइहाल्छु । दिदीलाई एक्लै नभेजनु होला ।”

त्यसपछि लगातार दुई दिनसम्म जितेन्दरले राति १० बजेतिर छोरीलाई डेरामा पु-यायो । भुइँतलामा डेरा थियो । छोरीले ताल्चा खोलेर भित्र पसेर ढोका नलगाउन्जेल ऊ कुरेर बस्थ्यो । 

तेस्रो दिन दिउँसै उसको फोन आयो । “हजुर मैले अटो रिक्सा किनेँ । आज राति म दिदीलाई त्यही अटो रिक्सामा डेरामा पु-याइदिन्छु ।”

उसको स्वरमा भएको उल्लासले मेरो मनमा पनि खुसीको लहर उर्लियो । मन दङ्ग प-यो । उसलाई आशीर्वाद दिएँ । 

राति ठीक ९ बजे उसको कल आयो । सधैँ मिस कल दिने उसको फोनको घन्टी यसपालि लामै बज्यो । “त हजुर म मेरो अटोरिक्सा लिएर आएको छु । दिदी आउँदा हजुर पनि तल आउनु होला । मेरो अटो रिक्सा हेरिलिनु होला । और मलाई आशीर्वाद दिनुहोला ।”

हामीसँग खुसी बाँढ्न ऊ लड्डु लिएर आएको रहेछ । उसको मन राख्न हामी दुवैले लड्डु चिमोटेर खायौँ । उसको उन्नति प्रगतिको कामना गर्दै हातमा हजारको नोट राखिदिएँ । ऊ गदगद भएर मेरो खुट्टा छुन निहुरियो ।

अर्को दुई रात उसले छोरीलाई आफ्नो अटोरिक्सामा डेरामा पु-याइदियो । 

तर सधैँको जस्तो तेस्रो रात ९ बजे जितेन्दरको आपूm बाहिर आइसकेको जनाउ दिने मिस कल आएन । केही बेर कु-यौँ । तर पनि फोन आएन । मैले फोन गरेँ तर फोन स्विच अफ रै छ । साढे नौ बजेसम्म बारम्बार उसलाई फोन गरिरहेँ । तर मेरो फोनमा आउने सन्देशले उतापट्टिको फोन बन्द गरिएको जानकारी नै दिइरह्यो । छोरीलाई आपैmँ पु¥याउन गएँ, सोही अटोरिक्सामा फर्केर आएँ ।  

भोलिपल्ट बिहान १० बजेतिर उसको फोन आयो । हिजो एक टिप के मारेको थिएँ हजुर त बिहानदेखि नै मेरो अटोरिक्सा चल्दै चलेन । यसको बेटरी डाउन भइगएको थियो हजुर । म दिनभरि कारखानामा मेकानिक्ससँगै मिलेर रिक्सा बनाउन लागेको थिएँ हजुर, फोनको चार्ज त सबै खतम भै लिएको रहेछ । मैले त हजुरको फोन आएको पत्तै पाइनँ । दिदीलाई पनि लिन आउन सक्दिनँ भन्न पनि भुलिगएँ । आज पनि हजुर यो अटो बनेको छैन । दिदीलाई समय रहते ही भेजदिनु होला । यो अटो त बन्दैन कि हजुर ! म त फसिगएँ जस्तो छ । यो बनेन भने त हजुर म त बर्बाद भैजान्छु । मेरो त रिक्सा पनि गयो । त्यो बेचेको पैसा पनि गयो । यो अटो त कवाडी जस्तो छ हजुर !”

जितेन्दरको स्वरमा भएको चरम निराशाले हाम्रो वातावरणमै विषाद घोलियो । मनले उसको नराम्रो नहोस् भन्ने कामना गर्दै भगवान्को पुकारा ग-यो ।

त्यसपछि जितेन्दर देखा परेन ।

तीन महिनापछि फलोअपका लागि आउँदा मेरो मनले जितेन्दरको रिक्सा देखिने आश ग-यो तर ऊ देखिएन । उसको नम्बरमा फोन गरेँ, तर फोन बन्द रहेछ । दुई, तीन दिनसम्म लगातार उसलाई नदेखेपछि त्यहाँको अटोरिक्सावालासँग उसको बारेमा सोधेँ ।

“हो हजुर साह«ै सिधासाधा मान्छे थियो । त्यस्तै मानिसलाई त हो नि यी दुष्टहरूले फसाउने । बिचराको एउटा अटोरिक्सा किनेर चलाउने ठूलो धोको थियो । तर ऊ एउटा धोकेबाजको फन्दामा परिगो । आफ्नो रिक्सा त दियो दियो, आपूmसँग भएको जम्मा पुँजी पनि लगाएर उसले त्यो अटोरिक्सा किनेको थियो । तर त्यो दुई नम्बरीले उसलाई कबाडी अटो पो भिडाएको रहेछ । दुई दिनसम्म त त्यो जसोतसो चलेको थियो । तर किनेको तेस्रो दिनमै त्यो बिग्रियो । कामै नलाग्ने गरी बिग्रियो । बिचरोले कति ग¥यो तर त्यो बनेन । त्यसपछि उसले कारखानाबाट घिसारेर आफ्नो डेराको अगाडि ल्याएर राखेको थियो । अटो रिक्सा डेराको बाहिर खडा थियो । तर ऊ बेपत्ता भयो हजुर । सबले ऊ आफ्नो गाउँ गएको भन्ठाने । पछि महिना दिनसम्म पनि ऊ नआउँदा मकान मालिकले ताला तोडिदियो । भित्र उसको सबै सामान त्यतिकै थियो । उसको लुगाफाटा, उसको भाँडाकुँडा, चामल, दाल, नुन, तेल सबै कुरा त्यहीँ थिए, मात्र ऊ त्यहाँ थिएन । 

त्यही बेलादेखि यहाँ हामी कसैले पनि जितेन्दरलाई देखेका छैनौँ । थाहा छैन ऊ कहाँ गयो ।”

रिक्सावालाको कुराले जितेन्दरप्रति मन द्रवित भयो । मनमनै भगवान्सँग पुकारा गरेँ ।” भगवान् उसलाई केही अनिष्ट भएको नहोस् । उसको रक्षा गर प्रभु !”