• २५ वैशाख २०८१, मङ्गलबार

चलचित्र महोत्सवमा मानव अधिकारको बहस

blog

काठमाडौँ, पुस ५ गते  । भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा दसौँ नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव जारी छ। ‘जलवायु परिवर्तन र पर्यावरण न्याय’को नारासहित आयोजना भएको महोत्सव पुस ६ सम्म चल्नेछ। सोमबार महोत्सवमा ‘जलवायु परिवर्तन र न्यायसम्बन्धी’ विषयमा मानव अधिकारकर्मी, जलवायुसम्बधी विज्ञ, चलचित्रकर्मीसँग प्यानल छलफल भयो। वक्ताका रूपमा विद्या राई, सौरभ ढकाल, गीत पाण्डे र अनिश श्रेष्ठ हुनुहुन्थ्यो। प्यानल छलफल सहजकर्ता डा. सचिन घिमिरेले गर्नुभएको थियो।  

आइतबारदेखि सुरु भएको महोत्सवमा कथानक चलचित्र, वृत्तचित्र, एनिमेसनलगायत नेपालसहित २५ देशका ६४ वटा चलचित्र सहभागी छन्। जसमध्ये सोमबार १९ वटा चलचित्र प्रदर्शन गरियो। महोत्सवमा प्रदर्शन भएका विभिन्न विधाका उत्कृष्ट चलचित्रलाई पुरस्कृत गरिनेछ। महोत्सवमा मास्टर क्लास भारतीय वृत्तचित्र निर्देशक अनिर्वाण भट्टचार्यले ‘लुकेर बसेका कथालाई कसरी वृत्तचित्रमा प्रस्तुत गर्ने ?’ भन्ने विषयमा मास्टर क्लास दिनुहुनेछ। चलचित्रहरू प्रदर्शनपछि कलाकर्मीबीच चलचित्र र मानव अधिकारको विषयमा अन्तक्र्रिया जारी राखिएको महोत्सव निर्देशक पाण्डव खत्रीले बताउनुभयो। 

“यो महोत्सव राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रकर्मी र मानव अधिकारको क्षेत्रमा क्रियाशील व्यक्तित्वका लागि चलचित्रको माध्यमबाट छलफल र अन्तक्र्रिया गर्ने महत्वपूर्ण मञ्च हो। यसबाट नेपालको मानव अधिकार, कला, संस्कृतिका साथै नेपालको अन्तर्राष्ट्रिय छवि निर्माणमा सहयोग पु-याउने विश्वास छ,” उहाँले भन्नुभयो। सिनेमामार्फत मानव अधिकारको अवस्था, सामाजिक न्याय र शान्ति सुरक्षाको सवाललाई छलफल गर्दै आइरहेको खत्रीले बताउनुभयो।  

महोत्सवमा नेपालबाट निर्देशक अविनाशविक्रम शाह, भारतबाट लेखक तथा निर्देशक अनिर्वाण भट्टचार्य, दक्षिण कोरियाबाट मानव अधिकार अभियन्ता तथा महोत्सव निर्देशक सु–ली दिलबर र इजरायलबाट लेखक तथा निर्देशक ओश्रा स्वार्ज रेम जुरीका रूपमा रहनुभएको छ।