• २२ असार २०८१, शनिबार

शपथ नगराई सरकार गठन गर्न मिल्दैन : अध्यक्ष दाहाल

blog

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, पुस ३ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले निर्वाचित सांसदहरूको शपथग्रहण अगावै सरकार गठन प्रक्रिया अगाडि बढाउन नमिल्ने बताउनुभएको छ । 

पार्टीको पदाधिकारी बैठकपछि एक कार्यक्रममा आफ्नो धारणा राख्दै अध्यक्ष दाहालले प्रतिनिधि सभाका सबै सदस्यहरूको शपथग्रहण पछि मात्रै सरकार गठन प्रक्रिया अघि बढाउनुपर्ने बताउनुभएको हो । 

निर्वाचित सांसदहरूको शपथग्रहणबिना नै सरकार गठन प्रक्रिया अघि बढाउनु भनेको उल्टो प्रक्रिया हुने उहाँको भनाइ छ । त्यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहान्छु उहाँले भन्नुभयो । सांसदहरूको शपथग्रहण नहुँदै सरकार गठन गर्ने विषय विगतमा पनि भएको र त्यही उल्टो प्रक्रिया नजिरजस्तो बन्न गएको चर्चा गर्दै उहाँले भन्नुभयो, “त्यसो गर्नु गलत हुन्छ ।”

“सामान्यतया निर्वाचन आयोगले राष्ट्रपतिकहाँ र राष्ट्रपति कार्यालयबाट संसद् सचिवालयमा निर्वाचित सांसदको नाम लिस्ट गइसकेपछि ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बसेर पहिले प्रतिनिधि सभाका सबै सदस्यहरूको शपथग्रहण गराएपछि मात्रै सरकार गठनको प्रक्रिया अगाडि बढाउनु सुल्टो हुन्छ” अध्यक्ष दाहालले भन्नुभयो, “सम्बन्धित सबैको ध्यान यो विषयमा आकर्षित होस् भन्न चाहन्छु ।”

अध्यक्ष दाहालले यसअघि पनि संसदीय दलको बैठकपछि मात्रै सरकार गठन प्रक्रिया अघि बढेको अभ्यास भएको बताउनुभयो । राष्ट्रपति कार्यालयले एक साताको समय दिएर सरकार गठन गर्न दलहरूलाई आज आइतबार आव्हान गरिसकेको छ ।