• २६ वैशाख २०८१, बुधबार

मैत्रीपूर्ण फुटबल खेलले सम्बन्ध प्रगाढ : उपप्रमुख डङ्गोल

blog

महानगर दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल खेलपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिनुहुँदै उपप्रमुख सुनिता डंगोल । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, मङ्सिर २६ गते । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनीता डङ्गोलले जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण फुटबल खेलले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धलाई प्रगाढ बनाएको बताउनुभएको छ ।

सोमबार महानगर दिवसको अवसरमा आयोजित प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ बीचको मैत्रीपूर्ण फुटबल खेलपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिनुहुँदै उपप्रमुख डङ्गोलले मैत्रीपूर्ण फुटबल खेलले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धमा आइसब्रेक गर्ने काम गरेको बताउनुभएको हो ।


उहाँले महानगरमा जनप्रतिनिधि भएर आएको ६ महिनाभन्दा बढी हुँदा पनि सबै कर्मचारीसँग प्रत्यक्ष रुपमा सम्बन्ध कायम हुन नसकेको तर महानगर दिवसको अवसरमा भएको जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण फुटबल खेलले सम्बन्ध सुधार गर्ने काम गरेको बताउनुभयो । उहाँले जनप्रतिनिधिहरु खेल हारे पनि फुटबल आयोजनाको उद्देश्य अनुरुप पूरा भएको उहाँको भनाइ छ । उपप्रमुख डङ्गोलले महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुको सम्बन्ध राम्रो बनाउनका लागि फुटबल आयोजना गरिएकाले त्यो सफल भएको धारणा व्यक्त गर्नुभयो ।

महानगर दिवसका अवसरमा काठमाडौं महानगरपालिकाले हरेक वर्ष जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेल आयोजना गर्दै आएको छ । यो वर्ष पनि महानगरले आज काठमाडौंको दशरथ रङ्गशालामा फुटबल आयोजना सम्पन्न गरेको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहकाे नेतृत्वमा जनप्रतिनिधि र अर्को टिमबाट प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीकाे नेतृत्वमा खेल भएको थियो ।


प्रमुख ११ मा महानगरका विभिन्न वडाबाट निर्वाचित जनप्रतिनिधि थिए । प्रशासकीय अधिकृत ११ मा महानगरका कर्मचारी र नगर प्रहरीहरु थिए ।  जनप्रतिनिधिको टिम कप्तान भए पनि प्रमुख साह खेलको उत्तरार्द्धमा मात्रै मैदानमा छिरेका थिए तर प्रमुख साह मैदान प्रवेश गर्दासम्म टिमले ५ गोल खाइसकेको थियो । खेल ६-१ ले प्रमुख प्रशासकीय अधिकृत ११ ले जित्यो ।