• १६ चैत २०८०, शुक्रबार

कांग्रेस समानुपातिक सांसदको अन्तिम सूची तय गर्ने जिम्मा सभापति देउवालाई

blog

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी पार्टी सभापति शेरबहादुर देउवासहितका पदाधिकारी । तस्बिर: गोरखापत्र

काठमाडौं, मङ्सिर २४ गते। नेपाली कांग्रेसले समानुपातिक तर्फबाट सांसदको नाम टुङ्गो लगाउने जिम्मा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ। 

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि निर्णय सुनाउँदै पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले समानुपातिक सांसदको टुङ्गो लगाउने विषयमा धेरै तलमाथि नरहेको बताउनुभयो। उहाँले वरियताक्रम सुरुदेखि नै निर्धारण गरिएको भन्दै समानुपातिकको बन्दसूची बुझाउँदा निर्धारण गरिएको प्राथमिकतालाई ध्यानमा राखेर नै सांसदको चयन हुने बताउनुभयो। 

उहाँले महिलाको एक तिहाइ सङ्ख्या पुर्‍याइसकेपछि पुरुषतर्फ पनि आवश्यकताअनुसार सांसद चयन गर्ने बताउनुभयो। आजको बैठकले पार्टी सभापतिले अन्तिम समानुपातिक सूची तय गर्ने निर्णय भएको बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘समानुपातिक सांसदको टुङ्गो लगाउने विषयमा धेरै तलमाथि छैन। त्यसमा वरियताक्रम सुरुदेखि नै निर्धारण गरिएको छ। कतिपय ठाउँमा अल्पसङ्ख्यक, पिछडिएको क्षेत्र, जुन निर्धारण गरिएको छ, त्यसको आधारमा केही सिटका बारेमा पार्टीले बोल्नुपर्ने आवश्यकता थियो। अब आवश्यकता अनुसार थप पदाधिकारी र समितिका सदस्यसँग कुराकानी र सुझाव लिएर पार्टी सभापतिले अन्तिम समानुपातिक सूची तय गर्ने कुरा भएको छ।’

प्रवक्ता महतले पार्टी सभापतिले पार्टीका पदाधिकारीसँग थप छलफल गरेर मात्रै समानुपातिक सूचीको अन्तिम टुङ्गो लाग्ने बताउनुभयो।  पार्टी सभापतिलाई बुझाउने भनिएको सूची भने सार्वजनिक भइसकेको छ।