• १ जेठ २०८१, मङ्गलबार

कैलाली–५ बाट कांग्रेसका पन्त निर्वाचित

blog

विजयी हुनुभएका पन्तलाई बधाई ज्ञापनपछि लिनुहुँदै प्रत्यासी नेकपा (एमाले) का उम्मेदवार नारदमुनि राना । तस्बिर : प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह/अविनाश चौधरी

धनगढी, मङ्सिर ९ गते । कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट नेपाली कांग्रेसका डिल्लीराज पन्त प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । 

वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नारदमुनि रानालाई एक हजार ७४ मतान्तरले पराजित गरी प्रतिनिधि सभा सदस्यमा जित हासिल गर्नुभएको हो । विजयी हुनुभएका पन्तले २१ हजार ३९२ मत प्राप्त गर्नुभयो भने पराजित रानाले २० हजार ३१८ मत पाउनुभयो । 

यसै गरी, स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले आठ हजार ३४९ र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको अर्का स्वतन्त्र उम्मेदवार जगदीश चौधरीले सात हजार ४६० मत प्राप्त गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका ईश्वरी विष्टले चार हजार ५०५ मत प्राप्त गर्नुभयो । 

पन्त यसअघि २०७४ मा ५ को (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । यसैगरी, पूर्व मन्त्रीसमेत रहनुभएका राना २०७४ मा यही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । 

प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएका पन्तलाई बधाई दिनुहुँदै पराजित रानाले यो क्षेत्रको विकासका लागि आफूले सुरुवात गरेका कामहरूलाई पूर्णता दिन आग्रह गर्नुभयो । यस्तै, उहाँले प्रदेश सभा सदस्यमा निर्वाचित प्रकाश देउवालाई  बधाई दिनुभयो ।