• १४ वैशाख २०८१, शुक्रबार

नोबेल तेस्रो पटक सम्मानित

blog

काठमाडौँ, मङ्सिर ८ गते । स्वास्थ्य तथा शिक्षा सेवा प्रदायकमध्येबाट उत्कृष्ट करदाताका रूपमा नोबेल मेडिकल कलेज टिचिङ अस्पताल सम्मानित भएको छ ।

डा. सुनीलकुमार शर्माले नेतृत्व गरेको विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल यस वर्षको स्वास्थ्य तथा शिक्षा सेवा प्रदायकमध्ये सबैभन्दा बढी आयकर तिर्ने संस्थाको सम्मानित भएको हो ।

उत्कृष्ट कर तिरेबापत नोबेल मेडिकल कलेज सम्मानित भएको हो । कलेजले गत आर्थिक वर्षमा १६ करोड ६६ लाख रुपियाँ आयकर तिरेको थियो । यो भ्याट र टीडीएसबाहेकको रकम हो । नोबेल मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डा. भागेन्द्रप्रसाद उपाध्यायले भन्नुभयो, “सरकारको नियम पालन गरेर सर्वाधिक आय कर तिर्ने संस्था बन्न पाउनु खुसी र गौरवको विषय हो ।” नोबेल मेडिकल कलेज विराटनर यसअघि पनि दुई पटक शिक्षा र स्वास्थ्य क्षेत्रबाट सर्वाधिक आयकर तिर्ने संस्थाका रूपमा सरकारबाट सम्मानित भइसकेको छ ।

महिलाले सञ्चालन गरेको वित्तीय संस्था उत्कृष्ट करदाता बन्यो

नेपालगञ्ज समाचारदाताका अनुसार बाँकेमा महिलाले सञ्चालनमा ल्याएको उपकार लघुवित्त वित्तीय संस्था उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ । 

कोहलपुरमा प्रधान कार्यालय रहेको सो संस्थालाई कर सप्ताह समापनका अवसरमा बुधबार आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जले आयोजना गरेको कार्यक्रममा सेवा क्षेत्रमा धेरै कर बुझाएबापत सम्मानित गरेको हो । 

महिलाले मात्र सञ्चालन गरेको सो लघुवित्तको कार्यक्षेत्र लुम्बिनी प्रदेश हो । पूर्वी रुकुम र गुल्मीबाहेक अन्य जिल्लामा संस्थाका ३३ वटा शाखा सञ्चालनमा रहेका छन् । दुई अर्ब २७ करोड रुपियाँ लगानी गरिसकेको यो संस्थाको चुक्ता पुँजी छ करोड ५६ लाख रुपियाँ रहेको छ । 

“थोरै पैसाको बचतबाट महिलाले मात्र सुरु गरेको संस्था ‘घ’ वर्गको वित्तीय संस्था बन्न सफल हुनुका साथै उत्कृष्ट करदाता बन्न सफल भएकामा असाध्यै खुसी छु,” संस्थाकी अध्यक्ष शान्ति ढकालले भन्नुभयो । 

तीन फर्मलाई सम्मान 

पोखरा समाचारदाताका अनुसार एघारौँ राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व कार्यालय, पोखराले तीन व्यवसायीलाई सम्मान गरेको छ । सम्मानित हुने फर्ममा सफ्टवयर यार्सा ल्याब्स प्रालि, अटोवयज प्रालि र कर्माचार्य ब्रेक्स एन्ड फुड्स रहेका छन् । बुधबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी र प्रमुख कर अधिकृत रमेश शर्माले सम्मान गर्नुभएको हो । 

सो अवसरमा कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले कर बाध्यताले होइन, नागरिकले कर्तव्यका रूपमा आफ्नो जिम्मेवारीबोध गरी तिर्नुपर्ने बताउनुभयो । त्यसैगरी प्रमुख कर अधिकृत रमेश शर्माले कर प्रणालीलाई व्यावसायिक र नागरिकमैत्री बनाई अगाडि जाने बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेशका उद्योग वाणिज्य सङ्घका अध्यक्ष सञ्जीव कोइरालाले वर्तमान समयमा राजस्व कार्यालय करमैत्री भएको बताउँदै बिचौलियाको प्रवेशलाई पूर्ण रूपमा निषेध गर्नुपर्ने बताउनुभयो ।