• १४ वैशाख २०८१, शुक्रबार

दस मतदान केन्द्र अपाङ्गमैत्री

blog

प्रदेश निर्वाचन कार्यालय परिसरमा राखिएका सुर्खेतका विभिन्न मतदान केन्द्रमा पठाइने निर्वाचन सामग्री । तस्बिर : ललित बसेल

ललित बसेल

सुर्खेत, कात्तिक २४ गते । प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि सुर्खेतका १० वटा मतदान केन्द्रलाई 

अपाङ्गतामैत्री बनाइने भएको छ। विशेषगरी वीरेन्द्रनगर उपत्यकाभित्रका १० वटा निर्वाचन केन्द्रलाई अपाङ्गतामैत्री बनाइने भएको हो। प्रदेश निर्वाचन कार्यालयका अनुसार नगरपालिकाभित्रका १० वटा मतदान केन्द्रलाई अपाङ्ग महासङ्घको समन्वयमा अपाङ्गतामैत्री बनाइने भएको हो।

प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेका अनुसार सुर्खेत उपत्यकाभित्रका मतदान केन्द्रलाई अपाङ्गतामैत्री बनाउन लागिएको हो। दृष्टिविहीन, शारीरिक अपाङ्गता भएका मतदाताले मात्र सो केन्द्रमा मतदान गर्न पाउनेछन्। वीरेन्द्रनगरभित्रका जननमुना माध्यमिक विद्यालय, श्रीकृष्ण संस्कृत मावि, अमरज्योति मावि, भैरव मावि, सिद्ध बहिरा स्कुललगायतका केन्द्रलाई अपाङ्गतामैत्री बनाइने जनाइएको छ।

कर्मचारी र कैदीबन्दीले मतदान गर्ने 

सुर्खेत कारागारमा रहेका १०१ जना कैदीबन्दीले पहिलो पटक मतदान गर्न पाउने भएका छन्। उनीहरूले प्रतिनिधि सभाको समानुपातिकतर्फ मात्र मतदान गर्न पाउनेछन्। प्रत्यक्ष तथा प्रदेश सभाका लागि मतदान गर्न पाउने छैनन्। प्रदेश निर्वाचन अधिकारी चालिसेले कारागारभित्र सबैले देख्न पाउने गरी मतदान गर्ने व्यवस्था मिलाइने बताउनुभयो। 

यसैगरी निर्वाचनमा सुर्खेतमा कार्यरत तीन हजार २२८ कर्मचारीले पनि मतदान गर्न पाउनेछन्। उनीहरूले आफू जहाँ निर्वाचनमा खटिएका छन् त्यहीँबाट मतदान गर्न पाउनेछन्। उनीहरूले पनि प्रतिनिधि सभातर्फको समानुपातिकमा मात्र मतदान गर्न पाउने प्रदेश निर्वाचन अधिकारी चालिसेले बताउनुभयो। 

पैँतीस सय कर्मचारी खटिने

निर्वाचन सम्पन्न गराउन सुर्खेतमा तीन हजार ५०९ कर्मचारी खटिने भएका छन्। मतदान अधिकृत २९५ जना, सहायक मतदान अधिकृत २९५ जना, सहायक कर्मचारी एक हजार ४६४ जना, कार्यालय सहयोगी २९५ जना र स्वयंसेवक एक हजार १६० जना खटिने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। 

निर्वाचन सामग्री पुग्यो

प्रदेश निर्वाचन कार्यालयले कर्णाली प्रदेशका १० जिल्लामा मतपत्र तथा निर्वाचन सामग्रीहरू पुगिसकेको जनाएको छ। हुम्ला, डोल्पा, मुगु, जुम्ला र सुदूरपश्चिमको बाजुरामा हेलिकोप्टरबाट मतपत्र ढुवानी गरिएको छ। अन्य जिल्लामा भने गाडीबाट सामग्री पु¥याइएको छ। 

महिला मतदाता धेरै 

सुर्खेतमा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या छ हजार बढी छन्। प्रतिनिधि सभामा दुईवटा निर्वाचन क्षेत्र र चारवटा प्रदेश सभा क्षेत्र रहेको सुर्खेतमा कुल मतदाता दुई लाख ४३ हजार ६१४ छन्। जसमा पुरुष मतदाताको सङ्ख्या एक लाख १८ हजार ७३८ छ। महिला मतदाताको सङ्ख्या एक लाख २४ हजार ८७६ जना रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। यो सङ्ख्या आगामी मङ्सिर ३ गतेसम्म १८ वर्ष पूरा भएकाले मतदान गर्न पाउनेको सङ्ख्या हो। 

प्रदेश राजधानी सुर्खेतमा निर्वाचनका लागि १३९ मतदानस्थल र २९३ मतदान केन्द्र तोकिएको छ। क्षेत्र नं. १ मा ७२ मतदान स्थल र १४४ मतदान केन्द्र रहेको छ। क्षेत्र नं. २ मा ६७ मतदान स्थल र १४९ मतदान केन्द्र रहेको जनाइएको छ। 

प्रतिनिधि सभातर्फ सत्र उम्मेदवार

दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा १७ जनाले उम्मेदवारी दिएका छन्। क्षेत्र नं. १ मा आठ जना र क्षेत्र नं. २ मा नौ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। 

चारवटा प्रदेश सभा क्षेत्र रहेको सुर्खेतमा २९ जना उम्मेदवार चुनावी मैदानमा छन्। क्षेत्र नं. १ को (क)मा ६ जना, (ख)मा आठ जना, क्षेत्र नं. २ को (क)मा १० जना र (ख)मा पाँच जना उम्मेदवार रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।