• १४ वैशाख २०८१, शुक्रबार

विरोध कार्यक्रम स्थगन गर्न आग्रह

blog

काठमाडौँ, कात्तिक २४ गते । नेपाल उद्योग वाणिज्य महासङ्घले ब्याज वृद्धि र चालू पुँजीसम्बन्धी मार्गदर्शनविरुद्ध भइरहेको विरोध र आन्दोलन स्थगन गर्न प्रदेश च्याप्टर र सदस्य संस्थाहरूलाई आग्रह गरेको छ । 

बुधबार विज्ञप्ति जारी गर्दै महासङ्घले भनेको छ, ‘यही मङ्सिर ४ गते प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचन हुन गइरहेको र लोकतान्त्रिक व्यवस्था एवं खुला बजार अर्थतन्त्रका लागि निर्वाचन महत्वपूर्ण रहेको विषयलाई मनन गर्दै हाल सञ्चालित विरोधका कार्यक्रम स्थगित गर्न महासङ्घ सम्पूर्ण प्रदेश च्याप्टर र सदस्य संस्थाहरूलाई आग्रह गर्दछ ।’ 

महासङ्घले निर्वाचन सफल पार्न आआफ्नो क्षेत्रबाट सहयोग पु-याउन पनि आग्रह गरेको छ । 

निर्वाचनसम्मको अवधिमा महासङ्घ नेतृत्व निरन्तर सरकार एवं नेपाल राष्ट्र बैङ्कसँग संवादमा रहने र वार्ता एवं संवादका माध्यमबाट निजी क्षेत्रमा परेको समस्या समाधान हुनेमा महासङ्घले विश्वास व्यक्त गरेको छ । 

‘निर्वाचनपछि पनि सरोकारवाला निकायबाट निजी क्षेत्रका माग सम्बोधन नभएमा महासङ्घले आर्थिक स्थायित्व एवं निजी क्षेत्रको हकहितका लागि थप कार्यक्रम घोषणा गर्नेछ’ महासङ्घको विज्ञप्तिमा उल्लेख छ ।

महासङ्घले तरलता अभावका कारण निरन्तर बढिरहेको कर्जाको ब्याजदर स्थायित्व र चालू पुँजी कर्जा मार्गदर्शन स्थगित गर्न पनि नेपाल सरकार र नेपाल राष्ट्र बैङ्कसँग माग गरेको छ । बजारको न्यून मागका कारण व्यापार–व्यवसाय प्रभावित भइरहेका बेला बढेको ब्याजदर र यही कात्तिकदेखि केन्द्रीय बैङ्कले लागू गरेको मार्गदर्शनका कारण निजी क्षेत्र मर्माहत भएको महासङ्घले जनाएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व र चालू पुँजी कर्जा मार्गदर्शन स्थगनका लागि महासङ्घका सदस्य जिल्ला/नगर उद्योग वाणिज्य सङ्घहरू एवं वस्तुगत सङ्घहरूले राखेका मागप्रति महासङ्घ ऐक्यबद्धता पनि जाहेर गर्छ ।’ 

ब्याजदर घटाउन माग गर्दै ज्ञापनपत्र

नेपालगञ्ज समाचारदाताका अनुसारकोहलपुर उद्योग वाणिज्य सङ्घको आह्वानमा बुधबार कोहलपुरका उद्योगी, व्यवसायीले विरोध प्रदर्शन गरेका छन् । नेपाल राष्ट्र बैङ्कले जारी गरेको चालू पुँजी कर्जा निर्देशिका, २०७९ परिमार्जनको माग गर्दै विरोध प्रदर्शन गरिएको सङ्घका अध्यक्ष लक्ष्मणराज पौडेलले जानकारी दिनुभयो । 

उहाँले बैङ्क तथा वित्तीय संस्थाको व्यवसायीप्रतिको व्यवहार र ब्याजदरले उद्योग, व्यवसाय धराशायी भएको जनाउँदै आन्दोलनको विकल्प नरहेकाले बाध्य भएर सडकमा आउनुपरेको बताउनुभयो । 

यसैगरी गाईघाट समाचारदाताका अनुसार उदयपुरका व्यापारी, व्यवसायी चर्काे ब्याजदरविरुद्ध आन्दोलनमा उत्रिएका छन् । उदयपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा व्यापारीले मङ्गलबार प्रदर्शन गर्नुका साथै इलाका प्रशासन कार्यालय, कटारीमा ज्ञापनपत्र बुझाएका हुन् । 

यसअघि सदरमुकाम गाईघाटस्थित त्रियुगा उद्योग वाणिज्य सङ्घले प्रमुख जिल्ला अधिकारीमार्फत ब्याजदर घटाउन माग गर्दै आइतबार ज्ञापनपत्र बुझाएका थिए । 

नेपाल राष्ट्र बैङ्कको चालू पुँजी कर्जा निर्देशिका २०७९ मा गरिएको व्यवस्था र बैङ्क तथा वित्तीय संस्थाले गरेको कर्जाको ब्याजदरमा वृद्धिका कारण उद्योग, व्यवसाय धराशायी भएको त्रियुगा उद्योग वाणिज्य सङ्घका अध्यक्ष रमेश रसाइलीले बताउनुभयो ।