• २६ वैशाख २०८१, बुधबार

जनताकाे अनुमतिमा अगाडि बढ्नेछु: मन्त्री भुसाल

blog

घरदैलाेमा उम्मेदवारहरू ।

गाेरखापत्र अनलाइन

ललितपुर, कात्तिक २३ गते  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विगतमा ललितपुरसहित देशको विकास र जनजीविका विषयमा पुर्याएको योगदानका आधारमा आफूलाई जनताले मतदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

ललितपर निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभा उम्मेदवार रहनुभएका मन्त्री भुसालले गत निर्वाचनमा आफूले उठाएका मुद्दा पूरा गर्नका लागि पनि आफू निर्वाचित हुनुपर्ने बताउनुभयो ।

आगामी पाँच वर्षमा ललितपुरका जनताले गुणस्तरीय जीवन बाँच्ने आधार तयार गरिने उल्लेख गर्दै नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहनुभएका मन्त्री भुसालले राजनीतिक स्थायित्व र आर्थिक समुन्नतिलाई आफूले चुनावी प्रतिबद्धतामा समेटेको जानकारी दिनुभयो ।


मङ्सिर ४ गते हुने निर्वाचनमा आफू स्पष्ट रुपमा निर्वाचित हुने मन्त्री भुसालले भन्नुभयो, “ललितपुर–३ का प्रायः मतदातासँग मेरो दोहोरो चिनाजान छ, धेरै मतदातालाई म चिन्छु, उहाँहरूले पनि मलाई चिन्नुहुन्छ, त्यसैले पनि निर्वाचनको नतिजा स्पष्ट छ ।”

विगतमा आफूले जनताको भावना बुझेर आफूले काम गरेको उल्लेख गर्दै उहाँले आगामी दिनमा उहाँहरूको अनुमतिबाट अगाडि बढ्ने विश्वास दिलाउनुभयो ।

जनताका आधारभूत आवश्यकता पूरा गर्दै देशको आर्थिक तथा सामाजिक विकासलाई मुख्य मुद्दा बनाएर आफू चुनावी मैदानमा होमिएको बताउँदै मन्त्री भुसालले पर्यटनमा आधारित अर्थतन्त्र, पर्यावरणमैत्री गतिविधि र समतामूलक समाज निर्माणका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरी, नेपाली काँग्रेसबाट ललितपुर निर्वाचन क्षेत्र नं ३ (ख)का उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले आगामी निर्वाचनमा प्रतिपक्षभन्दा दोब्बर मत ल्याएर आफू निर्वाचित हुने विश्वास व्यक्त गर्नुभयो ।


उहाँले आफू नेपाली कांग्रेसको जिल्ला सभापतिसमेत रहेकाले पार्टीको निर्णयअनुसार गठबन्धनका सबै उम्मेदवारहरू निर्वाचित हुने गरी परिचालन गरिएकाे बताउनुभयो । उहाँले भन्नुभयो, “म त निर्वाचित हुन्छु नै गठबन्धनका उम्मेदवार पनि अत्यधिक बहुमतले निर्वाचित हुनुहुनेछ ।”

मन्त्री भुसाल र जिल्ला सभापति श्रेष्ठ ललितपुर महानगरपालिकाको २ नं वडाका जनता समक्ष आफ्नो प्रतिबद्धता व्यक्त गर्दै मतको लागि अपिल गर्नुभयाे ।

उहाँहरूले घरघर पुगेर अग्रगमन र संविधानको रक्षार्थ आफूहलाई मतदान गर्न आह्वान गर्नुभएको थियो ।

विकासका कामलाई निरन्तरता दिँदै अझ गुणस्तरीय सडक, शिक्षा र स्वास्थ्य सेवा आफूहरुको मुद्दा भएको उहाँहरूले उल्लेख गर्नुभयाे ।