• ७ जेठ २०८१, सोमबार

वीरेन्द्रनगरमा खानेपानीको अभाव

blog

भेरी पम्पिङ आयोजना स्थल झुप्राखोला र भेरी नदीको दोभान । तस्बिर : रजनी योगी

रजनी योगी

सुर्खेत, वैशाख २६ गते । वीरेन्द्रनगरमा खानेपानीको समस्या चुलिँदै गएको छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले ६ दिनमा एक पटक मात्रै धारामा पानी वितरण गर्ने भएपछि पानी सङ्कट चुलिएको हो । 

गर्मीयाम लागेसँगै मुहानमा पानीको स्रोत घटेको छ । स्रोत घटेका कारण संस्थाले पानी वितरणको नयाँ तालिका सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक तालिका अनुसार अबदेखि ६ दिनमा एक पटक पानी वितरण गरिनेछ । ६ दिनको फरकमा एक घण्टा पानी वितरण गर्नेगरी सम्पूर्ण ठाउँको वितरण तालिका लागू गरिएको संस्थाका कार्यालय प्रमुख डम्मर गौतमले बताउनुभयो । लामो सुख्खा खडेरीका कारण मुहानमा पानीको स्रोत घटेका कारण यस्तो वितरण तालिका बनाउनु परेको उहाँको भनाइ छ । 

अन्य समयमा पनि माग अनुसारको पानी आपूर्ति हुन नसकिरहेको बेला गर्मी समयमा चरम अभाव हुने गरेको छ । अध्यक्ष गौतमका अनुसार उपत्यकामा दैनिक २७५ लिटर प्रतिसेकेण्ड पानी आवश्यक पर्दछ । तर अहिले झुप्रा खोलासहितका मुहानबाट प्रति सेकेण्ड ५२ लिटर मात्रै आपूर्ति भइरहेको छ । यो आवश्यक परिमाणको तुलनामा निकै न्यून हो। जबकि हिउँदको समयमा पनि दैनिक १५७ लिटर प्रति सेकेन्ड खानेपानी आपूर्ति हुने गरेको छ । त्यसबाट पनि घटेर जम्मा ५२ लिटर प्रति सेकेन्ड मात्र खानेपानी आपूर्ति भएका कारण समस्या निम्तिएको गौतमले जानकारी दिनुभयो ।

संस्थाले हाल नगरका २० हजार उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको छ । खडेरीमा हरेक वर्ष उपत्यकामा पानीको हाहाकार हुन्छ र मागअनुसार पानी पुर्याउन नसकेको गौतमले बताउनुभयो । पछिल्लो समय आकाशे पानी नपरेका कारण पनि मुहान सुक्न थालेका छन् । पानी परेन भने स्रोत अझै घट्दै जाने अध्यक्ष गौतमले जानकारी दिनुभयो। 

खडेरीको समयमा वीरेन्द्रनगरवासीले बर्सेनि खानेपानीको समस्या झेल्दै आएका छन् । अहिले उपलब्ध स्रोतबाट पर्याप्त पानी आपूर्ति हुन सकेको छैन भने नयाँ स्रोत थप हुन पनि सकेको छैन । उपत्यकाको खानेपानी समस्या समाधानको दीर्घकालीन विकल्पकारूपमा अघि सारिएको भेरी पम्पिङ आयोजना निर्माणपूर्वका काममै अल्झिएको छ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) भइसकेको छ । विश्व बैङ्कको सहयोगमा भेरी पम्पिङ आयोजना निर्माण गर्न लागिएको हो ।

६ वर्ष पहिलेदेखि नै अध्ययनको काम थालिएको थियो । २०८० जेठ ४ गतेदेखि वीरेन्द्रनगरमा कार्यालय स्थापना गरी काम भइरहेको छ । २०८० असोज १२ गते आयोजना निर्माणका लागि टेन्डर आह्वान गरिएको थियो । जसमा सात वटा टेन्डर परेका थिए । परेका सात वटा टेन्डरमध्ये पाँच टेन्डर छनोटमा परेका छन् । प्राविधिक छनोटका आधारमा पाँच वटा टेन्डर छनोट गरिएको र अब ती टेन्डरको आर्थिक प्रस्तावका आधारमा छनोट गरिने आयोजनाले जनाएको छ । त्यसैगरी सर्वे डिजाइनको काम पनि भइरहेको छ । तीन वर्षमा परियोजना सम्पन्न गर्नेगरी काम अघि बढेको बताइएको छ ।

आयोजनाको भौतिक संरचना निर्माण गर्ने स्थानमा वन क्षेत्रले ओगटेको छ । भेरी पम्पिङ खानेपानी आयोजना निर्माणका लागि कूल लागतको ७० प्रतिशत खर्च विश्व बैङ्कले बेहोर्ने छ । बाँकी ३० प्रतिशत रकम सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा लगानी गरिने छ । पहिलो चरणमा संरचना निर्माणका लागि तीन अर्ब २३ करोड रूपियाँ लागत अनुमान छ । जसअन्तर्गत मुहान इन्टेक, रिर्जब ट्याङ्की, पाइपलाइन निर्माण र दोस्रो चरणमा सेवा विस्तारका काम हुनेछन् । आयोजनाका निर्माणका लागि रु ६ अर्ब लाग्ने अनुमान छ ।