• १४ वैशाख २०८१, शुक्रबार

डुङ्गाले दुई देश जोड्दै

blog

धनगढी समाचारदाता

धनगढी, कात्तिक १५ गते । कैलालीको भजनी नगरपालिका–७, हिम्मतपुर घाटस्थित मोहना नदीमा डुङ्गा सञ्चालन गरिएपछि दुई देशका नागरिकलाई ओहोरदोहोर गर्न सहज भएको छ । भजनी नगरपालिकालाई राजस्व तिर्ने गरी स्थानीय ठेकेदारद्वारा डुङ्गा सञ्चालन गरिएपछि नेपाल–भारत दुवै देशका नागरिकलाई आउजाउ गर्न सहज भएको हो । सो क्षेत्रमा दुवै देशमा थारू समुदायको बसोबास रहेको छ । वारपार बिहेवारीसमेत भएकाले चाडपर्व मनाउन, किनमेल गर्नलगायतका लागि ओहोरदोहोर हुँदै आएको छ । 

किनमेलका लागि धेरैजसो नेपाली नै सो घाटमार्फत भारततर्फ जाने गरेको डुङ्गा सञ्चालक खुसीराम चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “नजिकै भारतको बेलापरसुआ बजार रहेकाले किनमेलका लागि दिनहुँ मान्छेको आउजाउ भइरहन्छ । चाडपर्वका बेला अझ धेरै मान्छे हुन्छन् ।” 

अहिले आलुको बीउ खरिद गर्नका लागि धेरैजसो नेपाली सीमावर्ती भारतीय बजार पुगिरहेका छन् । उनीहरू सबै डुङ्गामार्फत नै पारि जाने गरेको चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “भजनी, घोडाघोडी नगरपालिका, जोशीपुर गाउँपालिकाका मान्छे यो घाट भएर किनमेलका लागि भारतीय बजारसम्म जाने गर्छन् ।”

भारतीय नागरिक पनि नेपालमा कपडा खरिदका लागि भजनी, सुखडलगायतका बजारमा आउने गरेका छन् । खास गरेर जाडोयामका कपडा खरिद गर्न र चाडपर्व मनाउनका लागि नेपाल आउने गरेको भारतको बेलापरसुआ गाउँका लल्लन कठरियाले बताउनुभयो । त्यसो त, कतिपय नेपाली चेलीले पनि भारतीयसँग विवाह गरेका छन् । सीमावर्ती नेपाली र भारतीय गाउँवासीबीच पहिल्यैदेखि ‘रोटीबेटी’को सम्बन्ध चल्दै आएको बताइन्छ । ओहोरदोहोर सहजताले उनीहरुको सम्बन्ध थप सुमधुर बनेको छ । 

डुङ्गामार्फत ओहोरदोहोर गरेबापत व्यक्ति मात्रैको १० रुपियाँ, साइकलसहित व्यक्तिको २० र मोटरसाइकलसमेत भएमा ५० रुपियाँ शुल्क लिने गरेको डुङ्गा सञ्चालक चौधरीले बताउनुभयो । नगरपालिकाले नै निर्धारण गरेको शुल्क लिइरहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “नदीमा पानी बढे वा घटे पनि हामीले लिने शुल्क यत्ति नै हो । शुल्क घटबढ हुँदैन । नगरपालिकाले शुल्क निर्धारण गरिदिएको छ । त्योभन्दा बढी वा कम शुल्क लिन पाउँदैनौँ ।” 

भजनीकै स्थानीय भीम विकले एक वर्षसम्म सो घाटमा डुङ्गा सञ्चालनका लागि ठेक्का पाउनुभएको छ । एक लाख २५ हजार रुपियाँमा ठेक्का सम्झौता भएको जनाइएको छ । डुङ्गा चलाउने कार्य भने ज्यालादारीमा चौधरीले गर्दै आउनुभएको छ । दैनिक पाँच सय रुपियाँ ज्याला पाउने गरी काम गर्दै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “दिनभरि उठेको शुल्कबाट पाँच सय ज्याला लिने गर्दछु । बाँकी सबै ठेकेदारलाई बुझाउँछु ।”