• १५ वैशाख २०८१, शनिबार

थारु समुदायमा समाचकेवा पर्व मनाइँदै

blog

माटोले बनाइएका सामा चकेवासहितको मूर्तिहरुसँग खेल्दै किशोरीहरु । तस्बिर : शिवशंङ्कर मिश्र

शिवशङ्कर मिश्र

बारा, कात्तिक १४ गते । मध्य तराईका थारु तथा मधेसी समुदायका गाउँघरमा समाचकेवा पर्व सुरु भएको छ । दाजुबहिनीको प्रेमको प्रतीकको रूपमा रहेको तराईको मौलिक पर्व समाचकेवाको रौनक अहिले तराईका बारा, पर्सा, रौतहटलगायतका जिल्लामा छाएको छ ।

भाइटीका अर्थात् गोबर्धनपूजाको भोलिपल्टदेखि कात्तिक पूर्णिमासम्म मनाइने यो पर्वमा दिदीबहिनीले माटोका विभिन्नखाले मूर्तिहरू समाचकेवा, सतभैया, चुगला, चराचुरुङ्गी, वृन्दावन लगायतका आकृति बनाएर खेलिने गर्छन् । 

थारुमुलकी अविवाहिता किशोरीले समूह समूह बनाएर समाचकेवा खेल्न थालेका छन् । उनीहरूले गोबर्धनपूजादेखि समाचकेवा खेल्न सुरु गरेका हुन् । कात्तिक पूर्णिमासम्म खेलिने यस मौलिक पर्वले अहिले गाउँको रौनक बढाएको छ ।

जिल्लाको ग्रामीण क्षेत्रको गञ्जभवानीपुर, तेतरिया, कोल्हवी, गडहल, बरियारपुर, सिम्रौनगढ लगायतका गाउँघरमा दाजुभाइ तथा दिदीबहिनीको प्रेम तथा मायालाई झल्काउने समाचकेवा पर्व वर्षमा एक पटक खेल्नाले दाइभाइको प्रेम, माया, मामता र दीर्घायु बढ्ने धार्मिक विश्वास रहेको करैयामाई गाउँपालिका –७ ढोढिया टोलकी कौशिला देवीले बताउनुभयो ।  

गाउँका बुढापाकाका अनुसार द्वापरयुगमा श्रीकृष्णकी सुपुत्री सामा वृन्दावन जङ्गलमा घुमघाम गर्न जाँदा ऋषिसँग रमन गरेको झूठो कुरा सेविका डिहुलीले भगवान् कृष्णसमक्ष लगाएकाले आवेसमा आएर कृष्णले सामा र वृन्दावनका समस्त ऋषिलाई चरा बन्ने श्राप दिएपछि सामाका भाइ साम्बले सो सुन्नासाथ दिदी सामालाई श्रापबाट मुक्त गराउन घोर तपस्या गरेपछि तपस्याबाट खुसी भएर कृष्णले सामासहित सबै ऋषिलाई श्रापबाट मुक्त गरेको पुराणमा उल्लेख छ । 

भाइले दिदीलाई श्रापबाट मुक्त गराएका सोही दिनदेखि माटाको सामाचकेवा पर्व मनाउन सुरु भएको महिलाले बताउने गरेका छन् । एकअर्काे प्रसङ्गमा द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नो बाल्यकाल गोकुलमा बिताई मथुरामा आएपछि राधिका र भगवान् कृष्णका १६ हजार गोपिनीले भगवान् कृष्णको सम्झनामा मनाउने सामाचकेवा कालान्तरमा दाजु बहिनीको प्रेम र सद्भावको मौलिक पर्वमा रूपान्तरित भएको बारागढी गाउँपालिका –६ निवासी ६८ बर्षीया औधेषदेवी मिश्रको भनाइ छ ।  

पन्ध्र दिनसम्म मनाइने यस सांस्कृतिक पर्वमा रातको समयमा गाउँघरका खासगरी कुमारी कन्याहरू एकत्रित भई माटोले बनाइएका मूर्तिको लोकगीत गाएर पूजाआजा गर्ने गर्छन् । पर्वको अन्तिम दिन पूर्णिमाको रातमा सो मूर्तिलाई परम्परागत गीत गाउँदै फुटाइने गरेको मिश्रले भन्नुभयो ।