• २६ वैशाख २०८१, बुधबार

डढेलो प्रभावितको उद्धार गर्न निर्देशन

blog

काठमाडौँ, वैशाख १५ गते । सरकारले आगलागी तथा डढेलो प्रभावितलाई तत्काल राहत, उद्धार तथा व्यवस्थापनमा कुनै कसर नछाड्न सबै सरोकारवाला निकायलाई निर्देशन दिएको छ । 

गृह मन्त्रालयमा शुक्रबार बसेको आपत्कालीन बैठकमा उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सबै माध्यमको प्रयोग गरेर पीडामा परेकालाई राहत र उद्धारमा सघाउन निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, “कार्यविधि र नियमावलीको पालना गर्दै आगलागी तथा अन्य विपत्मा परेकालाई तत्काल राहतका लागि कुनै पनि ढिलाइ नहोस् ।” 

केही दिनयता तापक्रम बढेसँगै देशभरि डढेलो र आगलागीका घटना वृद्धि भएका छन् । जस कारण धेरै स्थानमा जनधनको क्षति भएको छ । आगलागी र डढेलोका कारण वैशाख १ गतेयता नौ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दुई दिनअघि आगलागीमा महोत्तरी मटिहानीका एक सय घरसहित विभिन्न स्थानमा डढेलो र आगलागीबाट तीन सयभन्दा बढी घर जलेर नष्ट भएका छन्  । सो अवधिमा ५३१ वटा आगलागीका घटना भएका छन् । अझै केही दिन उच्च तापक्रम र हावाहुरीको अवस्था रहने छ । 

मन्त्री लामिछानेले आगलागी र डढेलो नियन्त्रणका लागि सङ्घ, प्रदेश र स्थानीय तहले पहल गर्न निर्देशन निर्देशन दिनुभयो । उहाँले तत्काल पालिकासँग भर्चुअल बैठकमार्फत राहत, उद्धार र नियन्त्रणका लागि प्रक्रिया अघि बढाउन निर्देशन दिनुभयो । हरेक प्रदेशमा पुगेरै भए पनि चाहिएको कुरामा तुरुन्त निर्णय गरेर आवश्यक सामग्री खरिद प्रक्रियामा अघि बढाउनुपर्ने भन्दै उहाँले क्षतिको बिमा गर्नुपर्ने र बिमा नगरेको अवस्थामा बिमा दिने दायित्व राज्यको भएको बताउनुभयो ।

उपप्रधानमन्त्री लामिछानेले हेलिकोप्टरबाट उद्धार तथा राहतका लागि सेवाप्रदायसँग न्यूनतम शुल्कमा सम्झौता गरेर छिटो राहत दिन पहल गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “सरकारले पैसा त तिर्छ तर जनधन बचाउने जिम्मा सबैको हो । त्यस कारणले दायित्वबोध गराऔँ । जसले गर्दा अप्ठ्यारो पर्दा पैसाको सदुपयोग गर्न सकियोस् ।” उहाँले नागरिकलाई सूचना दिएर भविष्यमा हुने क्षति कम गर्ने उपाय सुझाउन अनुरोध गर्नुभयो । उहाँले हरेक नागरिकका सूचनाका लागि रिङटोनमा आगलागीबाट जोगिने रिङटोन राख्न नेपाल टेलिकमसँग सहकार्य गर्न पहल थालेको जानकारी दिनुभयो । उहाँले पूर्वतयारीका लागि जुट्न, प्रहरी अस्पतालमा जलन वार्डदेखि बाढीको १५ दिनअघि तयारीमा जुट्नुपर्ने बताउनुभयो । 

उपप्रधानमन्त्री लामिछानेले आगलागी डढेलोसँगै अब निकट भविष्यमा नै बाढीको समस्या आउँदै गरेको भन्दै पूर्वतयारीसहितको प्रस्तुति लिएर आउन प्राधिकरणलाई निर्देशन दिनुभयो । उहाँले राहतको सवालमा पोर्टल बनाएर प्रभावित परिवार तथा सङ्घ संस्थाको तथ्यसहितको जानकारी राखेर सहयोग गर्नेजाई चयन गरेर काम गर्ने वातावरण बनाउन निर्देशन दिनुभयो । 

प्राधिरकणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार यस पटक भारतमा गरिएको हिट वेभ (लु) ६ देखि १४ दिनको रहने पूर्वानुमान गरिएको छ । भारतसँगै नेपाल जोडिएको हुनाले त्यहाँको असर यहाँ पनि परिरहेको छ । यो साता भैरहवालगायतका स्थानमा ४३.६ डिग्री सेल्सियस तापक्रम पुगेको छ । 

मौसम पूर्वानुमान शाखाकी मौसमविद् शान्ति कँडेलले नेपालमा लुको असर अझै कायम रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अझै केही दिन उच्च गर्मी हुने र अहिलेसम्म रेकर्ड भएभन्दा माथि तापक्रम पुग्न सक्ने अनुमान छ ।” उहाँका अनुसार हावा पनि उच्च गतिमा चलिरहेको छ । पानी पर्ने सम्भावना अर्को हप्तासम्म देखिँदैन । उहाँले यस पटक आगलागी र डढेलोका घटना विगतकाभन्दा उच्च हुने देखिएको पोखरेलले बताउनुभयो ।