• १४ वैशाख २०८१, शुक्रबार

हुम्लाको सिमकोट विमानस्थल नाफामा

blog

राजन रावत

हुम्ला, कात्तिक ११ गते । कर्णालीको हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थल आर्थिक वर्ष २०७८–७९ मा फाइदामा गएको छ । देशका अधिकांश विमानस्थल घाटामा गइरहेका बेला सिमकोट विमानस्थल नाफा गर्न सफल भएको हो ।

प्राधिकरणको सिमकोट विमानस्थलका प्रमुख मोहन गिरीले अघिल्लो आर्थिक वर्षमा कोरोनाको कहर हुँदा पनि विमानस्थलले नब्बे लाख रुपियाँ कमाउन सफल भएको बताउनुभयो ।  प्राधिकरणको प्रतिबेदनअनुसार कुल कमाइमध्ये ५९ लाख रुपियाँ खर्च भएको र ३१ लाख रुपियाँ खुद नाफा कमाएको उहाँको भनाइ छ ।

विमानस्थलले ल्यान्डिङ, पार्किङ र दिउँसो १२ बजेपछि अतिरिक्त शुल्क हवाई सेवा कम्पनीसँग उठाउने गर्छ । सो आर्थिक वर्षमा हवाई जहाज तथा हेलिकोप्टरले गरेर चार हजार आठ सय उडान भरेको उहाँले बताउनुभयो । 

अघिल्लो आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा अझ बढी नाफा कमाउने विमानस्थलको दाबी छ । साउन महिनादेखि नै दैनिक रूपमा हेलिकोप्टरले उडान भरेको र मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटकको सङ्ख्या पनि बढी आएका कारण उडान बढी हुँदा कमाई धेरै हुने विमानस्थलको दाबी छ । 

साबिक कर्णालीका पाँच जिल्लाका चार वटा विमानस्थलमध्ये बढी नाफा कमाउनेमा सिमकोट विमानस्थल परेको उहाँले बताउनुभयो । सो पछि जुम्ला, डोल्पा र मुगुको ताल्चा विमानस्थल रहेको बताउँदै उहाँले कालिकोटको कोटवाडा विमानस्थल निर्माणाधीन अवस्थामा रहेको गिरीले बताउनुभयो । नेपालगन्जपछि बढी व्यस्त रहने विमानस्थलमा सिमकोट विमानस्थल पर्छ ।