पत्रकारिता दिवस र गोरखापत्र

siba kumarशिवकुमार भट्टराई


नेपालमा पत्रकारिताको जग हाल्ने काम राणा प्रधानमन्त्री देवशम्शेरले आजभन्दा ११६ वर्षअघि गरेका हुन् । नेपाली पत्रकारिताको इतिहासमा यो नयाँ सुरुवात थियो तर त्यसको सम्झनामा मुलुकले औपचारिकरूपमा कुनै कार्यक्रम गर्ने प्रचलन थिएन । केवल गोरखापत्र दैनिकले सो दिनलाई आफ्नो स्थापना दिवसका रूपमा मनाउँथ्यो तर यसपाला भने सरकारले पहिलोपटक मुलुकको जेठो समाचारपत्र प्रकाशनको दिन अर्थात वैशाख २४ लाई नेपाली पत्रकारिता दिवसका रूपमा मनाउने निर्णय गरेको छ । यो वास्तवमै नेपाली पत्रकारिता क्षेत्रका लागि ठूलो उपलब्धि हो ।
शताब्दी पुरानो इतिहास हुँदा पनि नेपाली पत्रकारिता जगत्ले आफ्नो राष्ट्रिय दिवसको तिथिमिति तय गर्न नसक्नु आफैँमा लाजमर्दाे अवस्था थियो । यसमा राज्य पक्ष मात्र होइन, पत्रकारिता क्षेत्रसँग आवद्ध विभिन्न सङ्घ संस्थाहरुको समेत चासो देखिएको थिएन ।
मुलुकको जेठो अखवार गोरखापत्र प्रकाशनको ११६ वर्ष प्रवेशको तयारीसँगै पहिलोपटक मनाउन लागिएको राष्ट्रिय पत्रकारिता दिवस धेरै अर्थमा महŒवपूर्ण हुनेछ । राज्यको सेवामा शताब्दी अघिबाट दत्तचित्त भई पत्रकारिता विधालाई जीवन्त राख्ने गोरखापत्रको गौरवगाथा सबै सञ्चारमाध्यमका लागि स्तुत्य बनेको छ । गोरखापत्रको योगदानको अध्ययन बिना नेपाली पत्रकारिताको जानकारी नेपाली पत्रकारले पाउन सक्ने अवस्था छैन । साथै गोरखापत्रले नेपालमा पत्रकारिता र पत्रकारको विकास एवं विस्तारमा पु¥याएको योगदान साँच्चै नै बन्दनीय छ । विडम्बना नै भन्नुपर्छ यति लामो समयको अन्तरालमा नेपाली पत्रकारिताले विभिन्न खाले अभ्यास र प्रयोग गरे पनि आफ्नै राष्ट्रिय दिवस मनाउनुपर्छ भनेर कहिल्यै आवश्यकता बोध गरेन । यस अवधिमा मिडियासँग सम्बन्धित दर्जनौँ आयोग वा कार्यदल बने तर कसैले पनि नेपालमा राष्ट्रिय पत्रकारिता दिवसको आवश्यकता अनुभूति गरेनन् । ढिलै भए पनि सही काम सुरु भएको छ । यही वैशाख २४ गते मनाइने पहिलो राष्ट्रिय पत्रकारिता दिवस नेपाली पत्रकारिताको समग्र पक्षको विकासका लागि एउटा कोशेढुङ्गा हुनेछ । हिजोसम्म गोरखापत्र दैनिकको निजी दिवसकारूपमा खुम्चिएको वैशाख २४ को महिमा र महत्ता अब भने राष्ट्रव्यापी हुनेछ ।
विक्रम सम्वत् १९५८ वैशाख २४ गते पहिलो समाचारपत्रका रूपमा गोरखापत्रको साप्ताहिक प्रकाशन सुरु भएको थियो । त्यसपछिको गोरखापत्रको यात्रा आरोह अवरोहबीच अघि बढेको देखिन्छ । स्थापनाकालदेखि नै निश्चित विधि र प्रणालीमा आफूलाई ढालेर प्रकाशित हुन थालेको गोरखापत्रले यो शताब्दी लामो यात्रामा नेपाली पत्रकारिताको सिङ्गो पहिचानको प्रतिनिधित्व गरेकोे छ । आज निजी क्षेत्रबाट प्रकाशन भइरहेका धेरै अखवारका सम्पादक होस् या स्तम्भकारलाई जन्माउने र चिनाउने काम गोरखापत्रले नै गरेको हो । यो संस्था आफैँमा ज्यूँदो इतिहास हो । तैपनि वैशाख २४ लाई राष्ट्रिय पत्रकारिता दिवसका लागि उपयुक्त दिन नमान्नेहरु पनि हाम्रै समाजमा नभएका होइनन् । जबकी उनीहरु सबैले नेपाली पत्रकारिताको जननीका रूपमा भने गोरखापत्रको उपस्थितिलाई स्वीकारेका छन् । त्यस्तै सोच र शैलीका कारण नेपालमा राष्ट्रिय पत्रकारिता दिवस मनाउन शताब्दी लामो वर्ष प्रतीक्षा गर्नु परेको हो ।
नेपाली पत्रकारिताको अवस्था र चरित्रबारेको अध्ययन गोरखापत्रलाई अलग गरेर किमार्थ पूरा हुन सक्दैन । देशमा २०४६ सालको जनआन्दोलनपछि विकसित खुला र प्रजातान्त्रिक वातावरणले सञ्चारमा निजी क्षेत्रको प्रवेश सहज बनायो । त्यसपछि पत्रकारिता क्षेत्रले व्यावसायिकतालाई अपनाएको देखिन्छ । अहिले निजी क्षेत्रबाट दर्जनौँको सङ्ख्यामा ब्रोडसिट आकारमा अखवार प्रकाशन भइरहेका छन् तर ती अखवार कसरी सञ्चालन भएका छन् भनेर अध्ययन गर्ने हो भने परिणाम निराशाजनक पाइन्छ । मिडिया उद्योगका रूपमा स्थापना र सञ्चालन हुँदा फाइदा जति सबै मालिकको खल्तीमा पुग्ने तर श्रमजीवी पत्रकारलाई भने सुकेनाश लाग्ने अवस्था अहिलेको यथार्थ हो । अहिले पनि कतिपय अखवार र मूलधारकै टेलिभिजन च्यानलमा काम गर्ने पत्रकारले महिनौँदेखिको तलब पाएका छैनन् । थोरै तलब पाउनेले पनि नियुक्तिपत्र र सेवासुविधाको कुनै लिखित दस्तावेज पाएका छैनन् । मालिकको मुखको भरमा उनीहरुको जागिर छ । श्रमजीवी पत्रकार ऐन आएको झण्डै २२ वर्ष बितिसक्दासमेत यसको कार्यान्वयन हुन सकेको छैन । मालिक पत्रकार र उनका चाटुकार केही सम्पादकका कारण श्रमजीवी पत्रकारले सधैँ अभावको जीवन निर्वाह गर्नुपर्ने अवस्था कायमै छ । सरकारले भर्खरै न्यूनतम पारिश्रमिक निर्धारण आयोगको सिफारिशबमोजिम पत्रकारको न्यूनतम पारिश्रमिक १९ हजार पाँच सय रुपियाँ तोकिदियो । लगत्तै मालिकहरुले सञ्चारमन्त्रीलाई भेटेर आफूहरु त्यति रकम दिन नसक्ने बरु सञ्चार गृहको साँचो नै सरकारलाई जिम्मा लगाउने जस्ता गैरजिम्मेवार अडान लिएपछि सरकार निरीह बन्यो । यसरी सरकारले गरेको निर्णय अहिले बेवारिसे बनेको छ । कागजमा श्रमजीवी पत्रकारले १९ हजार पाँचसय पाउने व्यवस्था भए पनि त्यो व्यवहारमा लागू हुन नसकेपछि दोषी कसलाई मान्ने ?
समस्या त्यहाँ मात्र पनि छैन । पत्रकारको विल्ला भिरेका केही स्वनामधन्य पत्रकारहरु जो मालिकलाई रिझाएर सम्पादकको जिम्मेवारीमा पुग्छन्, उनीहरुकै सहमतिमा श्रमजीवी पत्रकारको शोषण गरिन्छ । यस्तो अनुभव धेरै निजी क्षेत्रमा काम गर्ने श्रमजीवीहरुले गरिसकेका छन् । निजी क्षेत्रामा नै सबैभन्दा बढी ‘सेल्फ सेन्सरसिप’को अभ्यास हुने गरेको छ । मालिक वा सम्पादकको व्यक्तिगत वा संस्थागत हितमा कुनै प्रश्न उठाउने खालको समाचार कुनै पनि पत्रकारले लेख्न सक्दैन । केवल मालिकको चाहनाका भरमा समाचार लेख्ने र प्रकाशन हुने काम मात्र हुन्छ । बरु तुलनात्मकरूपमा राज्य नियन्त्रित सञ्चारमाध्यममा सम्पादकीय स्वतन्त्रताको अभ्यास हुने गरेको छ । राज्यको घोषित नीतिबमोजिम स्वन्त्रतापूर्वक यहाँका पत्रकारले काम गर्न पाउँछन् । यस अर्थमा गोरखापत्रमा काम गर्ने पत्रकारले तुलनात्मकरूपमा बढी सम्पादकीय स्वतन्त्रताको अभ्यास गर्न पाएका छन् ।
हामीले पत्रकारितालाई सिद्धान्ततः सामाजिक उत्तरदायित्वको पेशाका रूपमा स्वीकारेका छौँ । नेपालको संविधानले पनि पत्रकारितालाई संवैधानिक सुरक्षा प्रदान गरेको छ । फलत यो पेशा सबैभन्दा बढी स्वतन्त्रता प्राप्त राज्यको चौथो अङ्गका रूपमा मानिएको छ तर यसको सदुपयोग मात्र भएको मान्न सक्ने अवस्था यथार्थमा छैन । यो पेशा अहिले पैसा र सत्ताको जोहो गर्ने भरपर्दाे साधन बनेको छ कतिपयका लागि । खासगरी निजी क्षेत्रबाट प्रकाशन हुने केही अखवारले यो देशको राज्य सत्ता नै आफूले चलाएको भ्रम छर्ने गरेका छन् । सरकार बनाउने र भत्काउने व्यवस्थापकीय अधिकारसमेत आफूमै निहित रहेकोजस्तो व्यवहार बेला मौकामा देखाउने यस्ता अखवारको भित्री अनुहार भने बढो अराजक भटिने गरेको छ । एउटा विज्ञापन पाउनका लागि कतिसम्मको गैरजिम्मेवार र भ्रामक समाचार प्रकाशन गर्छन् भन्ने सन्दर्भमा विगतमा डाबर प्रकरण नियाल्दा प्रस्ट हुनेछ । अवस्था अहिले पनि लगभग उस्तै छ । केही निजी क्षेत्रका अखवारले मुलुकको सम्पूर्ण विज्ञापन बजारको आधाभन्दा बढी हिस्सा ओगटेको देखिन्छ तर तिनैले थोरै मात्र कर तिरिरहेको हुन्छ । यसका पछाडिको कारण खोतल्ने कसले ? यसै प्रसङ्गमा सरकारले मिडियालाई उद्योगको मान्यता दिन जुन सदासयता देखाइरहेको छ यसबाट फेरि त्यस्तै गलत तत्वलाई पोस्ने काम त हुँदैन भनेर पनि विचार गर्नु वाञ्छनीय हुनेछ ।
प्रजातन्त्रको जगमा नेपाली पत्रकारिता क्षेत्रको सङ्ख्यात्मक विकास भए पनि यसको गुणात्मक र आचरणगत विकासमा भने अझै बाधा अड्चन कायमै देखिन्छ । यस्ता तमाम समस्या र चुनौतीको पहिचान र निदानका लागि पहिलो नेपाली पत्रकारिता दिवस सार्थक बनाउने क्षमता हामीमा विकास हुन आवश्यक छ । यो वर्षदेखि औपचारिकरूपमा हामीले मनाउन लागेको राष्ट्रिय पत्रकारिता दिवस यिनै सन्दर्भलाई सम्बोधन गर्न सक्ने हैसियतमा प्रेरणादायी बन्न सकोस ्।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds