• १४ वैशाख २०८१, शुक्रबार

जुम्लामा फिल्म 'प्रकाश'को प्रिमियर

blog

काठमाडौं, भदौ ६ गते । जुम्लाको दुर्गम गाउँमा पहिलो पटक फिल्म 'प्रकाश'को विश्वव्यापी प्रिमियर गरिएको छ । भदौको १० गतेबाट रिलिज हुन लागेको यो फिल्मको आइतबार साँझ पातारासी गाउँपालिकाको तिर्खु गाउँमा अवस्थित ऋणमोक्ष माध्यमिक विद्यालयको परिसरमा प्रिमियर गरिएको हो ।

हल र बिजुली नभएका गाउँमा फिल्म निर्माण टिमले नै जेनेरेटर र प्रोजेक्टरको व्यवस्था गरि फिल्म देखाइएको हो । फिल्मको प्रिमियरमा नायक प्रदीप खड्का र लेखक विकास सुवेदी उपस्थिति थियो । कलाकारको स्वागतमा गाउँलेले झाँकी निकालेका तस्बिरहरु अभिनेता प्रदीप खड्काले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको छ । 

जुम्लामै सुटिङ गरिएको फिल्ममा शिक्षक बन्न एक युवाले गर्नुपरेका सङ्घर्षको कथालाई प्रस्तुत गरिएको छ । दिनेश राउतको निर्देशनमा तयार भएको यो फिल्ममा प्रदीप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतका कलाकारको अभिनय छ ।

विकास सुवेदीको लेखन रहेको फिल्ममा राजेश श्रेष्ठको छायाङ्कन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको सङ्गीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व सङ्गीत छ । फिल्मका निर्माता महेन्द्र अधिकारी हुनुहुन्छ ।