• १५ वैशाख २०८१, शनिबार

बाह्र नमुना झोलुङ्गे निर्माणको चरणमा

blog

कमल शर्मा
दैलेख, जेठ १४ गते ।
दैलेख जिल्लाको दुल्लु नगरपालिका र ठाटिकाँध गाउँपालिकाबाहेक अन्य नौ स्थानीय तहका १२ स्थानमा नमुना झोलुङ्गे पुल निर्माणको चरणमा रहेका छन् ।

पूर्वधार विकास कार्यालयका अनुसार आठबिस नगरपालिकाका–५ खिड्कीजउला झोलुङ्गे पुल, चामुण्डाबिन्द्रासैनी नगरपालिका र भैरवी गाउँपालिका जोड्ने गडा जिउला झोलुङ्गे पुल, ठाटिकाँध गाउँपालिकाको २–४ जोड्ने मझेलैना झोलुङ्गे पुल, महावु गाउँपालिका–३ र भैरवी गाउँपालिका–४ जोड्ने बादरखड्के झोलुङ्गे पुल, भगवतिमाई गाउँपालिका–२ र ३ जोड्ने रुम मेहेल्तोली झोलुङ्गे पुल निर्माणको चरणमा रहेका छन् ।

त्यस्तै, नौमुले गाउँपालिका–४ मा माओखोला झोलुङ्गे ट्रस पुल र गाउँपालिका ६–७ जोड्ने बक्रखोला झोलुङ्गे पुल, डुगेश्वर गाउँपालिका–३ मा निर्माणाधीन हनेटा झोलुङ्गे पुल, गुराँस गाउँपालिका–७ उगाडखोला झोलुङ्गे पुल, भगवतिमाई गाउँपालिका–५ मा रहेको मलुका झोलुङ्गे  पुलमा रहेको हाडीखोला झोलुङ्गे पुल गरी १२ पुल निर्माण हुन लागेका हुन् ।

पूर्वधार विकास कार्यालय दैलेखका प्रमुख  प्रभाकर प्रसाद सिंहले प्रदेश सरकारबाट १२ पुल निर्माणका लागि दुई करोड पाँच लाख रुपियाँ  साउनमै आए पनि काम ढिलो गरी सुरु भएको जानकारी दिनुभयो ।

उहाँले एक पुल निर्माणका लागि २५ देखि ८० लाखसम्म बजेट आएको र त्यही अनुसार टेन्डर प्रकाशन गरी काम सुरु गरेको बताउनुभयो ।

झोलुङ्गे पुल निर्माणका लागि साझेदार संस्था ग्रामीण विकास केन्द्र दैलेखका कार्यकारी निर्देशक नवीनकुमार शर्माले कार्यालयसँग सम्झौता भएलगत्तै झोलुङ्गे पुलको डिजाइन स्टमेट, उपभोक्ता समिति निर्माण, उपभोक्ता समितिलाई आवश्यक तालिम दिइएको बताउनुभयो ।

उहाँले १२ वटा झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका पदाधिकारी र त्यसका काम गर्ने दक्ष कामदारसहित ४८ जनालाई तालिम दिएको जानकारी दिनुभयो ।

जाजरकोट, रुकूमपश्चिम, सुर्खेत र दैलेख गरी ५५ पुल निर्माणको चरणमा रहेको र अहिलेसम्म तीन सय झोलुङ्गे पुल निर्माण गरेको ग्रामीण विकास केन्द्रले जनाएको छ । पछिल्लो समय प्राविधिक स्टमेट र वातावरणीय प्रभाव मूल्याङक बिना खनिएका सडकका कारण गाउँमा जोखिम बढ्दै झोलुङ्गे पुल निर्माणको बढी माग आउने गरेको पूर्वधार विकास कार्यालयले जनाएको छ ।